दशकपछि नेपालको मैत्रीपूर्ण खेलमा जित- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दशकपछि नेपालको मैत्रीपूर्ण खेलमा जित

हिमेश

काठमाडौँ — राष्ट्रिय टिममा पुनर्आगमन गरिरहेका विमल घर्तीमगरको निर्णायक गोलसँगै नेपालले मोरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १–० को जित निकालेको छ । एक दशकभन्दा बढी समयपछि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात पारेको हो । यस्तै नेपाल दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी रहेको यो पहिलो पल्ट हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि दशरथ रंगशालामा जित आत्मसात् गरेको यो पहिलो पल्ट हो । नेपालले सन् २०११ देखि कुनै पनि मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न सकेको थिएन । यस जितपछि नेपालको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा लगातार २३ खेलको जितहीन यात्रामा पूर्ण विराम लगाएको छ ।

विमलले ५५ औं मिनेटमा गोल गरेका हुन् र यो उनको व्यक्तिगत नवौं गोल हो । उनले अन्तिम पटक सन् २०१९ मा बंगलादेशविरुद्ध साफ च्याम्पियनसिपमा ढाकामा गोल गरेका थिए । यस्तै उनले नेपालका लागि अन्तिम पटक सन् २०१९ को नोभेम्बरमा म्यानमारविरुद्ध खेलेका थिए । प्रतिबन्ध र चोटका कारण उनी तीन वर्ष राष्ट्रिय टिमबाट बाहिर रहे ।

घुँडाको चोटबाट मुक्त हुन शल्यक्रिया गरेपछि उनी विमल पुरानो लय समात्ने प्रयासमा छन् । त्यसयता पहिलोपल्ट नेपालका लागि खेलिरहेको विमलले मोरिससका तीन डिफेन्डरबीच प्राप्त बललाई पोस्टको दिशा दिए । उनलाई अञ्जन विष्टले पास उपलब्ध गराएका थिए । यस खेलबाट विमलसँगै जगजीत श्रेष्ठ र देवेन्द्र तामाङले राष्ट्रिय टिममा पुनर्आगमन गरेका छन् ।

जगजीतले सात वर्षपछि नेपालका लागि खेले । अस्ट्रेलिया जान अगाडि उनले सन् २०१५ मा अन्तिम पटक नेपालका लागि खेलेका थिए । निराशाजनक पहिलो हाफमा दुवै टिमले खासै उल्लेखनीय आक्रमण बुन्न सकेनन् । दोस्रो हाफको सुरुमै मोरिससको फर्नान्डो ज्याक्सनको प्रहार पोस्टमा लागेर फर्केको थियो ।

यस्तै दोस्रो हाफमै अञ्जन र जगजीत श्रेष्ठको प्रहार मोरिससको पोस्टमा लागेको थियो । नेपालका लागि सुदीप गुरुङ र आकाश बुढामगरले डेब्यूको अवसर पाए । मोरिससले अपेक्षाभन्दा बढी नेपाललाई जितका लागि संघर्ष गर्न बाध्य गरेको थियो । मोरिससले साढे दुई वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केको हो ।

अब दुई टिमबीचको दोस्रो अन्तर्राष्ट्रिय खेल मंगलबार दशरथ रंगशालामा हुनेछ ।

नेपाली टिम : किरण लिम्बु, गौत्तम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ठकुरी (सुदीप गुरुङ), सुमन लामा (विशाल राई), तेज तामाङ (आकाश बुढामगर), अञ्जन विष्ट (सुजल श्रेष्ठ), विमल घर्तिमगर (मनीष डाँगी), सुनिल बल (जगजीत श्रेष्ठ) ।

प्रकाशित : माघ १५, २०७८ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्

त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयमा लगाइएको ताला खुल्यो

माग पूरा हुने आश्वासनपछि आन्दोलनरत विद्यार्थीहरूले ताला खुलाए
कान्तिपुर संवाददाता

काठमाडौँ — विद्यार्थी शूल्कको एकरुपता हुनुपर्ने लगायत माग राखेर त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयमा नेविसंघका विद्यार्थी नेताहरूले शुक्रबारदेखि लगाएको ताला सहमतिपछि खुलाइएको छ ।

त्रिवि संकायाद्वारा संचालित कार्यक्रममा लिइने विद्यार्थी शूल्कमा एकरुपता नभएको, छात्रावृत्ति भएका विद्यार्थीबाट समेत क्याम्पसले मनलाग्दी शूल्क उठाउने गरेको, क्याम्पसहरूले भर्ना संख्याको १० प्रतिशत छात्रवृत्ति छुट्टाउनुपर्ने लगायत माग राखेर संघको शंकरदेव, नेपाल कमर्श, पब्लिक युथ क्याम्पस इकार्यका विद्यार्थीहरूले डिन कार्यालयमा ताला लगाई आन्दोलनमा उत्रिएका थिए ।

शनिबार डिन कार्यालयका पदाधिकारी र विद्यार्थी नेताहरूबीच भएको वार्तामा समझदारी जुटेपछि ताला खोलिएको हो । विद्यार्थी नेताहरूले विद्यार्थीका माग पूरा हुने आवश्वसनपछि ताला खोलेको बताएका छन् ।

समझदारीको रुपमा क्याम्पसले लिने विद्यार्थी शूल्कमा एकरुपता ल्याउन त्रिवि कार्यकारी परिषदद्वारा अध्ययन समिति गठन गरेको छ । समितिले दिएको प्रतिवेदनका आधारमा शूल्कको सिलिङ निर्धारण गरेर एकरुपता कायम गर्न डिनको कार्यालय सहमत भएको छ ।

यस्तै विद्याथीहरूले उठाएका अन्य मागमा त्रिविलाई नियमअनुसार बुझाउनु पर्ने शूल्क (रजिष्ट्रेशन, सेवा र परीक्षा शूल्क) बाहेक छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीबाट सम्बन्धित क्याम्पसले ५ प्रतिशत बढी शूल्क लिन नपाउने, सिम्याट परीक्षा प्रकाशन भएपछि त्रिवि आवद्ध क्याम्पसहरूले भर्ना संख्याको १० प्रतिशत छात्रवृत्ति छुट्टाउनुपर्ने, अघिल्लो शैक्षिक सत्रमा छात्रवृत्ति भएका विद्यार्थीको शूल्क अध्ययन गर्ने तथा नियमित अनुगमन गर्ने समझदारी भएको छ ।

प्रकाशित : माघ १५, २०७८ १८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×