२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

आहा–रारा गोल्डकप : दुवै टिम इतिहास रच्न आतुर

दीपक परियार

पोखरा — पुलिसविरुद्ध ३–२ ले जित निकालेर दोस्रोपल्ट आहा–रारा गोल्डकपको उपाधि उचाल्दा ०६१ मा मनाङका कप्तान थिए, कुमार थापा । पुलिसविरुद्ध नै ०७६ मा टाइब्रेकरमा ४–३ को जित निकालेर मनाङलाई छैटौंपल्ट उपाधि दिलाउने प्रशिक्षक थिए, टोपे फुजा ।

आहा–रारा गोल्डकप : दुवै टिम इतिहास रच्न आतुर

जारी २० औं संस्करणको उपाधिका लागि मनाङसामु नयाँ प्रतिस्पर्धी खडा भएको छ विभागीय टोली एपीएफ क्लब । जसका प्रशिक्षक उनै कुमार थापा छन् । पोखरा मैदानमा यी दुवै टिम उपाधि जितेर इतिहास रच्न आतुर छन् ।

पछिल्लो समय लयमा देखिएको एपीएफसामु पहिलोपल्ट उपाधि आफ्नो पोल्टामा पार्ने अवसर छ । मनाङले पुलिससँगै समान ६ पल्ट उपाधि हात जितेको छ । यसपालि जितेर कीर्तिमान सातपल्टको उपाधि विजेता बन्ने दाउमा छ मनाङ । एपीएफ ०६४ पछि दोस्रोपल्ट फाइनल पुगेको हो । पाँचौं संस्करणमा उपाधि नजिक पुगे पनि पुलिससँग २–० ले पराजित हुन पुग्यो ।

मनाङको कप्तान हुँदा उपाधि चुम्ने मौका पाएका थापाका लागि एपीएफ प्रशिक्षकका रूपमा उपाधि भित्र्याउने अवसर यसपल्ट छ । उनी आफ्नो समयका उत्कृष्ट मिडफिल्डरमा गनिन्छन् । ०६३ मा उनले एपीएफको कप्तानका रूपमा आहा–रारा गोल्डकप खेले । ०६४ मा एपीएफ फाइनलमा पुग्दा भने उनी टोलीमा थिएनन् । आन्तरिक तालिमका कारण उनी टिममा थिएनन् । त्यसपछि भने ०७१ सम्म एपीएफबाट खेले । ०७३ मा महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाले । त्यतिबेलै उनी युरोपेली फुटबल महासंघ (यूईएफए) को सहयोगमा फुटबल व्यवस्थापनमा स्नातकोत्तर तहको कोर्समा सहभागी हुने मौका पाए । सन् २०१७ देखि ०१९ सम्मको कोर्स सकेर फर्किए ।

प्रशिक्षणमा फर्किएर ‘ए’ डिभिजन लिगबाट एपीएफ सम्हालेपछि उनको टिमले सुरुआती तीन खेलमा हार बेहोर्नुपर्‍यो । पहिलो र दोस्रो रोजाइका गोलरक्षक घाइते भए । तेस्रो रोजाइका गोलरक्षकको प्रदर्शन फितलो भयो । त्यतिबेला नै उनले टिममा विदेशी खेलाडी भित्र्याउनुपर्ने व्यवस्थापनसँग माग राखे । एएफसी क्लब लाइसेन्स पाइसकेकाले उनको माग सम्बोधन भयो । इतिहासमै पहिलोपल्ट विभागीय टिममा विदेशी खेलाडीले प्रवेश पाए । जापानी गोलरक्षक युया कुरियामाले त्यो अवसर पाए । जापानको विश्वविद्यालयस्तरीय खेलाडी भित्रिएपछि लिगमा एपीएफले हार भोग्नुपरेन । विशषेतः उनको गति लोभलाग्दो छ । अफ्रिकी खेलाडी अदामा दोम्बिया र अर्मान्ड बिडाउन पनि टिममा सामेल भए । स्पेनमा रहेर युरोपेली फुटबलको स्वाद चाखिसकेका आवास लामिछाने पनि टिममा थिए । लिगका अन्य ६ खेलमध्ये २ मा जित र ४ मा बराबरी खेलेर नवौं स्थानमा उक्लियो । चार खेल अझैं बाँकी छ ।

जारी आहा–रारा गोल्डकपमा एपीएफले नकआउट चरणमा आयोजक सहारालाई २–० ले हरायो । क्वाटरफाइनलमा अमेरिकाको बीवाईएससी मिनेसोटालाई ३–१ ले पराजित गर्न सफल भयो । लिगको शीर्षस्थानको मछिन्द्रलाई सेमिफाइनलमा ३–१ ले नै पराजित गरेर एपीएफ उपाधि नजिक पुगेको हो । उद्देश्यमा स्पष्ट प्रशिक्षक र निरन्तरको जितले उत्साही खेलाडी एपीएफको बलियो पक्ष हो । मनाङका ४ प्रमुख खेलाडी मोरिसससँग खेल्ने राष्ट्रिय टिममा पर्नु पनि एपीएफका लागि ‘प्लस प्वाइन्ट’ हो । कोभिड महामारीबीचमा सहारा क्लबले व्यवस्थित रूपमा प्रतियोगिता आयोजना गरेकाले आफ्नो टोली फाइनलमा न्यायसंगत तरिकाले प्रस्तुत हुने प्रशिक्षक थापा बताउँछन् । ‘हामी लगातार ९ म्याच हारेका छैनौं । त्यसमा सन्तुष्ट छौं । खेलाडी पनि सन्तुष्ट छन्,’ उनी भन्छन्, ‘व्यवस्थापनले पनि भनेको कुरा पुर्‍याइरहेको छ । मनाङ राम्रो टोली हो, सम्मान गर्छौं । ग्राउन्डमा हाम्रो उपस्थिति छ भनेर देखाउँछौं ।’

शुक्रबार प्रिम्याच कन्फ्रेन्समा उनले आहा–राराको फाइनल र लिग समापनपछि आफ्नो मूल्यांकन हुने बताए । भने, ‘म खेलाडीको प्रदर्शनबाट सन्तुष्ट छु, यत्ति भन्न सक्छु ।’

कप्तान नवीन लामाले व्यावसायिक फुटबल खेल्न थालेको १३–१४ वर्ष पुग्यो । उनको सानैदेखिको सपना थियो आहा–रारा गोल्डकप खेल्ने र फाइनलमा पुगेर उपाधि जित्ने । मनाङलाई रोक्नेमा उनी आत्मविश्वासी देखिए । ‘म्याच टफ हुन्छ । १४ वर्षपछि फाइनलमा पुगेका छौं । अलिअलि प्रेसर छ हामीलाई पनि । खेल राम्रो हुन्छ,’ उनले भने, ‘मनाङलाई बिट गरेर उपाधि जितेरै जान्छौं ।’

एपीएफसामु चुनौती देखिएको छ चार खेलाडीको निलम्बन । दुई खेलमा दोहोरो पहेँलो कार्ड पाएकाले प्लेइङ सेटकै रहने गरेका चार खेलाडी सविन थापा, अदामा दोम्बिया, प्रदीप लामा र आवास लामिछाने निलम्बनमा छन् । पहिलो रोजाइका यी खेलाडीको अभावसँगै फाइनलमा मिडफिल्ड र फरवार्डमा एपीएफलाई गाह्रो पर्नेछ ।

प्रशिक्षक कुमार थापा भने आयोजकको नियम अस्पष्ट भएको बताउँछन् । नकआउटसम्बन्धी एन्फाको नियमै नभएको भन्दै उनले एकै खेलमा दोहोरो पहेँलो कार्ड पाएमात्रै अर्को खेलमा खेल्न नपाउने तर्क प्रस्तुत गरे । ‘हामीले ३ म्याच खेल्यौं, मनाङले २ मात्रै खेल्यो,’ उनले भने, ‘प्राकृतिक न्यायको सिद्धान्तअनुसार हाम्रो एउटा म्याचको पहेँलो कार्ड मान्य हुनुभएन, दुई म्याचको मात्रै काउन्ट गर्नुपर्छ ।’ फाइनलमा आफ्ना चार खेलाडीले खेल्न पाउनुपर्नेमा अडान लिने उनले बताए ।

आयोजकको प्रतियोगिता नियमावलीको नियम १४ (क) मा भनिएको छ, ‘खेल दौरान कुनै खेलाडीले एकपटक पहेँलो कार्ड पाएमा निजलाई चेतावनी दिइनेछ र सोही खेलाडीहरू पुनः अर्कोपटक पहेँलो कार्ड पाएमा सोही खेलमा तथा आगामी अर्को एक खेल खेल्नबाट वञ्चित गरिनेछ ।’ उक्त नियममा ‘अर्को खेल’ नभनी ‘अर्कोपल्ट पहेँलो कार्ड पाएमा’ भनिएकाले एकै खेलमा लागू हुने थापाको तर्क छ । मनाङले अर्को टिमबाट खेलाडी ल्याएकोमा पनि उनले प्रश्न उठाएका छन् । म्याच कमिस्नर गोकुल थापा भने दुई खेलमा दोहोरो पहेँलो कार्ड पाएपछि अर्को खेल खेल्न नपाउने अन्तर्राष्ट्रिय नियम नै भएको तर्क प्रस्तुत गर्छन् । ‘यहाँ उल्लेख भएको नियम स्पष्ट छ,’ उनले भने, ‘दुई खेलमा पहेँलो कार्ड पाउनेले अर्को खेल खेल्न नपाउने नै भनिएको हो ।’

एपीएफका ४ खेलाडी नहुनु मनाङका लागि अवसर हो । त्यसो त पहिलेजस्तो स्टार खेलाडी नभएको मनाङका अञ्जन विष्ट, पुजन उपरकोटीलगायत चार खेलाडी राष्ट्रिय टिममा छन् । उनीहरूको अभाव आहा–रारा गोल्डकपमा स्पष्ट देखिएको थियो । उनीहरूको ठाउँमा मनाङले लिग खेलिरहेको एनआरटीबाट शिव गुरुङ, राजेश परियारलगायत खेलाडी भित्र्यायो । नाइजेरियन फरवार्ड ओलावाले आफिज, एडेलाजा सोमिडे, डिफेन्स फ्र्यांकलिन टल्लाको भरमा मनाङ छ । विमल रानाले होम ग्राउन्डमा कप्तानी सम्हाल्ने मौका पाएका छन् । सिधैं क्वाटरफाइनल खेलेको मनाङले पछिल्लो समय लिगमा कमजोर प्रदर्शन गरिरहेको पुलिसलाई २–० ले हराएको थियो । सेमिफाइनलमा आर्मीलाई हराउन टाइब्रेकरको सहारा लिनुपर्‍यो । निर्धारित र अतिरिक्त समय गोलरहित भएपछि टाइब्रेकरमा ४–३ ले मनाङले नजिता आफ्नो पक्षमा पार्‍यो । यससँगै १२ पल्ट मनाङ फाइनलमा पुगेको हो । ‘ए’ डिभिजन लिगअन्तर्गत पोखरामा भएका ३ वटै खेल मनाङले जितेको छ । ‘होमग्राउन्ड’ को अवसर मनाङलाई छ ।

सधैं फाइनल खेल्ने अपेक्षा गर्ने गरेकामा यसपल्ट पनि साकार भएको विदेशी प्रशिक्षक फुजा तोपे बताउँछन् । एपीएफले एक खेलपछि अर्को खेलमा सुधार गर्दै गइरहेकाले फाइनल कठिन हुने उनी ठान्छन् । ‘एपीएफले हाम्रो लागि अप्ठेरो स्थिति सिर्जना गर्नेछ,’ उनले भने, ‘तर हरेक परिस्थितिका लागि कुनै न कुनै उपाय हुन्छ । त्यो उपाय मैदानमा उत्रिएपछि थाहा हुन्छ ।’

कप्तान विमल राना धेरैले टिम छोड्दा र आउने जानेक्रम चल्दा सन्तुलन बनाउन समय लागेको बताउँछन् । सेमिफाइनलमा आर्मीविरुद्ध पाएको पेनाल्टीमा चुकेका उनले त्यसलाई अवसरका रूपमा लिएको बताए । ‘पेनाल्टी मिसले दबाब छैन । केही गर्नुपर्छ भन्ने जिम्मेवारी थपिएको छ,’ उनले भने, ‘ ओभरहल खेलाडीले राम्रो खेलेर फाइनलमा पुर्‍याए । टिम सेटअप हुँदै छ । उपाधि जित्न तयार अवस्थामा छौं ।’ आफ्ना चार खेलाडी नभए पनि जित्छौं भन्ने आत्मविश्वास रहेको बताउँदै उनले होम ग्राउन्डमा कप्तानी सम्हाल्न पाउँदा गर्व महसुस भएको बताए ।

यसअघि मनाङ र एपीएफ आहा–रारा गोल्डकपमा पाँचपल्ट आमनेसामने भएका छन् । चौंथो, पाँचौं, आठौं र नवौं र १७ औं संस्करणमा यी दुई टिमबीच प्रतिस्पर्धा भएको छ । पाँचमध्ये मनाङ चारपल्ट एपीएफमाथि हाबी भएको छ । ०६२ मा मनाङले एपीएफलाई नकआउट चरणमा २–१, ०६३ मा सेमिफाइनलमा ३–१, ०६६ मा नकआउटमा ३–१ र ०६७ मा नकआउट चरणमै २–० ले हराएको थियो । ०७५ मा भने एपीएफले क्वाटरफाइनलमा १–० ले जित निकाल्यो । त्यतिबेला प्रदीप लामाले मनाङविरुद्ध गोल गर्दै सेमिफाइनल पुर्‍याएका थिए । सेमिफाइनलमा थ्रीस्टारसँग टाइब्रेकरमा ४–२ ले एपीएफ पराजित हुनुपरेको थियो ।

फुटबल विश्लेषक डम्बरसिंह गुरुङको मनाङ कडा रूपमा प्रस्तुत भइरहेको ठहर छ । खेलाडीबीच समन्वय भए पनि मिडफिल्डमा जत्तिकै प्रदर्शन डिफेन्स र फरवार्डमा नरहेको उनको तर्क छ । ‘मिडफिल्डमा राम्रो होल्ड गरे पनि फिनिसिङ टच दिन सकेको देखिँदैन,’ उनले भने, ‘आक्कल झुक्कल गोल भइहाल्यो भने भइहाल्यो, फ्रेमभित्र हान्ने गरी मुभमेन्ट त्यति छैन ।’ उता एपीएफको सेट टिम भएकोले खेलाडीबीचको बुझाइ राम्रो भएको उनी बताउँछन् । सबै एकैस्तरका खेलाडी रहेकाले व्यक्तिगत र टिम पर्फमेन्स राम्रो रहेको उनको बुझाइ छ । ‘वान टच फुटबल राम्रो छ, राम्रो मुभ पनि बनाइरहेका छन्,’ उनले भने, ‘६–७ टचसम्म पनि वान टच खेल्न सक्ने खुबी छ ।’ तीनवटा खेल खेलेर फाइनल पुगेकोले मैदानमा अभ्यास पनि पर्याप्त भएकोले पनि यसपल्ट एपीएफको पल्ला भारी हुनसक्ने उनको आँकलन छ । भन्छन्, ‘चार खेलाडीको निलम्बनले केही असर पुर्‍याउँछ कि भन्ने हो । प्रतिस्पर्धा कडा हुनेवाला छ ।’

प्रकाशित : माघ १४, २०७८ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?