१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपाललाई ‘बलियो’ मान्छ मोरिसस

नेपालका लागि मोरिससविरूद्धको खेल घरेलु मैदानमा आत्मविश्वास बढाउने बलियो अवसर हुनेछ
हिमेश

काठमाडौँ — केही झिनो अन्योलबीच नेपाल र मोरिससबीचको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुने नै भयो । दशरथ रंगशालामा हुने खेलका लागि दर्शकले प्रवेश पाउनेछन् वा छैनन्, पाए कतिले पाउनेछन् ? यी सबै प्रश्न अझै अनुत्तरित छन् । तर मोरिसस टिम सोमबार नेपाल आइपुगेपछि खेललाई लिएर अन्योल रहेन । र, यससँगै तय भएको छ, नेपालले पहिलोपल्ट ऐतिहासिक रूपमा अफ्रिकी प्रतिद्वन्द्वीको औपचारिक सामना गर्ने । 

नेपाललाई ‘बलियो’ मान्छ मोरिसस

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपपछि नेपाल फर्केयता पहिलोपल्ट पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दाबी गरेका थिए, नेपालले अब आफूभन्दा माथिको वरीयताको टिमविरुद्ध खेल्नेछ । कम्तीमा अहिले यस्तो भएको छैन । मोरिसस नेपालभन्दा फिफा वरीयतामा पछाडि छ । नेपालका लागि यस टिमविरुद्धको खेल आफ्नो घरेलु मैदानमा आत्मविश्वास बढाउने जितलाई प्रयास गर्ने बलियो अवसर हुनेछ ।

मोरिसस स्वयं पनि मान्छ, आफ्नो तुलनामा नेपाली टिम बलियो छ । मोरिससका प्रशिक्षक हुन्, टोनी फ्रान्सिस । उनी नेपालविरुद्धको खेललाई लिएर उत्साही छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेयता उनले भने, ‘सबैभन्दा पहिले नेपालले हामीलाई दुई खेलका लागि निमन्त्रण दिएकोमा धन्यवाद । नेपाल बलियो टिम हो तर यी टिमबीचको खेल प्रतिस्पर्धात्मक हुनेछ । हाम्रो टिम आफूले राम्रो चुनौती पेस गर्नेमा विश्वस्त छ । हामी अहिले कहाँ छौं नेपालविरुद्धको खेलले देखाउने छ ।’

अफ्रिकी कप अफ नेसन्सको अर्को संस्करणको प्रारम्भिक छनोट अबको केही महिनापछि मार्चमा सुरु हुँदै छ । मोरिससले नेपालको भ्रमणलाई यसकै तयारीका रूपमा लिएको छ । फिफा वरीयतामा मोरिसस १ सय ७२ औं स्थानमा छ । यो अफ्रिकी फुटबल महासंघ (काफ) सँग आबद्ध भएको देश हो । क्षेत्रीय रूपमा भने यो काउन्सिल अफ साउथर्न अफ्रिकन फुटबल एसोसिएसनमा आबद्ध छ । मोरिसस फुटबलको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि भन्नु नै सन् १९७४ को अफ्रिकी कप अफ नेसन्स खेल्नु हो ।

सोमबार नेपाल आइपुगेको मोरिसस फुटबल टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिँदै । तस्बिर : एन्फा

संयोग कस्तो भने त्यतिबेलासम्म नेपालले औपचारिक फुटबल खेल्न सुरु गरेको थिएन । त्यस अर्थमा मोरिससको अन्तर्राष्ट्रिय फुटबलको इतिहास लामो छ । नेपालले सन् १९८२ पछि मात्र फिफा मान्यताप्राप्त अन्तर्राष्ट्रिय खेल खेल्न थालेको हो । मोरिसस फुटबल खेल्नका लागि नेपाल आउने पहिलो अफ्रिकी देश पनि हुनेछ । नेपालले अहिलेसम्म तीन अवसरमा अफ्रिदी देशको फुटबल मैदानमा सामना गरेको छ, तर त्यो सबै औपचारिक मान्यताप्राप्त खेल भने थिएन ।

सन् १९८३ मा नेपालले मलेसियामा भएको मर्डेका कपमा सहभागिता जनाउनेक्रममा अल्जेरिया–११ को सामना गरेको थियो । त्यसमा नेपाल २–० ले पराजित रह्यो । दोस्रो अवसर सन् २००८ मा जुरेको थियो, जतिबेला मलेसियामै भएको मर्डेका कपका क्रममा नेपालले सियरा लियोनको यू–२० टिमको सामना गरेको थियो । नेपाल त्यसमा ३–१ ले पराजित रह्यो । यो खेल भने निकै विवादास्पद छ । साह आलम स्टेडियमको लगभग विनादर्शक भएको खेल नेपालका लागि लिग चरणको अन्तिम खेल थियो ।

त्यसअगाडि नेपाल मलेसियासँग ४–० ले पराजित रहेको थियो भने अफगानिस्तानविरुद्धको खेल २–२ को बराबरीमा टुंगिएको थियो । यस्तोमा अन्तिम खेलमा निश्चित जित निकाल्दै नेपालसामु सेमिफाइनल प्रवेशको अवसर थियो । तर केही विदेशी मिडिया र यसै प्रतियोगितालाई लिएर लेखिएका पुस्तकले भने यो खेलमा मिलेमतो भएको दाबी गर्छ । त्यो खेलमा नेपाल ३–१ ले पराजित भएको थियो । नेपालका लागि एकमात्र गोल जुमनु राईले ४० औं मिनेटमा पेनाल्टीबाट गरेका थिए ।

यससँगै खेल १–१ को बराबरीमा पुगेको थियो, जुन सट्टेबाजको योजनाअनुसार थिएन । त्यसपछि सियरा लियोनले दोस्रो हाफमा दुई गोल गरेको थियो । त्यसको चार वर्षपछि सन् २०१२ मा नेपालले फेरि एकपल्ट नेहरू कपमा क्यामरुनविरुद्ध लिग चरणमा खेल्ने अवसर पाएको थियो । यो क्यामरुनी टिम कुनै औपचारिक टिम थिएन । तर यो खेलमा नेपाल नमीठोसँग ५–० ले पराजित रह्यो । क्यामरुनी टिम आफैंमा बलियो भने थियो । सम्भवतः मोरिसस नेपालले अहिलेसम्म सामना गरेका यी तीन टिम जत्तिको छैन ।

प्रकाशित : माघ ११, २०७८ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?