कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

आहा–रारामा एपीएफको उडान

दीपक परियार

पोखरा — उद्घाटन खेलमै एपीएफ क्लबसँग आयोजक सहारा क्लब फेरि पराजित हुन पुगेको छ । बिहीबार २० औं आहा–रारा गोल्डकप फुटबलको उद्घाटनमा सहारा २–० ले स्तब्ध भयो ।

आहा–रारामा एपीएफको उडान

दर्शकविहीन पोखरा रंगशालामा एपीएफसँग यसपालि सहारालाई दुईपल्टको हारमा बदला लिने मौका थियो । १७ र १९ औं संस्करणको उद्घाटन खेलमै आयोजकलाई हराएको एपीएफले यो सिजन पनि सहारालाई हराउन सफल भयो । एपीएफको उद्घाटन खेलमा सहाराविरुद्ध ह्याट्रिक जित बनेको छ । एपीएफका आवास लामिछाने र प्रदीप लामाले गोल गरेका थिए । स्पेनमा रहेर व्यावसायिक फुटबल खेलिसकेका आवासले १४ औं मिनेटमा गोल गर्दै विभागीय टोलीलाई अग्रता दिलाए । युरोपियन फुटबलको अनुभव बोकेका उनले प्रतियोगितामा डेब्यु गरे । एपीएफका अर्मान्ड बिडाउनको पासमा आवास दुई डिफेन्डर बिट गर्दै वान टु वान मुभमा गोल गर्न सफल भए ।

अजयी मार्टिन्स, पिटर सेगुनसहित सातदोबाटो युथका ५ खेलाडी लिएर प्रतियोगितामा उत्रिएको आयोजक टोलीमा भने समन्वय अभाव प्रस्ट खट्कियो । त्यसको फाइदा उठाउँदै एपीएफले ६० औं मिनेटमा अर्को गोल थप्यो । गोल प्रदीपले गरेका थिए । मिडफिल्टर रवि थिङको क्रसलाई प्रदीपले नियन्त्रणमा लिँदै दुई डिफेन्डरबीचबाट पहिलो बार च्याप्दै गोल गरेका थिए । त्यतिबेला सहाराका गोलरक्षक अभिषेक बरालले कुनै प्रतिक्रिया जनाउन सकेनन् । सहाराका केही खेलाडीको प्रयासलाई एपीएफका गोलरक्षक कुरियामा युयाले बिफल बनाए । उनी जापानका हुन् । उनी आबद्ध भएदेखि एपीएफले हारेको छैन । ‘ए’ डिभिजन लिगको तालिकामा नवौं नम्बरमा रहेको एपीएफ तीन विदेशी खेलाडीसहित मैदान उत्रिएको हो ।

त्यसो त केही राम्रा अवसर सदुपयोग गर्नबाट एपीएफ चुक्यो । खेलको २३ औं मिनेटमा अर्मान्डको पासमा बिक्की तामाङको पेनाल्टी बक्सभित्रको प्रहार आकासिएको थियो । खेलको ५३ औं मिनेटमा कप्तान नवीन लामाको फ्रिकिकमा अर्मान्डको हेडर क्रसबारमा लाग्दै बाहिरियो । ६३ औं मिनेटमा अर्मान्डको प्रहार पोलमा लाग्दै फर्किएपछि एपीएफले अग्रता बढाउन चुक्यो । सहाराका मुकुन्द निउरेले पहिलो हाफको इन्ज्युरी समयमा पाएको अवसर सदुपयोग गर्न सकेनन् । कप्तान मानबहादुर तामाङको फ्रिकिक एपीएफका गोलरक्षक कुरियामाले नियन्त्रणमा लिन नसक्दा निउरेको प्रहार डिफेन्डर एडामा डोम्बियाले हेडबाट क्लियर गरिदिए । खेलमा नवीन लामा म्यान अफ द म्याच बने ।

सहाराका प्रशिक्षक प्रल्हाद हिराचनले आफ्ना खेलाडीबीच समन्वयको अभाव हुँदा सोचेजस्तो नभएको स्वीकारे । ‘ए’ डिभिजन लिग जारी रहँदा अर्को टोलीबाट सहारामा आउनुपर्ने खेलाडी समयमा आउन नसकेकाले अभ्यासको कमी खेलमा देखिएको उनले सुनाए । ‘हाम्रो टिम सेटअप हुन गाह्रो भयो,’ उनले भने, ‘त्यसले गर्दा एट्याकिङ लाइन पनि बलियो बन्न सकेन ।’ एपीएफका प्रशिक्षक कुमार थापाले विपक्षी टोलीमा धेरैतिरका खेलाडी मिसिएकाले त्यसको फाइदा आफूले लिएको बताए । ‘सहारामा फरक–फरक टिमबाट खेल्ने खेलाडी हुँदा हामीलाई सजिलो भयो,’ उनले भने, ‘सोचेभन्दा गोल कम भयो । गोलअन्तर बढाउन सकेको भए अर्को खेलमा आत्मविश्वास बढ्थ्यो ।’

घरेलु लिग अहिले विश्रामको अवस्थामा रहेकोमा ‘सेप’मा बसिरहन मोफसलको प्रतियोगिताले सहयोग पुर्‍याएको उनको भनाइ छ । अब एपीएफले क्वाटरफाइनलमा अमेरिकाको भुटानिज युथ स्पोर्ट्स क्लब (बीवाईएससी) मिनेसोटासँग शनिबार प्रतिस्पर्धा गर्नेछ । शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आयोजक क्लबले कोरोना महामारीलाई मध्यनजर राख्दै दर्शकका लागि टिकट बिक्री गरेको छैन । प्रायोजक, अफिसियल र सञ्चारकर्मीलाई मात्रै राखेर खेल खेलाइएको छ । क्वाटरफाइनल सुरु हुँदासम्म कोरोनाको अवस्था हेरेर टिकटबारे क्लबले निर्णय गर्नेछ ।

अञ्जनलाई सर्वोत्कृष्ट खेलाडी सम्मान

सहारा क्लबले अञ्जन विष्टलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी–०७८ बाट सम्मानित गरेको छ । राष्ट्रिय टोलीका फरवार्ड तथा मनाङ मर्स्याङ्दी क्लबका कप्तान अञ्जनलाई ३५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।


बिहीबार आहा–रारा गोल्डकपको उद्घाटन समारोहमा उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कार हस्तान्तरण गरे । अञ्जन ८ वर्षदेखि राष्ट्रिय टोलीमा आबद्ध छन् । २०७२ मा नेपाल साफ यू–१९ च्याम्पियन बन्दा उनी सदस्य थिए । उक्त वर्ष राष्ट्रिय टोलीले बंगबन्धु गोल्डकप र यू–२३ टोलीले १२ औं सागमा स्वर्ण जित्दा उनले नेपाली टोलीबाट खेलेका थिए । राष्ट्रिय टोलीबाट उनको डेब्यु खेल भने २०१४ मा फिलिपिन्सविरुद्ध थियो । गत वर्ष थ्री नेसन्स कप जित्दा पनि उनी टिममा थिए । २३ वर्षीय अञ्जनले राष्ट्रिय टोलीका लागि ७ गोल गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गरेकाले उनलाई सम्मानित गरिएको सहारा क्लबका अध्यक्ष हरिराम गुरूङले बताए । क्लबले हरेक वर्ष सर्वोत्कृष्ट फुटबलरलाई नगदसहित सम्मान गर्दै आइरहेको छ ।

उद्घाटन समारोहमै क्लबले कान्तिपुरकर्मी हिमेशरत्न वज्राचार्यलाई ‘विशेष सम्मान’ प्रदान गरेको छ । आहा–रारा गोल्डकपको दुई दशक यात्राको फेहरिस्त समेटिएको पुस्तक ‘सहारा’को लेखनमा योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको हो । पुस्तकमा २०५८ देखि २०७७ सम्म भएका आहा–रारा गोल्डकपको नालीबेली समेटिएको छ ।

प्रकाशित : माघ ७, २०७८ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?