२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

आहा-रारा गोल्डकप : पुलिसलाई हराउँदै मनाङको सेमिफाइनल यात्रा सुनिश्चित

दीपक परियार

पोखरा — आहा-रारा गोल्डकपमा नेपाल पुलिसलाई २–० गोल अन्तरले हराउँदै मनाङ मर्स्याङदी क्लबले पोखरामा जारी २० औं संस्करणमा सेमिफाइनल यात्रा सुनिश्चित गरेको छ ।

आहा-रारा गोल्डकप : पुलिसलाई हराउँदै मनाङको सेमिफाइनल यात्रा सुनिश्चित

पोखरा रंगशालामा आइतबारको क्वार्टरफाइनलमा पुलिसको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै मनाङले नतिजा आफ्नो पक्षमा पार्‍यो । नाइजेरियन फरवार्ड आफिज ओलावालेको सशक्त प्रदर्शन मनाङका लागि बलियो पक्ष बन्यो । उनले एक गोल गरे भने अर्को गोलमा असिस्ट गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो । दुवै टोलीबाट उल्लेखनीय प्रहार हुन सकेनन् । खेलको ६४ औं मिनेटमा रुपेश केसीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । पुलिसका हेमन्त श्रेष्ठको ब्याक पासलाई अजित भण्डारीले क्लियर गर्न नसक्दा आफिजले बल कलेक्ट गर्दै रुपेशलाई उपलब्ध गराए ।

पेनाल्टी बक्सभित्र अजितको गम्भीर गल्तीको फाइदा लिँदै रुपेशले तीन डिफेन्डर र गोल रक्षकबीचबाट गरेको प्रहार गोलमा परिणत भयो । खेलको ८४ औं मिनेटमा जुमानु राईले बराबरीमा पुर्‍याएर पुनरागमन गर्ने अवसर चुकाए । पेनाल्टी बक्सबाटै वान टचमा प्रहार गर्नुपर्ने बलमा उनले होल्ड गर्दा सुवर्ण अवसर गुम्यो ।

त्यसलगत्तै ओलावालेले काउन्टर अट्याकमा डिफेन्सलाई बिट गर्दै एक्लै बल अगाडि बढाएर अशोक थापा मगरलाई पास दिए । अशोकको शक्तिशाली प्रहारलाई गोलरक्षक सञ्जित श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए । रिबाउन्डमा पुनः अशोककै हेड पासमा राजेश परियारको प्रहार अकासिएको थियो ।

८७ औं मिनेटमा ओलावालेले गोल गर्दै अग्रता दोब्बर बनाएर मनाङको जित निश्चित गरे । पुलिसका भोला सिलवालले लय गुमाउँदा ओलावालेले बल छिने । खोसेको बललाई एक्लै अगाडि बढाएर भोला र अजितलाई बिट गर्दै गोलरक्षक अगाडि बढेको अवस्थामा सुन्दर गोल गरे ।

ओलावाले म्यान अफ दी म्याच भए । दुवै टिम समान ६ वटा उपाधि विजेता हुन् । क्याराभान गोल्डकपमा भने पुलिसले उपाधि उचालेको थियो । ‘ए’ डिभिजन लिग अन्तर्गत गत पुसमा मनाङले आफ्नो होम ग्राउन्ड पोखरा रंगशालामा पुलिसलाई ३–१ ले हराएको थियो ।

मनाङले मंगलबार हुने त्रिभुवन आर्मी र थ्री स्टार क्लबको विजेतासँग सेमिफाइनल खेल्ने छ । सोमबार प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन संकटा र जारी लिगको शीर्ष टोली मछिन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : माघ ९, २०७८ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?