नेपाल आर्मीले उचाल्यो महिला हक्कीको उपाधि

शंकर आचार्य

पर्सा — सुदूरपश्चिमलाई पराजित गर्दै नेपाल आर्मीको टिमले वीरगन्जमा सञ्चालित चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि उचालेको छ ।

नेपाल आर्मीले उचाल्यो महिला हक्कीको उपाधि

शनिबार वीरगन्जस्थित आदर्शनगर रंगशालामा सम्पन्न फाइनल खेल पूर्व अनुमान बिपरीत अत्यन्त प्रतिस्पर्धात्मक हुन पुग्यो । बलियो मानिएको नेपाल आर्मी टिमलाई मध्यान्तर अघिसम्म सुदूरपश्चिमले कडा टक्कर दियो ।

मध्यान्तर पछि सुदूरपश्चिमका खेलाडी केही थकित देखिए भने नेपाल आर्मीका खेलाडी आक्रामक बन्दै गए । खेलको ५२ औं मिनेटमा आर्मीकी जर्सी नम्बर ३० की खेलाडी सरस्वती तामाङले गोल गरिन् ।

सोही गोल नै आर्मीलाई उपाधि जिताउन उपयोगी साबित भयो । सुदूरपश्चिमले पनि केही राम्रा प्रहार गरे पनि त्यो सफल भने हुन सकेन । ‘उमन अफ द म्याच’ नेपाल आर्मीकी सीतामाया बल भइन् ।

शनिबार बिहान प्रतियोगिताको तेश्रो स्थानका लागि खेलिएको खेलमा गण्डकी प्रदेशले मधेस प्रदेश टिमलाई २–१ ले पराजित गरेको हो । खेल अवधिभर दुवै टिमले १–१ गोल गरेर खेल बराबरी भएपछि निर्णायकले पेनाल्टी सुटआउटबाट नतिजा निकालेका थिए । जसमा गण्डकीले २ र मधेसले १ गोल गरेको थियो ।

विजेता, उपविजेता तथा तेश्रो टिमलाई क्रमशः ५० हजार, ३५ हजार र १५ हजार नगदसहित शिल्ड बितरण गरिएको थियो । प्रमुख अतिथि संविधानसभा सदस्य अनिल रुङटा, पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, नेपाल हक्की संघका उपाध्यक्षद्वय अनिल शर्मा र मनिष झा लगायतले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी नेपाल आर्मीकी अन्जना चन्द ठकुरी घोषित भइन् । इमर्जिङ खेलाडी सुदूरपश्चिमकी सबिना पुन राना, गण्डकी प्रदेशकी समीक्षा पुन उत्कृष्ट गोलकिपर र नेपाल आर्मीकी कमल चन्द सर्वाधिक गोलकर्ता भइन् । बेष्ट डिफेन्डर सुदूरपश्चिमकी सन्जु चौधरी भइन् ।

प्रकाशित : माघ ८, २०७८ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?