कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
ट्वान्टी–२० विश्वकप ग्लोबल क्वालिफायर

नेपालको परिवर्तित टिम

शरद, प्रदीप र जितेन्द्रको राष्ट्रिय टोलीमा पुनरागमन

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले आसन्न ट्वान्टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि अघिकांश युवा खेलाडी समेट्दै राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक पुबुदु दासानायकेको सिफारिसमा क्यानले बिहीबार १६ सदस्यीय टोली सार्वजनिक चयन गर्‍यो ।

नेपालको परिवर्तित टिम

पहिलोपल्ट सन्दीप लामिछानेको कप्तानीमा नेपालले प्रतियोगिता खेल्न लागेको छ । टिमका सिनियर खेलाडी विनोद भण्डारी, सोमपाल कामी, सुशन भारी, रोहितकुमार पौडेल, विक्रम सोबलाई टिमबाहिर राखिएको छ । यीमध्ये सोमपाल चोटग्रस्त छन् । बाँकी खेलाडी प्रदर्शनका आधारमा टिमबाहिर परेका हुन् ।

भेट्रान क्रिकेटर शरद भेषावकर, प्रदीप ऐरी र जितेन्द्र मुखियाले टिममा लामो समयपछि पुनरागमन गरेका छन् । शरद र प्रदीप सन् २०१९ मा सिंगापुरमा आयोजित ट्वान्टी–२० विश्वकप एसिया छनोटयता टिममा स्थान बनाउन असफल थिए ।

सन् २०१४ मा नेपालले विश्वकप खेल्दा प्रभावशाली तीव्र गतिका बलर जितेन्द्रले ७ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । उनले सन् २०१५ मा आयरल्यान्डमा भएको विश्वकप ग्लोबल क्वालिफायरमा पछिल्लोपल्ट नेपालका लागि खेलेका थिए ।

नेपाल ग्लोबल क्वालिफायरको समूह ‘ए’ मा छ । उक्त समूहलाई पनि दुई समूहमा विभाजन गरी प्रतियोगिता गरिनेछ । समूह २ मा नेपालसहित घरेलु टोली ओमान, क्यानडा र फिलिपिन्स छन् । समूह १ मा जर्मनी, आयरल्यान्ड, बहराइन र यूएई छन् । प्रतियोगिता फागुन ३ देखि १२ सम्म हुनेछ ।

नेपालले फागुन ६ मा आफ्नो पहिलो खेल ओमानसँग खेल्नेछ । त्यसपछि ७ गते फिलिपिन्स र ९ गते क्यानडासँग खेल्नेछ । समूहका शीर्ष दुई स्थानमा रहने टोलीले सेमिफाइनल खेल्नेछ । विश्वकप क्वालिफायरको समूह ‘ए’ बाट दुई टोलीले अक्टोबरमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन् ।

नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजित ट्वान्टी–२० विश्वकप खेलेको थियो । त्यसयता छनोट चरण पार गर्न सकेको छैन । अघिल्ला संस्करणमा एसियाली छनोट चरण खेलेको नेपालले यसपल्ट सिधै ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो ।

नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, जितेन्द्र मुखिया, प्रदीप ऐरी, आरिफ शेख, करण केसी, अविनाश बोहरा, शाहब आलम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव र लोकेश बम ।

लोकेश र विवेक पहिलोपल्ट

कैलालीका लोकेश बम र सप्तरीका विवेक यादवले पहिलोपल्ट राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाएका छन् । विवेक यसअघि घोषित ३० सदस्यीय प्रारम्भिक सूचीमा परेका थिए । लोकेश भने सिधै राष्ट्रिय टोलीमा बोलाइएका हुन् ।

बुधबार सम्पन्न प्रधानमन्त्री कपमा एपीएफको उपाधि यात्रामा सानदार प्रदर्शन गरेका लोकेश त्यही आधारमा राष्ट्रिय टोलीमा परेका हुन् । मध्यक्रमका ब्याटर लोकेशले प्रतियोगितामा दुई अर्धशतक (वाग्मती प्रदेश र त्रिभुवन आर्मीविरुद्ध) प्रहार गरेका थिए ।

सेमिफाइनलमा १८ बलमा ६६ रन बनाएका लोकेशले १४ बलमै अर्धशतक पूरा गरी घरेलु ट्वान्टी–२० मा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमानसमेत बनाए । फाइनलमा बनाएको १५ बलमा २७ रन पनि एपीएफको जितमा महत्त्वपूर्ण रह्यो ।

प्रदेश २ बाट प्रधानमन्त्री कप खेलेका विवेक र लोकेश तीन वर्षअघि एकैपल्ट यू–१९ राष्ट्रिय टोलीमा परेका हुन् । लोकेशले दुई वर्षअघि पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्सबाट उत्कृष्ट प्रदर्शन गरी मोस्ट भ्यालुएबल प्लेयर चुनिएका थिए । प्रतियोगिताको लिग चरणमा चितवन राइनोजविरुद्ध ३८ बलमा ६२ रनको इनिङ्स स्मरणीय मानिन्छ ।

सप्तरी विष्णुपुरका ब्याटिङ अलराउन्डर विवेकले भने प्रदेश २ का लागि प्रधानमन्त्री कप खेलेका थिए । मध्यक्रममा फिनिसरको भूमिकामा राम्रो प्रदर्शन गर्न सक्ने उनलाई आत्मविश्वासी प्रदर्शन गर्नसक्ने खेलाडीमा चिनिन्छ । गत वर्ष प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीयमा दुई अर्धशतकसहित उत्कृष्ट प्रदर्शन गरेपछि कतारविरुद्धको शृंखलाका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए । त्यतिबेला उनले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

प्रकाशित : माघ ७, २०७८ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?