अस्ट्रेलियन ओपन : मेदभेदेभ अघि बढे, सबालेन्का बाहिरिइन्


मेलबर्न — उपाधिको प्रबल दाबेदार मानिएको डानियल मेदभेदेभले अमेरिकी म्याक्सिम क्रेसीको कडा चुनौती पार गर्दै सोमबार अस्ट्रेलियन ओपन टेनिसको अन्तिम आठको यात्रा तय गरेका छन् । महिलातर्फ फ्रान्सेली भेट्रान खेलाडी एलिज कोर्नेट आफ्नो लामो खेलजीवनमा पहिलोपल्ट ग्रान्ड स्लामको क्वाटरफाइनल पुग्न सफल भएका छन् ।



दोस्रो वरीयताका रुसी खेलाडी मेदभेदेभले तीन घण्टा ३० मिनेट खर्चेर क्रेसीमाथि ६–२, ७–६, ६–७, ७–५ को जित पाएका थिए । ‘आजको खेल निकै गाह्रो र लामो भयो, पहिलो सेटलाई छाडेर आजको पूरा खेल निकै कठिन रह्यो,’ मेदभेदेभले भने, ‘मैले चौथो सेट जित्न नसकेको भए मेरो प्रदर्शन निकै कमजोर भएको साबित हुन्थ्यो ।’ यसअघि लगातार अन्तिम १६ मा हार बेहोरिइरहेकी कोर्नेटले क्वाटरफाइनल यात्रा तय गरिन् । यसअघि उनी ६३ ग्रान्ड स्लाम प्रतियोगितामा सुरुआती चरणमै रोकिने गरेकी थिइन् । अब सेमिफाइनल पुग्नका लागि उनले अमेरिकी खेलाडी डेनियल कोलिन्सको सामना गर्नेछिन् ।
सन् २००५ मा पहिलोपल्ट ग्रान्ड स्लाममा डेब्यु गरेकी कोर्नेट शनिबार मात्रै ३२ वर्षकी भइन् । उनी यसअघि पाँचपल्ट ग्रान्ड स्लाम चौथो चरण पुगे पनि अघि बढ्न सकेकी थिइनन् । यसपल्ट भने उनले पूर्व विश्व नम्बर एक रोमानियाली सिमोना हालेपलाई ६–४, ३–६, ६–४ ले पराजित गरिन् । जितपछि कोर्नेटले भनिन्, ‘निकै खुसीको अनुभव गरिरहेकी छु ।’ उनले दोस्रो चरणमा विश्व नम्बर ३ गार्बिन मुगुरुजालाई हराएकी थिइन् ।
२७ औं वरीयताकी कोलिन्सले भने जितका लागि उत्तिकै संघर्ष गर्नुपरेको थियो । उनले २ घण्टा ५१ मिनेट चलेको खेलमा बेल्जियमकी एलिस मार्टेन्सलाई ४–६, ६–४, ६–४ ले पराजित गरिन् । सन् २०१९ मा मेलबर्नमा सेमिफाइनल खेलेकी कोलिन्सले जितपछि भनिन्, ‘जितका लागि निकै कडा संघर्ष गर्नुपर्यो ।’
पुरुषतर्फ नवौं वरीयताका क्यानडाका फेलिक्स अगुर एलिसिमले सन् २०१८ मा मेलबर्नको फाइनल खेलेका क्रोएसियाका मारिन सिलिचलाई २–६, ७–६ (९–७), ६–२, ७–४ ले हराए ।
महिलातर्फ पोल्यान्डकी सातौं वरीयताकी इगा स्विटेकले रोमानियकी सोराना क्रिस्टियालाई ५–७, ६–३, ६–३ ले हराएर क्वाटरफाइनल तय गरिन् । विश्व नम्बर दुई बेलारुसकी अर्यना सबालेन्का पराजित भएकी छन् । पहिलो ग्रान्ड स्लामको आसमा रहेकी उनलाई इस्टोनियाकी भेट्रान खेलाडी कैया कानेपीले ५–७, ६–२, ७–६ (१०–७) ले हराएकी थिइन् । ३६ वर्षे कानेपी पछिल्लो आठ पटकमा मेलबर्नमा पहिलोपल्ट क्वाटरफाइनल पुगेकी हुन् ।
प्रकाशित : माघ ११, २०७८ ०८:४१