२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

उत्तर अमेरिकी विश्वकप छनोट : क्यानडा र अमेरिका शीर्षस्थानमा

एजेन्सी

लस एन्जलस — क्यानडा र अमेरिकाले महत्त्वपूर्ण जितका साथ कतार विश्वकपलाई उत्तर अमेरिकी छनोटको शीर्ष दुई स्थानमा कायम राखेका छन् । मेक्सिकोले जमैकामाथिको जितसहित लयमा फर्किएको संकेत गरेको छ ।

उत्तर अमेरिकी विश्वकप छनोट : क्यानडा र अमेरिका शीर्षस्थानमा

सन् १९८६ यता पहिलोपल्ट विश्वकपमा छनोट हुने लक्ष्यमा रहेको क्यानडाले सान पेड्रो सुलामा होन्डुरसमाथि २–० को जितपछि छनोटको शीर्षस्थानमा प्रभुत्व कायम गर्‍यो । टोलीले ९ खेलबाट १९ अंक लिएको छ । डेनिल माल्डोनाडोको आत्मघाती गोलबाट सुरुआती दसौं मिनेटमै अग्रता बनाएको क्यानडाका जोनाथन डेभिडले ७३ औं मिनेटमा गोल गरी ३ अंक सुरक्षित गरे । शनिबार क्यानडाले ओन्टारियोमा अमेरिकाको आतिथ्यता गर्नेछ ।

सन् २०१८ को विश्वकपमा छनोट हुन असफल अमेरिका यसपल्ट कतार यात्राका लागि प्रतीक्षारत छ । ओहियोमा एल साल्भाडोरलाई १–० ले हराएर अमेरिका विश्वकप छनोटमा एक कदम अगाडि बढेको छ । इंग्ल्यान्डमा जन्मिएका डिफेन्डर एन्टोनी रोबिन्सनले अमेरिकाको जितमा निर्णायक गोल गरे । उत्तर र मध्यअमेरिका तथा क्यारेबियन देश समेटिएको ८ टोलीसम्मिलित छनोट प्रतियोगितामा अमेरिका दोस्रो स्थानमा क्यानडाभन्दा १ अंकले पछाडि छ ।

अर्को खेलमा मेक्सिकोले दुई खेलको हारबाट माथि उठ्दै जमैकामाथि २–१ को जित रच्न सफल रह्यो । मेक्सिकोले समान ९ खेलबाट १७ अंक बनाएको छ । र, तेस्रो स्थानमा अमेरिकाभन्दा १ अंकले पछाडि छ ।

यो प्रतियोगितामा शीर्ष तीन स्थानमा रहने टोलीले विश्वकपमा सोझै प्रवेश पाउनेछन् भने चौथो स्थानमा रहने टोलीले अन्तरमहादेशीय प्लेअफको बाटो रोज्नुपर्नेछ ।

दक्षिण अमेरिका

क्वेटो– गोलरक्षक एलिसन बेकरलाई दुईपल्टसम्म रातो कार्डको जोखिमबाट भिडियो असिस्टेन्ट रेफ्री (भार) ले उन्मुक्ति दिएको विवादास्पद खेलमा ब्राजिलले इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको छ । यो खेलमा दुवै टोलीका एक–एक खेलाडीले रातो कार्ड पाएका थिए ।

इनर भ्यालेन्सियामाथि डरलाग्दो टयाकल गरेपछि पहिलो हाफमा बेकरले सिधै रातो कार्ड पाए । खेलको इन्ज्युरी समयमा पनि दोहोरो पहेँलो कार्ड पाएका थिए । तर, रेफ्रीको दुवै निर्णय भारले उल्टयाइदिएको थियो ।

इक्वेडरका अर्जेन्टिनी प्रशिक्षक गुस्ताफो अल्फारो भारका ती निर्णयबाट आक्रोशित थिए । दुई सम्भावित रातो कार्ड र दुईपल्ट सम्भावित पेनाल्टी अवसरमा भार बाधक बनेको थियो । कोलम्बियन रेफ्रीले निर्णय दिएपछि भारले उल्टयाउने भएको थियो ।

‘यो खेलको विकास जसरी भयो, त्यसबाट म आश्चर्यचकित छु,’ अल्फारोले भने, ‘हामीलाई कुनै पक्षपात आवश्यक छैन । तर अन्याय गर्नुहुँदैन । मेरो विचारमा हामीसँग यो एउटा ऐतिहासिक जितको अवसर खोसिएको छ ।’

इक्वेडरलाई विश्वकपमा छनोट हुन अझै तीन खेल बाँकी छ । तेस्रो स्थानको इक्वेडर पाँचौं स्थानको कोलम्बियाभन्दा ७ अंकले अगाडि छ । दक्षिण अमेरिकाबाट शीर्षस्थानको ब्राजिल र दोस्रो स्थानको अर्जेन्टिना छनोट भइसकेका छन् ।

अर्जेन्टिनाले चिलीमाथि २–१ गोलको अवे जित निकालेको छ । हारले चिलीलाई छनोट नहुने खतरा बढ्न थालेको छ । लुइस स्वारेजको निर्णायक गोलमार्फत पाराग्वेलाई १–० ले हराएर उरुग्वेले भने आफ्नो छनोट सम्भावना जीवित राखेको छ ।

ब्राजिलका लागि दसौं मिनेटमा कासेमिरो र इक्वेडरका लागि फेलिक्स टोरेसले ७५ औं मिनेटमा गोल गरे । पहिलो हाफमै दुवै टोली १० खेलाडीमा समेटिएको थियो । खेलको १५ औं मिनेटमा ब्राजिली फ्रेडमाथि डरलाग्दो टयाकल गरेका इक्वेडरका गोलरक्षक एलेक्जान्डर डोमिङग्वेजले सिधै रातो कार्ड पाए । त्यसको पाँच मिनेटपछि ब्राजिलका एमरसनले पनि दोस्रो पहेँलो कार्ड पाएका थिए ।

पाराग्वेमाथि उसकै मैदानमा लुइस स्वारेजको लेफ्ट फुटेट भली गोलबाट उरुग्वेले आफ्नो कमजोर छनोट अभियानमा ऊर्जा भरेको छ । लगातार ४ हारपछि उरुग्वेले आफ्ना अनुभवी प्रशिक्षक ओस्कार टावारेजलाई नोभेम्बरमा बर्खास्त गरेको थियो । यो जितले उरुग्वेलाई शीर्ष चारमा पुर्‍याएको छ भने पाराग्वेको विश्वकप सपनामा गम्भीर असर पुर्‍याएको छ ।

प्रकाशित : माघ १५, २०७८ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?