कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टाइब्रेकर जितले मनाङ १२औं पटक फाइनलमा

दीपक परियार

पोखरा — त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब १२औं पटक आहा-रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । ६ पटकको उपाधि बिजेता मनाङले आर्मीलाई टाइब्रेकरमा ४-३ ले हराएर २० औं संस्करणमा एपीएफसँगको भेट पक्का गरेको हो । 

टाइब्रेकर जितले मनाङ १२औं पटक फाइनलमा

पोखरा रंगशालामा बिहीबार भएको अन्तिम सेमिफाइनल खेल निर्धारित र थपिएको अतिरिक्त समय गोलरहित टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । मनाङ मर्स्याङ्दीका फ्र्यांकलिन टल्ला, शिव गुरुङ, रुपेश केसी र ओलावाले आफिजले गोल गरे । विश्व अधिकारीको प्रहार पोलमा लागेर फर्कियो । मनाङको जितमा गोलरक्षक अशोक बरालले महत्त्वपूर्ण प्रदर्शन गरे । उनले आर्मीका दीपक गुरुङ र युद्ध शाहीको प्रहारलाई बचाएका थिए । यसैगरी आर्मीका कप्तान भरत खवास, जर्जप्रिन्स कार्की र विवेक बस्नेतले गोल गर्न सके ।

खेलमा मनाङका गोलरक्षक अशोक बराल प्लेयर अफ दी म्याच भए ।

त्यसअघि खेलको १०औं मिनेटमा कप्तान विमल रानाले पेनाल्टी चुकाउँदा पहिलो हाफमा अग्रता लिनबाट मनाङ चुकेको थियो । मनाङका एडेलाजा सोमिडेको प्रहारलाई युद्ध शाहीले पेनाल्टी बक्सबाट क्लियर गर्न खोज्दा बल हातले छुन पुगेपछि रेफ्रीले पेनाल्टीको अवसर दिए । कप्तान विमल रानाको प्रहार अकासिँदा पेनाल्टी सदुपयोग हुन पाएन ।

पहिलो हाफ रक्षात्मक खेल्ने र मनाङका खेलाडीलाई थकाउने रणनीति लिएको आर्मीले पनि पाएका अवसरको सदुपयोग गर्न सकेन । शनिबार मनाङ र एपीएफबीच फाइनल खेल हुनेछ । एपीएफ १४ वर्षपछि आहा-रारा गोल्डकपको फाइनल प्रवेश गरेको हो ।

त्यस्तै आर्मीका विवेक बस्नेतले पेनाल्टी क्षेत्रभित्रबाट पोस्टतर्फ प्रहार गर्न नसक्दा ३५औं मिनेटमा पनि आर्मीले गोल गर्ने सुवर्ण अवसर खेर फाल्यो । उनको फितलो प्रहारमा जर्जप्रिन्स कार्कीको दोस्रो प्रहार डिफ्लेक्ट हुँदै अशोक बराले पञ्च गरेका थिए ।

त्यसको रिवाउन्डमा कप्तान भरत खवासको हेडर पोस्टमा जान सकेन । ३९औं मिनेटमा राजेश परियारको कर्नरमा आदेलाजा सोमिडेको हेडर पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो ।

५२औं मिनेटमा राजेश परियारको फ्रिकिकमा क्लियर हुन नसकेको बललाई ओलावाले ओलाडिपो अफिजले गरेको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले बायातर्फ डाइभ दिँदै उत्कृष्ट बचाउ गर्दा मनाङ अग्रता लिनबाट चुक्यो । ५७औं मिनेटमा जर्जप्रिन्सको फ्रिकिकमा बिमल पाण्डेयको डाइभिङ हेडरलाई आदित्य चौधरीले क्लियर गर्दै मनाङको खतरा टारेका थिए ।

खेलको ६६औं मिनेटमा मनाङले गोल गर्ने सुवर्ण अवसर खेर फाल्यो ।

प्रकाशित : माघ १३, २०७८ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?