कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वाटफोर्डमा हडसन आउने

एएफपी

लन्डन — इंग्लिस प्रिमियर लिग क्लब वाटफोर्डले रोय हडसनलाई नयाँ व्यवस्थापकमा नियुक्त गर्ने भएको छ । यसका लागि ७४ वर्षीय प्रशिक्षकले आफ्नो संन्यासको घोषणा फिर्ता लिनुपर्नेछ । गत सिजन क्रिस्टल प्यालेसको जिम्मेवारी छाडेयता अनुभवी हडसनले फुटबलबाट टाढा रहने घोषणा गरेका थिए ।

वाटफोर्डमा हडसन आउने

यसअघि रेलिगेसनबाट बच्न संघर्षरत वाटफोर्डले व्यवस्थापक क्लाउडियो रेनेरीलाई सोमबार बर्खास्त गरेको थियो । यससँगै क्लबको व्यवस्थापकीय पद खाली भएको थियो । उनले १४ खेलमा क्लबको जिम्मेवारी सम्हाल्ने अवसर पाए । यसअघिका स्पेनी व्यवस्थापक सिको मुनोजको वर्खास्तगीपछि अक्टोबरमै मात्र रेनेरीलाई नियुक्त गरिएको थियो ।

तर ७० वर्षीय इटालीका फुटबल प्रशिक्षकले पनि वाटफोर्डको भाग्य फेर्न सकेनन् । उनको नेतृत्वमा वाटफोर्डले ७ अंकमात्र बटुल्न सकेको थियो । रेनेरी आएको १ सय १२ दिनपछि नै वाटफोर्ड रेलिगेसन क्षेत्रमा खस्केको थियो । रेलिगेसनबाट बच्न संघर्षरत अर्को क्लब नर्विचको हातबाट गत साता ३–० को हार बेहोरेपछि रेनेरीले त्यसको मूल्य चुकाउनुपरेको थियो ।

क्लबले भनेको छ, ‘क्लबका प्रमुख प्रशिक्षक क्लाउडियो रेनेसीलाई बिदाइ गरिएको छ ।’ लिग अंकतालिकामा वाटफोर्ड पुछारबाट दोस्रो स्थानमा छ । यो सुरक्षित स्थानबाट २ अंकको दूरी हो । वाटफोर्ड लिगका पछिल्ला ८ खेलमध्ये सातमा पराजित छ । सबैखाले प्रतियोगितामा वाटफोर्डले ९ खेलयता जित निकाल्न सकेको छैन ।

सन् २०१३ यता क्लबको यो सबैभन्दा खराब जितहीन यात्रा हो । गत सिजन मात्र फेरि प्रिमियर लिगमा बढुवा खाएको वाटफोर्डको भाग्य यसपल्ट फेर्ने हो भने यो नै सबैभन्दा उपयुक्त समय छ, क्लबका मालिक रहेको पिजो परिवारले भनेको छ । क्लबले रेनेरीप्रति आफ्नो उच्च सम्मान रहेको बताएको छ ।

क्लबले थपेको छ, ‘तर क्लबले के महसुस गरेको छ भने लिगमा लगभग आधा खेल बाँकी रहेका बेला टिमको जिम्मेवारी नयाँ प्रशिक्षकलाई दिनु ठीक हुनेछ । यसबीचमा प्रशिक्षकले काम गर्न पर्याप्त मौका पाउने छ । अहिले हाम्रो एकमात्र उद्देश्य क्लबलाई प्रिमियर लिगमै राख्नु छ ।’

प्रकाशित : माघ ११, २०७८ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?