कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेदभेदेभ तेस्रो चरणमा

एएफपी

मेलबर्न — रुसी खेलाडी डानियल मेदभेदेभले निक किर्गियोसलाई सजिलै हराएर बिहीबार अस्ट्रेलियन ओपनको तेस्रो चरण सुरक्षित गरेका छन् । तर स्पेनकी गार्बिन मुगुरुजा र बेलायतकी इमा राडुकानु भने त्यतिकै भाग्यमानी रहेनन् । उनीहरू प्रतियोगिताबाट बाहिरिने ठूला नाम रहे । यस्तै चाँडै घर फर्किन बाध्य अर्को ठूलो खेलाडी एन्डी मरे रहे । पूर्व विश्व नम्बर एक खेलाडी मरे जापानका क्वालिफायर तारो डानियलविरुद्ध सोझो सेटमा पराजित भए । प्रतियोगिता आफै भने आरामले चौथो दिन प्रवेश गर्न सफल रह्यो ।

मेदभेदेभ तेस्रो चरणमा

दोस्रो नम्बरका मेदभेदेभ प्रतियोगितामा कायम रहेका उच्च वरीयताका खेलाडी हुन् । विश्व नम्बर एक तथा डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच प्रतियोगिता खेल्नबाट वञ्चित भएपछि रुसी खेलाडी नै उपाधिको बलिया दाबेदार देखिएका छन् । तर २५ वर्षीय उनले दोस्रो चरणमै प्रतिभाशाली तथा घरेलु खेलाडी किर्गियोसको सामना गर्नुपरेको थियो । यसअघि २६ वर्षीय अस्ट्रेलियाली किर्गियोसले यूएस ओपन विजेता र गत वर्ष मेलबर्नका उपविजेता मेदभेदेभलाई दुईपल्ट हराएका थिए ।

रड लेभर कोर्टमा किर्गियोसले फेरि एकपल्ट मेदभेदेभविरुद्ध बलियो चुनौती पेस गर्ने प्रयास गरे, तर यो पर्याप्त रहेन । यस्तोमा निकै लेखाजोखा गरेर खेलेका मेदभेदेभले ७–६, ६–४, ४–६, ६–२ ले नतिजा निकाले । दर्शकले आफूप्रति देखाएको व्यवहारपछि मेदभेदेभ खुसी रहेनन् । उनले भने, ‘म यो खेल जित्न आएको थिएँ, जितें पनि । यसमा म खुसी छु । तर दर्शकको व्यवहार मेरो हातमा थिएन । दर्शकको चर्को विरोधबीच खेल्न सजिलो भने हुन्न ।’

पहिलो ठूलो उपाधि जित्ने प्रयासमा रहेको ग्रिसका चौथो वरीयताका स्टेफानोस सिसिपासले पूर्व जुनियर विश्व नम्बर एक अर्जेन्टिनी खेलाडी सेवास्टिन बेजलाई ७–६, ६–७, ६–३, ६–४ ले पराजित गरे । जितपछि उनले भने, ‘यो खेल निकै गाह्रो भयो, मैले जितका लागि कडा संघर्ष गर्नुपर्‍यो । अहिले म तेस्रो चरण पुगेको छु र यसमा म खुसी नै छु ।’

यस्तै सौभाग्य बेलायती मरेले प्राप्त गरेनन् । तीनपल्टको ग्रान्ड स्लाम उपाधि विजेता उनी १ सय २० औं वरीयताका डानियलसँग ६–४, ६–४, ६–४ ले पराजित भए ।

प्रतियोगिताको महिलातर्फ स्तब्धपूर्ण नतिजाको शृंखला नै रह्यो । तेस्रो वरीयताकी मुगुरुजा, यूएस ओपन च्याम्पियन राडुकानु र छैटौं वरीयताका एनेट कोन्टाभेट पराजित रहे । मेलबर्नमा डेब्यु गरिरहेकी १७ औं वरीयताकी १९ वर्षीया राडुकानु मोन्टेनेग्रोकी डान्का कोभिनिचविरुद्ध ६–४, ४–६, ६–३ ले पराजित रहिन् । डब्लूटीए फाइनल विजेता मुगुरुजाले भने एलिज कोर्नेटविरुद्धको खेल ६–३, ६–३ ले गुमाइन् ।

जितपछि अनुभवी कोर्नेटले प्रतिक्रिया दिइन्, ‘यो टुरमा म डाइनोसर जस्तै भइसकेकी थिएँ ।’ शनिबार मात्रै उनले आफ्नो ३२ औं जन्मदिन मनाएकी थिइन् । उपाधिको एक दाबेदार मानिएका कोन्टाभेटले २७ अनावश्यक गल्ती गरिन् र त्यसको मूल्य चुकाउँदै डेनिस किशोरी क्लारा टाउसनविरुद्धको खेलमा ६–२, ६–४ को हार आत्मसात् गरिन् । दोस्रो वरीयताकी आर्येन सवालेन्काले एक अर्को संघर्षपूर्ण खेल खेल्दै चीनकी वाङ सिन्युलाई १–६, ६–४, ६–२ ले हराइन् ।

प्रकाशित : माघ ७, २०७८ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?