मेसुकेको प्रवेश मछिन्द्रलाई फलदायी

दीपक परियार

पोखरा — आफ्ना ६ खेलाडी अफ्रिकी मुलुक मोरिससविरुद्ध खेल्ने राष्ट्रिय टोलीमा परेपछि मछिन्द्रमा फरवार्डको खडेरी पर्‍यो । २० औं आहा–रारा गोल्डकप खेल्न क्लबले न्युरोड टिम (एनआरटी) का विदेशी खेलाडी मेसुके ओलोमोउलाई भित्र्यायो । साबिक विजेता संकटा क्लबलाई हराएर सेमिफाइनल पक्का गर्दा उनै मेसुकेको प्रवेश मछिन्द्रलाई फलदायी बन्यो । 

मेसुकेको प्रवेश मछिन्द्रलाई फलदायी

पोखरा रंगशालामा सोमबार मेसुकेको व्यक्तिगत दुई गोल मद्दतमा मछिन्द्रले ४–१ को फराकिलो जित रचेको हो । प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा ‘ए’ डिभिजन लिगको लय कायम राख्दै मछिन्द्रले उत्कृष्ट खेल प्रदर्शन गर्‍यो । खेलको १३ औं मिनेटमै अग्रता लिएर मछिन्द्रले संकटालाई दबाबमा राख्यो । युवा मिडफिल्डर उत्सव राईले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । उनको लामो दुरीको सशक्त प्रहारले पोस्टको दिशा लिएको थियो । जय गुरुङले क्लियर गर्न खोजेको बल मछिन्द्रका अभियान प्रधानबाट डिफ्लेक्ट भएपछि उत्सवले नियन्त्रणमा लिए । पोजिसनबाट अगाडि बढेका रोशन पहारीलाई बिट गर्दै उत्सवले लामो दुरीमा प्रहार गरेका थिए ।

यसअघि खेलको सातौं मिनेटमा संकटाका ग्लोरी अग्रता लिनबाट चुके । यान्निक ओआनाको पासमा रोशन पहारीको प्रहारलाई गोलरक्षक सूर्य अधिकारीले नियन्त्रणमा लिन नसक्दा ग्लोरीले पाएको पहिलो मौका गुमाए । उनको प्रहार सूर्यले पञ्च गर्दै बचाए । रिबाउन्डमा पुनः ग्लोरीले सिक्स यार्ड बक्सबाट गरेको प्रहार ओमोजाला नुरेन करिमले गोललाइनबाट क्लियर गरिदिए । दोहोरो अवसर चुक्नु संकटाका लागि दुर्भाग्य बन्यो ।

२७ औं मिनेटमा रेजिन सुब्बाको प्रहार संकटाका गोलरक्षक राजाबाबु थापाले बचाए । रेजिनको क्रस सिधै पोस्टको फ्रेममा परेकोमा क्रसबारमाथि फाल्दै संकटाका गोलकिपरले कर्नरको अवसर बनाइदिए । २९ औं मिनेटमा संकटा फेरि बराबरीबाट चुक्यो । फोडे फोफानाको बक्सबाहिरको प्रहार पहिलो बारभन्दा थोरै माथिबाट मात्रै बाहिरियो । ३६ औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा पोस्टमै पुगेका नीरज बस्नेतले फिनिसिङ टच दिन सकेनन् । उनको हेडर सदुपयोग भएन ।

दोस्रो हाफमा दुवै टोली आक्रामक देखिए । संकटाले पनि खेलको रफ्तार बढायो । मछिन्द्रले काउन्टर एट्याकमा बढी ध्यान दियो । ४७ औं मिनेटमा मेसुकेले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए । नाथानिल जुडे गार्सियाको पास अफसाइड पोजिसनबाट कलेक्ट गर्दै अभिषेक रिजालले मेसुकेलाई उपलब्ध गराए । उनले मौका नगुमाई बल गोलमा परिणत गरे । दुई गोलको अग्रतासँगै मछिन्द्रले दुई वैकल्पिक खेलाडीलाई मैदानमा उतारेर खेल अझै आक्रामक बनाउने योजना बुन्यो । ५७ औं मिनेटमा मेसुकेको क्रसमा रेजिन सुब्बाको फ्लिकलाई संकटाका डिफेन्डर नीरज बस्नेतले विफल बनाए ।

६३ औं मिनेटमा संकटाका वैकल्पिक खेलाडी गणेश हमालको गोलले खेलमा फर्किने कोशिष गर्‍यो । अमित तामाङको कर्नर बललाई निरज बस्नेतको हेड पासलाई वैकल्पिक खेलाडी गणेश हमालले हेडमार्फत नै गोल गरेर २–१ को स्थिति बनाए । त्यसपछि भने संकटालाई दबाब कम भएको देखियो । ७४ औं मिनेटमा गणेश हमालले सुवर्ण अवसर गुमाउँदा संकटा फेरि बराबरी बनाउनबाट चुक्यो ।

वैकल्पिक फरवार्ड अभिषेक गुरुङले ८४ औं मिनेटमा गोल थप्दै जित सुनिश्चित बनाए । संकटाका अमित तामाङले मछिन्द्रका कप्तान रञ्जित धिमाललाई लडाएपछि प्राप्त फ्रिकिक करिमले प्रहार गरे । उनको फ्रिकिकलाई गोलरक्षक राजाबाबुले पञ्च गरेर बचाए । रिबाउन्डमा अभिषेक क्लोज रेन्जबाट गोल गर्न सफल भए । त्यसको दुई मिनेटपछि मेसुकेले पुनः अर्को गोल थप्दै जित अन्तर फराकिलो बनाए । गार्सियाको पासमा उनले दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । गार्सियाको फ्लिक पासलाई अफसाईड विट गर्दै उनले गोल गरेका थिए । मेसुके प्लेयर अफ द म्याच भए ।

संकटाका प्रशिक्षक राजकुमार केसीले खेलाडीबीचको समन्वय अभावमा स्कोर हुन नसकेको बताए । खेलको दोस्रो हाफमा संकटाको खास खेल देखिए पनि डिफेन्सलाइनको गल्तीले अन्तर फराकिलो हुन पुगेको उनको भनाइ छ । ‘हामीले गल्तीमाथि गल्ती गर्दै गयौं, त्यसैले हार्नुपर्‍यो,’ उनले भने, ‘सिनियर र जुनियर खेलाडीबीचको समन्वय नमिल्दा पनि हार बेहोर्‍यौं ।’ विपक्षी टोली र आफ्नो खेलको स्तर उस्तै भए पनि मेसुकेले प्रवेश गर्दा खेलले अर्को रूप लिएको उनले बताए ।

जितका बाबजुद मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल भने रेफ्रीको निर्णयप्रति असन्तुष्ट देखिए । विपक्षी टोलीका खेलाडीले फाउल गर्दा समेत रेफ्रीले नदिएको उनको आरोप थियो । ‘संकटाजस्तो टिमसँग ४–१ ले जित्नु मछिन्द्रको धेरै नै उत्कृष्ट प्रदर्शन हो,’ उनले भने ।

मछिन्द्रले फाइनल पुग्नका लागि बुधबार एपीएफसँग खेल्नेछ । मंगलबार अन्तिम क्वाटरफाइनलमा त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : माघ ११, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?