२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अस्ट्रेलियन ओपनबाट बाहिरिइन् ओसाका

एएफपी

मेलवर्न — साबिक विजेता नाओमी ओसाका ग्रान्ड स्लाम टेनिस अस्ट्रेलियन ओपनको तेस्रो चरणबाटै बाहिरिएकी छन् । शुक्रबार ओसाकामाथि अविस्मरणीय जित पाएकी वरीयताविहीन अमेरिकी खेलाडी अमान्डा एनिसिमोभाले चौथो चरणमा उपाधिको मुख्य दाबेदार एस्ले बार्टीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

अस्ट्रेलियन ओपनबाट बाहिरिइन् ओसाका

विश्व वरीयतामा ६० औं स्थानमा रहेकी अमान्डाले दुईपल्ट म्याच प्वाइन्ट बचाएर विश्व नम्बर एकमाथि ४–६, ६–३, ७–६ (१०–५) को सेटमा जित हासिल गरेकी हुन् ।

मेलबर्नमा ओसाकाको उपाधि रक्षा यात्रामा यो निराशाजनक अन्त्य थियो । सेप्टेम्बरमा युएस ओपनको तेस्रो चरणबाटै बाहिरिएपछि उनले खेलबाट केही समय विश्रामको निर्णय गरेकी थिइन् ।

‘म यति खुसी छु कि केही बोल्न सकिरहेकी छैन,’ २० वर्षीय अमान्डाले भनिन् । अस्ट्रेलियाकी बार्टीले इटालीकी ३० औं वरीयताकी क्यामिला जियोर्जीमाथि ६–२, ६–३ को सेटमा जित निकाल्दै घरेलु कोर्टमा करिअरको पहिलो ग्रान्डस्लाम जित्ने लक्ष्यको एक कदम अगाडि बढेकी छन् ।

ओसाका लामो विश्रामपछि ग्रान्ड स्लाममा फर्किएकी हुन् । सेप्टेम्बरमा युएस ओपनको तेस्रो चरणबाटै बाहिरिएपछि उनी आफैंले डिप्रेसनबाट ग्रसित रहेको खुलासा गरेकी थिइन् । नयाँ वर्षमा नयाँ योजनासहित अस्ट्रेलियन ओपनको उपाधि रक्षा गर्ने अभियान सुरु गरेकी ओसाकाले हारको बाबजुद आफूलाई सम्हाल्ने प्रयास गरिन् ।

यो प्रतियोगितामा १३ औं वरीयताप्राप्त ओसाकाले भनिन्, ‘खेलमा हरेक क्षण मैले संघर्ष गरें । यो हारबाट दुःखी छैन । तपाईंलाई पनि थाहा होला म भगवान होइन । म हरेक खेल जित्न सक्दिनँ,’ उनले भनिन् ।

दुईपल्टकी विजेता भिक्टोरिया अजारेन्का पनि चौथो चरणमा पुगेकी छन् । २४ औं वरीयताप्राप्त बेलारुसकी उनले १५ औं वरीयताकी एलिना भिटोलिनालाई ६–०, ६–२ ले हराइन् ।

कीर्तिमानी २१ औं ग्राण्डस्लाम जित्ने योजनामा रहेका स्पेनिस राफेल नडाल रुसका कारेन खाचानोभलाई पराजित गरी चौथो चरणमा प्रवेश गरेका छन् । नोभाक जोकोभिच र रोजर फेडेरर यो प्रतियोगितामा सहभागी नहुनुको फाइदा पनि नडाललाई छ । सन् २००९ को विजेता तथा पाँचपल्टका फाइनलिस्ट नडालले २८ औं वरीयताका खाचानोभमाथि ६–३, ६–२, ३–६, ६–१ को सेटमा हराए ।

तेस्रो वरीयताका जर्मन स्टार अलेक्जेन्डर जेरेभ र इटालीका सातौं वरीयताका माट्टेओ बेरेट्टिनी पनि आफ्नो खेल जितेर चौथो चरणमा पुगेका छन् । बेरेट्टिनीले स्पेनिस खेलाडी कार्लोस अल्काराजमाथि ५ सेटको सानदार जित हासिल गरे । प्रतियोगिताकै कान्छा खेलाडीका रूपमा १८ वर्षीय कार्लोसले दुई सेट पछि परेको स्थितिबाट पुनरागमन गरी खेल पाँचौं सेटसम्म पुर्‍याएका थिए । बेरेट्टिनीले ६–२, ७–६(७–३), ४–६, २–६ र ७–६ (१०–५) को सेटमा जित निकालेका हुन् ।

टोकियो ओलम्पिकका स्वर्ण विजेता जेरेभले भने क्वालिफायर माल्दोभाका राडु अल्बोर्टलाई ६–३, ६–४, ६–४ को सेटमा पराजित गरे ।

प्रकाशित : माघ ७, २०७८ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?