११ औं पुष्पलाल स्मृति ब्याडमिन्टन फागुनमा- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

११ औं पुष्पलाल स्मृति ब्याडमिन्टन फागुनमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघले गर्दै आइरहेको पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको ११ औं संस्करण फागुन ३ देखि ७ सम्म हुने भएको छ ।

ललितपुरस्थित नखिपोटमा हुने यस संस्करणमा नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल) पनि संयुक्त आयोजक रहेको छ ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा संघसँग आबद्ध ४७ जिल्ला, आर्मी, पुलिस र एपीएफ क्लबका गरी ५० संस्थाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुष एकल (राष्ट्रिय वरीयताका १६ औं स्थानसम्मका), पुरुष एकल (१६ औ वरीयतादेखि बाहेक), पुरुष युगल (खुला), महिला एकल (राष्ट्रिय वरीयतामा १२ औं स्थानसम्मका), महिला एकल (१२ औं वरीयताबाहेक), महिला युगल (खुला), यू–१७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ वर्ष माथि र मास्टर्स ५५ वर्ष माथि (खुला) सहित १० विधामा प्रतिस्पर्धा हुने संघका महासचिव सुनीलमान शाक्यले जानकारी गराए ।

कुल २१ लख ६० हजार रुपैयाँ रहेको प्रतियोगितामा पुरस्कारतर्फ ५ लाख ९८ हजार खर्च हुने आयोजकले जनाएको छ । हरेक खेल खेलेपछि खेलाडीले म्याच मनी पाउनेछन् ।

ब्याडमिन्टनको विकास र विस्तार गर्नेक्रममा खेलाडीको वरीयता निर्धारण गर्ने र थोरै भए पनि आर्थिक सहयोग होस् भन्ने उद्देश्यले प्रतियोगितामा भाग लिएवापत खेलाडीले नगद प्राप्त गर्ने प्रावधानलाई संस्थाले प्रचलनमा ल्याएको हो ।


प्रकाशित : माघ १८, २०७८ २२:२२
प्रतिक्रिया
पठाउनुहोस्

पर्वतको फलेबास नगरमा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

एकल पुरुष, एकल महिला, श्रीमान्–श्रीमती बेपत्ता भएका महिला–पुरुषलाई मासिक एक हजार
अगन्धर तिवारी

पर्वत — पर्वतको फलेबास नगरपालिकाले नगरभित्रका हरेक विदुर पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । मासिक एक हजार रुपैयाँका दरले नगरपालिकाले भत्ता दिन थालेको हो ।

विशेष कार्यविधि बनाएर एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण थालिएको योजना अनुगमन अधिकृत देवीप्रसाद तिमिल्सिनाले बताए । यसै आर्थिक वर्षदेखि लागू हुने गरी फलेवासभित्र बसोबास गर्ने एकल पुरुष, एकल महिला, श्रीमान्–श्रीमती बेपत्ता भएका महिला–पुरुषले मासिक एक हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता पाउनेछन् ।

भत्ता वितरणका लागि नगरपालिकाले आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गरेको छ । नगरपालिकाले ५० देखि ६० वर्षसम्मका एकल महिलालाई पनि मासिक एक हजारका दरले रकम उपलब्ध गराएको छ । ६० देखि माथिल्लो उमेरका महिलालाई केन्द्र सरकारले सामाजिक सुरक्षा भत्ता दिने भएकाले उनीहरूलाई भने समेटिएको छैन ।

नगरपालिकाले हालै घुम्ती शिविर सञ्चालन गरेर त्यस्ता पुरुष तथा महिलालाई गएको साउनदेखि माघसम्मको सात हजारका दरले भत्ता वितरण गरिसकेको छ । तीन तहका कुनै पनि सरकारी कोषबाट तलब, भत्ता, सुविधा, पेन्सन वा अन्य सामाजिक सुरक्षा नपाउने नागरिकले मात्र यस्तो खालको सामाजिक सुरक्षा भत्ता पाउनेछन् । लाभग्राहीका लागि सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता सुरुआत भएमा त्यस्ता व्यक्तिको भत्ता स्वत: हट्ने नगरपालिकाको कार्यविधिमा उल्लेख छ । महिला वा पुरुष विवाह नगरी बसेको अवस्थामा ५० वर्ष कटेको हुनुपर्ने व्यवस्था छ ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठका अनुसार नगरपालिकाबाट भत्ता पाउने विदुर (एकल) पुरुष तथा एकल महिलाको संख्या ८५ छ । जसमध्ये विदुरको संख्या मात्रै ७० छ । निम्न आर्थिक अवस्था भएका एकल पुरुष तथा महिलालाई स्थानीय सरकारको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत केही राहत पुगोस् भन्ने उद्देश्यले भत्ता उपलब्ध गराइएको नगरप्रमुख पदमपाणि शर्माले बताए ।

पहिलो चरणमा हरेक वडामा घुम्ती सेवा कार्यक्रम सञ्चालन गरेर त्यस्ता महिला पुरुषलाई भत्ता वितरण गरिएको हो । हालसम्म फलेवास २, ३, ४, ५, ६, ७, ८, १० र ११ मा परिचयपत्र वितरण गरिएको छ । पहिलो चरणमा हरेक लाभग्राहीलाई नगद र अर्कोपल्ट बैंकिङ प्रणालीमार्फत भत्ता उपलब्ध गराइने नगरप्रमुख शर्माले बताए ।

प्रकाशित : माघ १८, २०७८ २२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×