१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मैत्रीपूर्ण खेलमा जितको खडेरी

हिमेश

काठमाडौँ — नेपालले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल जित्न नसकेको एक दशकभन्दा बढी भइसकेको छ । यो तथ्यांकले नेपाली फुटबललाई झस्काउनुपर्ने हो । 

मैत्रीपूर्ण खेलमा जितको खडेरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सुरुमै भनिसकेका छन्, मोरिससको सामना गर्दा जित निस्के त्यसको श्रेय खेलाडीलाई जान्छ । त्यसबाहेक अन्य नतिजामा दोष जति उनलाई नै । यो पनि एक प्रकारले ‘माइन्ड गेम’ नै हो, खेलअघि आफ्ना खेलाडीलाई मानसिक रूपमा तयार पार्ने र उत्प्रेरित राख्ने । अनि यिनै प्रशिक्षक अल्मुताइरीले के पनि भनिसकेका छन् भने मोरिससविरुद्धका दुई खेलमा जित सबैभन्दा ठूलो उद्देश्य रहने छैन ।

मोरिससविरुद्ध नेपालले शनिबार दशरथ रंगशालामा पहिलो खेल खेल्नेछ भने त्यसपछि मंगलबार दोस्रो खेल हुनेछ । अबको जुन महिनातिर हुने एसिया कप छनोटको तेस्रो चरणका लागि अल्मुताइरी अहिले नेपाली राष्ट्रिय टिममा रहेका ३४ खेलाडीलाई नाप्न र तौलिन चाहन्छन् । उनी आफ्ना खेलाडीलाई अनुभव पनि दिलाउन चाहन्छन् । तर प्रश्न त रहन्छ नै, मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल प्रयोग र अनुभवका लागि मात्र हो कि यसमा जितको अर्थ पनि रहन्छ ?

अल्मुताइरीले नेपाली टिम सम्हाल्न थालेको पनि एक वर्षभन्दा बढी भइसकेको छ । उनी अहिलेसम्म दशरथ रंगशालामा आफ्नो पहिलो जित निकाल्न प्रतीक्षारत नै छन् । उनको नेतृत्वमा नेपालले दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको छ । दुवैमा नेपाल छ । यो दुवै खेल भारतविरुद्ध हो । माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको ठीकअगाडि । निश्चित छ, मोरिससविरुद्ध दशरथ रंगशालामा डेब्यु जितका लागि अल्मुताइरी प्रेरित रहनेछन् ।

शनिबारको पहिलो खेल नेपालको साँच्चै धेरै अर्थ रहने छ । यसको महत्त्व अल्मुताइरीको घरेलु मैदानमा पहिलो जितका लागि मात्र रहने छैन । खासमा नेपालले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल जित्न नसकेको पनि एक दशकभन्दा बढी भइसकेको छ । यो यस्तो तथ्यांक हो, जसले नेपाली फुटबललाई झस्काउनुपर्ने हो । नेपालले सन् २००८ देखि मात्र मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न थालेको हो । यसक्रमले साढे एक दशक छुन लागेको छ ।

अहिलेसम्म कुल २८ यस्ता मान्यताप्राप्त खेलमा नेपाल सहभागी रहेको छ । त्यसमा नेपाल जम्मा ४ खेलमा मात्र विजयी छ । त्यो पनि सुरुआती ५ खेलमा । त्यसो भनेको नेपालले खेलेका यस्ता मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका सुरुआती ५ खेलमध्ये नेपाल ४ मा विजयी त रह्यो । त्यसपछि नेपाल अहिलेसम्म एक जितका लागि संघर्षरत छ । सन् २०११ देखिका २३ मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपाल जितविहीन छ । यो नेपाली फुटबलका लागि वास्तवमै चिन्ताजनक तथ्यांक हो ।

नेपालले सन् २००८ मा सबैभन्दा पहिले पाकिस्तानविरुद्ध पोखरामा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो । टोली त्यसमा विजयी रह्यो । लगत्तै पोखरामै भएको दोस्रो खेलमा पाकिस्तान विजयी रह्यो । त्यसपछि नेपाल लगातार तीन खेलमा विजयी रह्यो । यो अरू कसैसँग होइन भुटानविरुद्ध हो । अनि भुटान नेपालका लागि एकमात्र त्यस्तो प्रतिद्वन्द्वी हो, जसका विरुद्ध खेल्दा नेपाल प्रत्येक समय विजयी रहन्छ । जितबाहेक अर्को नतिजा आएको छैन ।

सन् २०११ मा नेपालले मनिलामा भएको खेलमा फिलिपिन्सको सामना गरेदेखि जितविहीन छ । त्यतिमात्र होइन, यी २८ खेलमा नेपालले १८ खेलमा त कुनै गोल पनि गर्न सकेको छैन । खासमा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल अनुभव र प्रयोगकै लागि मात्र पनि खेलिन्न । यो त नेपालजस्तो देशका लागि आफ्नो वरीयता सुधार्ने अवसर पनि हो । प्रशिक्षक अल्मुताइरीले पनि यत्तिको त मानेकै छन् । यस्तोमा प्रतीक्षाको विषय रहनेछ, के मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपालको जितहीन यात्रा मोरिससविरुद्ध टुंगिन्छ त ?

प्रकाशित : माघ १४, २०७८ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?