सम्झनामा बलुच

पाकिस्तानी प्रशिक्षक बचुलको प्रशिक्षणमा शक्ति गौचनलगायत खेलाडीले नेपालबाट पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए
विनोद पाण्डे

‘यू मस्ट स्कोर सेन्चुरी ।’ 

नेपालले सन् २००१ मा बंगलादेशको ढाकामा एसीसी यू–१७ एसिया कपमा समूह चरणको अन्तिम खेल खेल्नै लाग्दा प्रशिक्षक अफ्ताब बलुचले ओपनिङ ब्याटर मुनिक श्रेष्ठलाई यसो भन्दै उक्साएका थिए । नभन्दै मुनिकले सिंगापुरविरुद्ध १ सय १३ रनको अविजित इनिङ्स खेलिदिए । 

सम्झनामा बलुच

नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हान्न प्रेरित गर्ने र प्रशिक्षण दिएका तिनै पाकिस्तान प्रशिक्षक बलुच हामीमाझ रहेनन् । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले मंगलबार बलुचको ६८ वर्षको उमेरमा निधन भएको जनाएको छ । तर, निधनको कारण खुलाइएको छैन ।

पाकिस्तानका लागि सन् १९६९ मा बलुचले १६ वर्षकै उमेरमा ढाकामा न्युजिल्यान्डविरुद्ध टेस्ट डेब्यु गरेका थिए । त्यसको ६ वर्षपछि वेस्ट इन्डिजविरुद्ध लाहोर खेलिएको टेस्ट बलुचको दोस्रो तथा अन्तिम बन्न पुगेको थियो ।

उनी सन् २००१ मा नेपालको प्रशिक्षक रहेका थिए । उनको प्रशिक्षणमा नेपालले शक्ति गौचनको कप्तानीमा बंगलादेशमा एसीसी यू–१७ एसिया कप खेलेको थियो । शक्तिको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । उनीसँगै नेपालको यू–१७ को टोलीमा मुनिक, मन्जित श्रेष्ठ, वसन्त रेग्मी, कनिष्क चौगाईं, यशवन्त सुवेदी, मनोज कटुवाल, लाक्पा लामा, दीपेश खत्री, प्रेम चौधरीलगायतका खेलाडीले खेलेका थिए ।

बलुचलाई शक्ति सामान्य प्रशिक्षकका रूपमा स्मरण गर्छन् । ‘उहाँ रकेट साइन्सजस्तो हुनुहुन्थेन, सामान्य स्वभावका हुनुहुन्थ्यो, त्यो समयको क्रिकेट पनि त्यस्तै थियो,’ शक्तिले बलुचबारे भने, ‘फिल्डिङमा उहाँले विशेष ध्यान दिनुहुन्थ्यो । बलिङका क्रममा फिल्डिङ तैनाथ गर्दा धेरै चनाखो बन्नुपर्ने भन्दै धेरैपल्ट फिल्डरको पोजिसन परिवर्तन गर्नुभएको थियो ।’

मुनिकले २००१ को फेब्रुअरी १९ मा सिंगापुरविरुद्ध अविजित १ सय १३ रन बनाएको स्मरण गर्दै अघिल्लो वर्ष भनेका थिए, ‘उहाँ (बचुच)ले मलाई शतक बनाउनुपर्छ भनेर भन्नुभयो । त्यो खेलमा अर्धशतक बनाउँछु जस्तो लागेको थियो । शतकको कल्पना पनि थिइनँ । शतकको जोस बलुचले भरिदिनुभएको हो ।’

सन् २००३ मा नेपाल एसीसी यू–१९ कप खेल्न पाकिस्तानको कराँची गएको थियो । नेपाली टोलीमा त्यतिखेर आधाभन्दा बढी खेलाडीले बलुचको प्रशिक्षणमा खेलेको थियो । कराँची रंगशालामा नेपाली खेलाडीले डाइभिङ गर्दैगर्दा बलुचले नेपाली सञ्चारमाध्यमसँग आफूले नै नेपाली खेलाडीलाई स्लाइड हानेर फिल्डिङ गर्न सिकाएको दाबी गरिरहेका थिए ।

उनी नेपालको प्रशिक्षकका रूपमा राष्ट्रिय टोलीलाई २००१ मा क्यानडामा आईसीसी ट्रफी (विश्वकप छनोट) मा उतार्नेक्रममा थिए । तर, दिल्लीस्थित क्यानडेली दूतावासले भिसा नदिएपछि नेपालले प्रशिक्षकविहीन भएर क्यानडामा आईसीसी ट्रफी खेलेको थियो । तत्कालीन व्यवस्थापकद्वय टीबी शाह र शशिदत्त पाण्डेले नेपालको टोली सम्हालेका थिए । दुवैको यसअघि नै निधन भइसकेको छ ।

त्यसपछि बलुच पाकिस्तान फर्किएका थिए । बलुचसँगै कप्तान राजु खड्का, राजकुमार प्रधान, कुश गुरुङ र वीरेन्द्र साहले क्यानडाको भिसा पाएका थिएनन् । उनीहरूको स्थानमा पवन अग्रवाल, नवीन घिमिरे, सन्दीप श्रेष्ठ र दुर्गा सेनलाई नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडा पठाएको थियो भने खड्काको अनुपस्थितिमा गणेश शाहीले नेपालको कप्तानी गरेका थिए । शाहीको पनि निधन भइसकेको छ ।

मुनिकलाई बलुचले क्यानडा जाने टोलीमा राखेका थिए, जतिखेर मुनिक १५ वर्षका थिए । नेपाली राष्ट्रिय टोलीबाट सबैभन्दा कम उमेरमा खेल्ने कीर्तिमान अझै पनि मुनिककै नाममा छ । बलुचको स्थानमा रोय डायस सन् २००१ मै नेपालको प्रशिक्षक भएर आएका थिए ।

घरेलु क्रिकेटमा भने बलुचलाई पाकिस्तानको ठूलो प्रतिभा मानिन्छ । उनी एकै इनिङ्समा ४ सय रनभन्दा माथिको स्कोर बनाउने दोस्रो पाकिस्तानी खेलाडी हुन् । १९७३–७४ को कायदे आजम ट्रफीमा उनले सिन्धको कप्तानी गर्दै बलुचस्थानविरुद्ध कराँचीमा ४ सय २८ रनको इनिङ्स खेलेका थिए ।

उनले त्यसक्रममा केवल आठौं प्रथम श्रेणीको खेल खेलिरहेका युवा जाभेद मियादादसँग पाँचौं विकेटमा १ सय ७४ रन जोडेका थिए । बलुचभन्दा १५ वर्षअघि हनिफ मोहम्मदले ४ सय ९९ रनको इनिङ्स खेलेका थिए ।

बलुचले १ सय ७२ प्रथम श्रेणीको खेलमा ४१ भन्दा माथिको औसतमा ९ हजार १ सय ७१ रन बनाएका थिए । त्यसमा २० शतक र ४५ अर्धशतक छ ।

प्रकाशित : माघ १२, २०७८ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?