नडाल सेमिफाइनलमा
मेलबर्न — कीर्तिमान २१ औं ग्रान्ड स्लाम उपाधि जित्ने होडमा रहेका राफेल नडालले मंगलबार अस्ट्रेलियन ओपनको सेमिफाइनल यात्रा तय गरेका छन् । महिलातर्फ गैरवरीयताप्राप्त अमेरिकी खेलाडी म्याडिसन केयस पनि अन्तिम चारमा पुगेका छन् । लगातार दोस्रो खेलमा सामना गरेको कडा चुनौती पार गर्ने क्रममा नडालले क्यानडाका डेनिस सापोभालोभलाई ६–३, ६–४, ४–६, ३–६, ६–३ ले हराए ।
स्पेनिस नडालले सुरुआती दुई सेट सजिलै जितेपछि त्यसपछिका दुई सेटका क्रममा अस्वस्थ्य महसुस गरेका थिए । तर। पेटको समस्या बेहोर्दै उनले अन्तिम तथा निर्णायक सेट भने जिते । जितपछि नडालले भने, ‘पेटको समस्याले दुःख दिएको थियो, तर जाँचमा केही समस्या देखिएन । भाग्यले मैले अन्तिम सेट भने जितें ।’
अस्ट्रेलियन ओपनको तयारी प्रतियोगिता जितेका नडालले सन् २०२१ को पूरा वर्ष चोटका कारण खासै खेलेका थिएनन् । डिसेम्बरमा कोभिड–१९ बाट संक्रमित भएपछि थप समस्यामा परेका थिए । नडालले प्रतिक्रिया दिनेक्रममा थपे, ‘अब म कहाँ २१ वर्षको रहें र ? दुई महिनाअगाडिसम्म पनि मैले खेल्ने नखेल्ने टुंगो थिएन । तर अहिले भने म टेनिस खेलिरहेको छु ।’
यसअघि रड लेभर एरिनामा केयसले आफ्नो व्यक्तिगत उतारचढावपूर्ण प्रदर्शनबीच चौथो वरीयताकी बारबोरा क्रेजिकोभालाई ६–३, ६–२ ले हराइन् । जितपछि म्याडिसनले भनिन्, ‘यो जितको धेरै अर्थ छ । गत वर्ष मैले केही पनि राम्रो गर्न सकेको थिइनँ । तर यसपल्ट केही राम्रो भइरहेको छ र यसमा म खुसी छु ।’
प्रकाशित : माघ ११, २०७८ २१:५९