फिनिसिङमा शरदमाथि विश्वास

सन् २०१४ को ट्वान्टी–२० विश्वकपमा उनै शरदले फिनिसरको जिम्मेवारी निभाएका थिए
विनोद पाण्डे

काठमाडौँ — खेलको अन्तिम बल थियो । भैरहवा ग्लाडियटर्सलाई एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रियट्सविरुद्ध स्कोर बराबरीमा ल्याउन ६ रन आवश्यक थियो । नत्र दाबेदार मानिएको भैरहवाले हार स्वीकार्नुपर्थ्यो । स्ट्राइकमा थिए भैरहवाका कप्तान शरद भेषावकर । उनले रशिद खानको बलमा छक्का नै प्रहार गरे ।

फिनिसिङमा शरदमाथि विश्वास

असोजमा सम्पन्न ईपीएलमा भैरहवाका प्रशिक्षक थिए पुबुदु दासानायके । उनलाई शरदको यो साहस कुनै नौलो लागेन । ‘मैले यस्तो अवस्थामा शरदले खेल जिताएको ५–६ पटक नै देखिसकेको छु,’ शरदले अन्तिम बल प्रहार गर्नुअघि नै उनले ठूलो शट खेल्नेमा आफू विश्वस्त रहेको दासानायकेले अरू खेलाडीलाई सुनाइरहेका थिए ।

फ्रेन्चाइज लिगमा पहिलो भए पनि शरद र दासानायकेको यो मिश्रण कुनै नौलो थिएन । सन् २०१४ मा दासानायकेकै प्रशिक्षणमा नेपालले ट्वान्टी–२० विश्वकप खेलेको थियो । फिनिसरको जिम्मेवारी उनै शरदले निभाएका थिए । छनोट चरणमा केन्या र यूएई (तेस्रो स्थानको खेल) विरुद्ध होस् या विश्वकप छनोटमा हङकङसँगको निर्णायक खेलमा शरदले नै नेपालका लागि विजयी रन बटुलेका थिए । शरदको यही फिनिसिङ भूमिकाले नेपाललाई पहिलोपल्ट विश्वकपमा पुर्‍याउन मद्दत गरेको थियो ।

ईपीएल खेलेपछि चार महिनापछि दासानायके र शरद दुवै नेपाली टोलीमा फर्किएका छन् । उनै शरदलाई दासानायकेले अहिले ब्याटिङमा ‘फिनिसर’ को जिम्मेवारी दिएका छन् । दासानायके दोस्रो कार्यकाललाई नेपालको प्रशिक्षक भएर आएपछि मात्र यो सम्भव भएको हो । २०११ मा नेपालको प्रशिक्षक भएका दासानायके २०१५ को अन्तिममा फर्किएका थिए । २०१९ को जुलाईमा सिंगापुरमा भएको ट्वान्टी–२० विश्वकपको एसिया छनोटयता शरद पनि नेपालको ट्वान्टी–२० संरचनाबाट हराएका थिए ।


ओमानमा हुने चारदिवसीय ट्वान्टी–२० शृंखला र विश्वकप छनोटबाट दासानायके र शरद दुवैले अहिले नेपाली टोलीमा पुनरागमन गरिरहेका छन् । शरदले भने यसलाई पुनरागमनभन्दा पनि अर्को एउटा खेल जसरी लिएका छन् । ‘क्रिकेटको जुनै पनि म्याच खेल्दा, त्यही खेलमात्र सोचिन्छ । पुनरागमन भनेर सोच्नुभन्दा पनि टिमको स्थितिअनुसार आफ्नो प्रर्दशन दिएर जिताउने कोसिस नै प्राथमिकता रहन्छ,’ शरद नेपालका खेलहरूप्रति जोड दिन्छन् ।

आठ वर्षअघि नेपालले विश्वकप खेल्दाका चार खेलाडीमात्र ओमान जाने टोलीमा छन् । ज्ञानेन्द्र मल्लबाहेक शरदसहित जितेन्द्र मुखिया र प्रदीप ऐरीले यसै प्रतियोगिताबाट पुनरागमन गर्दै छन् । उत्तरी आयरल्यान्डको बेलफास्टमा आयरल्यान्डविरुद्ध सन् २०१५ मा ट्वान्टी–२० विश्वकप छनोट खेलेयता ‘योर्कर किंग्स’ जितेन्द्र पहिलोपल्ट टोलीमा समेटिएका हुन् । प्रदीपले पनि शरदले जस्तै २०१९ यता ट्वान्टी–२० खेलेका थिएनन् ।

‘म आफ्नो फिनिसिङ जिम्मेवारीलाई लिएर एकदमै आत्मविश्वासी छु । यत्रो वर्षदेखि खेल्दै आएको हुनाले दबाबका बेला, स्थित आफूअनुकूल नभएका बेला के गर्नुपर्छ भन्ने थाहा छ । आफ्नो खेल योजनामा विश्वस्त छु,’ शरद आफ्नो भूमिकालाई लिएर स्पष्ट छन्, ‘म हरेक खेल नै आनन्द लिएर खेल्ने प्रयास गर्छु, त्यही भएर आफ्नो उत्कृष्ट खेलिरहेको छु । अहिले पनि त्यो जोस–जाँगर घटेको छैन । जुन अनुभव मैले यतिका वर्षदेखि सिकेको छु, त्यसलाई आउने खेलहरूमा राम्रोसँग कार्यान्वयन गर्न सक्छु भन्ने विश्वाससाथ अगाडि बढिरहेको छु ।’


शरदले १७ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा कुनै अर्धशतक बनाएका छैनन् । ४० रन उनको उच्च स्कोर हो । २०१४ को विश्वकपमा बंगलादेशविरुद्ध र २०१९ मा मलेसियाविरुद्धको द्विपक्षीय शृंखलामा उनले आफ्नो उच्च स्कोरको इनिङ्स खेलेका थिए । मलेसियाविरुद्धको त्यो इनिङ्सको डेढ महिनापछि उनी नेपालको ट्वान्टी–२० टोलीबाट बाहिर हुन पुगे । शरदसँग २०१२, २०१३ र २०१५ मा ट्वान्टी–२० विश्वकप छनोट खेलेको अनुभव छ । सन् २०१९ मा कतार र सिंगापुरसँग पराजित भएर नेपाल एसिया छनोटमै रोकिएपछि त्यसको मूल्य शरदले पनि चुकाउनुपर्‍यो ।

‘हामीले ३–४ वटा विश्वकप छनोट खेलिसकेको भएकाले मैले र ज्ञानु (ज्ञानेन्द्र मल्ल) ले टिममा अनुभव साट्ने काम गरिरहेका छौं । खेलहरूमा त्यसलाई कसरी त्यो लागू गराउने र आफूले पनि योगदान दिएर टिमलाई जिताउने स्थितिमा लैजाने भनेर छलफल गर्छौं,’ शरदले अनुभवी खेलाडीका रूपमा भने, ‘२०१४ को विश्वकप खेलेको र त्यसपछिको प्रभावबारेमा हामी चार खेलाडीले टिमसँग अनुभव बाँडिरहेका छौं ।’

नेपालले दोस्रोपल्ट ट्वान्टी–२० विश्वकप खेल्नेमा विश्वस्त देखिन्छन् शरद । ‘दुई खेलको कुरा हो । त्यो दुई खेलमा आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्‍यौं भने निश्चय पनि विश्वकप पुग्छौं भन्ने विश्वास छ,’ शरदले विश्वास पोखे ।

विश्वकप छनोटको समूह चरणमा नेपालले घरेलु टोली ओमानसहित फिलिपिन्स र क्यानडाको सामना गर्दै छ । शीर्ष दुई टोली हुन सके सेमिफाइनलमा पुग्नेछ । अर्को समूहका शीर्ष दुई टोली आयरल्यान्ड र यूएईसँग नेपालको सम्भावित भिडन्त हुनसक्छ । विजेता टोली विश्वकपमा पुग्नेछ ।


‘टिम एकदमै सन्तुलित छ, हामी राम्रो पनि खेलिरहेका छौं । अभ्यासमा पनि एकदम राम्रो तयारी भएको छ । आफ्नो व्यक्तिगतभन्दा पनि टिमलाई कसरी उत्कृष्ट प्रदर्शन दिनेतर्फ सबै केन्द्रित छौं । टिमले जे मागेको छ, त्यो अनुरुपको प्रर्दशन दिने तयारी छ । यसमा सबैलाई आ–आफ्नो जिम्मेवारी थाहा छ,’ शरद विश्वकप पुग्नसक्ने एउटा आधार भने ।

पछिल्लो २–३ वटा विश्वकप छनोटमा असफल भए पनि यसपालि नेपालले राम्रो गरिरहेको शरदको दाबी छ । टोलीमा धेरै नयाँ खेलाडी देखिए पनि यसलाई संक्रमणकालीन अवस्था भनेर उनी मान्दैनन् । ‘यिनै भाइहरूसँगै हामीले कति धेरै घरेलु प्रतियोगिता खेलिरहेका छौं । सबैलाई एकअर्काको बारेमा थाहा छ । टिममा समन्वय राम्रो छ । खासै फरक म देख्दिनँ । हामीले गर्नुपर्ने जुन काम हो, त्यसमा ध्यान दिन सक्यौं भने नतिजा आउँछ,’ शरद थप विश्वस्त देखिन्छन् । सन् २०१३ को विश्वकप छनोटमा शरदले नेपाली क्रिकेटलाई जसरी परिभाषित गरेका थिए, अहिले नेपालले उनीबाट खोजेको पनि त्यस्तै हो ।

प्रकाशित : माघ २५, २०७८ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?