राष्ट्रिय महिला हक्की प्रतियोगिता : आर्मी र गण्डकी विजयी

शंकर आचार्य

पर्सा — वीरगन्जमा जारी चौंथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेलमा नेपाल आर्मीले प्रदेश १ विरुद्ध ७–० गोलको फराकिलो अन्तरले जित हात पारेको छ । खेलमा आर्मीकी कमला चन्द एक्लैले ४ गोल गरेकी थिइन् । निलम पाण्डेले २ र सीतामाया बलले १ गोल गरेका थिए । 

राष्ट्रिय महिला हक्की प्रतियोगिता : आर्मी र गण्डकी विजयी

चन्दले खेलको सातौं मिनेटमा पहिलो गोल गरेर खाता खोलेकी थिइन् । त्यसपछि १० र १८ औं मिनेटमा पाण्डेले लगातार दुई गोल गरिन् । २८ औं र ४७ औं मिनेटमा फेरि चन्दले लगातार २ गोल गरिन् । ५६ औं मिनेटमा बलले गोल गरेको २ मिनेट नबित्दै चन्दले अर्को गोल गरेकी थिइन् । आर्मीकी अन्जना चन्द ठकुरी ‘उमन अफ द म्याच’ घोषित भइन् । जितसँगै आर्मी सेमीफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई २–० ले पराजित गरेको छ । गण्डकीका लागि खेलको सातौं मिनेटमा कमलादेवी घर्ती पुनले र नवौं मिनेटमा नानु गुरुङले गोल गरेका थिए । गण्डकीकी सविना पुन राना ‘उमन अफ द म्याच’ घोषित भइन् । जितसँगै गण्डकी पनि सेमीफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत बिहीबार लिग चरणका सम्पूर्ण खेल सकिएको छ ।

शुक्रबार पहिलो सेमीफाइनल खेल नेपाल आर्मी र गण्डकी प्रदेश तथा दोस्रो सेमीफाइनल खेल सुदूरपश्चिम र मधेस प्रदेश टीमबीच हुने सहआयोजक सानो पाइला संस्थाका कार्यक्रम प्रमुख रौनकराज सर्राफले जानकारी दिए ।

प्रकाशित : माघ ६, २०७८ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?