अस्ट्रेलियन ओपन : नडाल र मेदभेदेभ फाइनलमा भिड्दै

एएफपी

मेलबर्न — रुसी खेलाडी डानियल मेदभेदेभले अस्ट्रेलियन ओपनको सेमिफाइनलमा शुक्रबार स्टेफानो सिसिपासमाथि उतारचढावपूर्ण जित निकालेका छन् । अब उनी हुनेछन् राफेल नडालको सम्भावित महानताविरुद्ध तगारो तेर्साउने खेलाडी । फाइनल आइतबार हुनेछ ।

अस्ट्रेलियन ओपन : नडाल र मेदभेदेभ फाइनलमा भिड्दै

नडाल टेनिस इतिहासमै सर्वाधिक ग्रान्ड स्लाम उपाधि जित्ने खेलाडी बन्न सक्नेछन् । विश्व नम्बर दुई मेदभेदेभले चौथो वरीयताका सिसिपासलाई ७–६ (७/५), ४–६, ६–४, ६–४, ६–१ ले हराएका थिए ।

यसअघि ३५ वर्षीय स्पेनी खेलाडी नडालले इटालीको सातौं वरीयताप्राप्त खेलाडी माटेओ बरेटेनीलाई ६–३, ६–२, ३–६, ६–३ ले पराजित गरे । नडालले २० ग्रान्ड स्लाम उपाधि जितेका छन् । उनी आफ्नो स्वर्णिम पुस्ताका खेलाडी सर्बियाका नोभाक जोकोभिच र स्विट्जरल्यान्डका रोजर फेडेररको बराबरीमा छन् । त्यसमध्ये जोकोभिचलाई अस्ट्रेलिया पुगेर पनि कोरोनाविरुद्धको खोप नलिएको हुनाले घर फर्काइएको थियो । फेडेरर भने चोटका कारण उपचारमा संलग्न छन् ।

प्रकाशित : माघ १४, २०७८ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?