ट्वान्टी-२० विश्वकप छनोटका लागि १६ खेलाडीको नाम सार्वजनिक- खेलकुद - कान्तिपुर समाचार

ट्वान्टी-२० विश्वकप छनोटका लागि १६ खेलाडीको नाम सार्वजनिक

विवेक यादव र लोकेश बम पहिलो पल्ट राष्ट्रिय टोलीमा पर्दा सोमपाल कामी, विनोद भण्डारी र रोहित पौडेल भने अटाएनन्
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान) ले आईसीसी ट्वान्टी-२० विश्वकप छनोटका लागि १६ खेलाडीको नाम सार्वजनिक गरेको छ । ओमानमा आगामी फेब्रुअरी १५ देखि आयोजना हुने प्रतियोगिताका लागि क्यानले १६ जनाको अन्तिम सूची सार्वजनिक गरेको हो ।

यसअघि क्यानले बन्द प्रशिक्षणका लागि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो । विवेक यादव र लोकेश बम पहिलो पल्ट राष्ट्रिय टोलीमा समावेश गरिएको छ । यस पटक सोमपाल कामी, विनोद भण्डारी, रोहित पौडेल, सुशन भारी र विक्रम सोब भने टिममा अटाएनन् । त्यस्तै प्रदीप ऐरी झन्डै ३ वर्षपछि टिममा फर्किएका छन् ।

नेपालले विश्वकप छनोटको समूह चरणमा ओमान, क्यानडा र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ । यस पटक नेपालले नयाँ कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस्पर्धा गर्नेछ । सन्दीप बिग बास लिग खेल्ने क्रममा अस्ट्रेलियामा रहेका छन् । उनी केही दिनमै नेपाल फर्किने बताइएको छ । उनले बुधबार जारी सिजनमा आफ्नो खेल टुंग्याएका छन् ।

होबर्ट हरिकेन्समा आबद्ध उनले जारी सिजनमा बुधबार मेलबर्न स्टारसँग अन्तिम खेल खेलेका हुन् । मेलबर्नले १०६ रनले जितेको उक्त खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ५२ रन खर्चिएका थिए ।

यस्तो छ नेपाली टिम

  • सन्दीप लामिछाने -कप्तान
  • कुशल भुर्तेल
  • आसिफ शेख
  • दीपेन्द्रसिंह ऐरी
  • ज्ञानेन्द्र मल्ल
  • शरद भेषावकर
  • आरिफ शेख
  • करण केसी
  • जितेन्द्र मुखिया
  • अविनाश बोहरा
  • शहाब आलम
  • कुशल मल्ल
  • कमलसिंह ऐरी
  • विवेक यादव
  • प्रदीप ऐरी
  • लोकेश बम

प्रकाशित : माघ ६, २०७८ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्

धनलक्ष्मी गुफाले लोभ्याउँदै पर्यटक

अनिश तिवारी

सिन्धुपाल्चोक — वरीपरी फराकिलो जंगल, बीचमा चिटिक्कको मन्दिर, अनि त्यसको तल्लो भागमा लोभलाग्दो गुफा । कलात्मक शैलीमा कुदिएका ढोका, झ्याल, अनेकन आकृतिका प्वाल । कुनै ढुंगेयुगको कलात्मक दरबारझै लाग्छ बाह्रबिसे नगरपालिका–७ खोलेखर्कस्थित ओमपार्कको धनलक्ष्मी गुफा ।

बाह्रबिसे–७ का अध्यक्ष मीनबहादुर श्रेष्ठका अनुसार करिब एकहजार वर्षअघि तामाङ समुदायले पत्ता लगाएको गुफामा अनेक दैविक चमत्कार हुने विश्वास छ । गौरीशंकर, जुगल, गणेशसहित दर्जनौ तिब्बती हिमशृंखला देख्न सकिने धनलक्ष्मी गुफामा सेल्फी र टिकटक खिच्नेको लर्को लागेपछि स्थानीय दंग छन् । ‘यो कुनै प्राचीन दरबारझै लाग्छ, यसबारे धार्मिक विश्वास त छ नै । अन्य खोज अनुसन्धान हुन जरुरी छ,’ श्रेष्ठले भने ।

बाह्रबिसे बजारबाट करिब ३० किलोमिटरको सडक जोडिएको खोलेखर्कको जंगली क्षेत्रको गुफाबारे अनेक किस्सा छन् । मन्दिरक्षेत्रको कुनै वस्तु आफूसँग लैजान नमिल्ने, लगिएमा अनिष्ट हुने, मागेको कुरा पुरा हुने, त्यहाँ ध्यान गर्दा भव्य दरबारको दृश्य आउनेजस्ता धेरै जनश्रृति गुफाबारे सुन्न पाइन्छ । ओम पार्क नेपालका अगुवा बिना श्रेष्ठका अनुसार १३ करोडको लागतमा बन्न लागेको ओमपार्क वरिपरिको देवीदेवताको संरचना धमाधम ठड्याइँदै छ ।

‘३१ फिट अग्लो ओम पार्कको तल्लो संरचनाको काम धमाधम भइरहेको छ, यसलाई चाँडै अन्तिम रूप दिनेछौं,’ नेपालले भनिन् । यहाँ बनाइँदै गरेको संरचनाले पनि घुम्न आउनेलाई आकर्षित गरेको छ । ‘यहाँको सुन्दरता देखेर एकदमै दंग पर्‍यौं, ओमपार्क बनेपछि यहाँको रंग अर्कै हुन्छ,’ काठमाडौंको टोखाबाट घुम्न आएका व्यवसायी रामकुमार थापाले भने ।

प्रकाशित : माघ ६, २०७८ १०:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×