

पर्सा — वीरगन्जमा जारी चौथों सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताअन्तर्गत दोस्रो दिनको पहिलो खेलमा मधेस प्रदेश टिम विजयी भएको छ । उसले प्रदेश नम्बर १ लाई ० को विरुद्ध २ गोलले पराजित गरेको हो ।



मधेस प्रदेशको पकडमा रहेको खेलको २८ औं मिनेटमा जर्सी नम्बर ११ की आकृति राईले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएकी थिइन् । त्यसको २ मिनेटलगत्तै मधेस प्रदेश टिमकी जर्सी नम्बर ८ की गिता कुमारीले पेनाल्टी कर्नरबाट अर्को गोल थपेर जित सुनिश्चित गरेकी थिइन् । गिता ‘उमन अफ द म्याच’ समेत घोषित भइन् ।
बुधबार नै खेलिएको गण्डकी र सुदूर पश्चिम प्रदेशबीचको दोस्रो खेल भने गोलरहित बराबरीमा टुंगियो । खेल अवधिभर दुबै टिमका खेलाडीले कुनै गोल गर्न सकेनन् ।
नेपाल हक्की संघको आयोजना तथा सानो पाइला संस्थाको सहआयोजनामा वीरगन्जको आदर्शनगर रंगशालामा प्रतियोगिता मंगलबारदेखि सुरु भएको हो । प्रतियोगितामा सात वटै प्रदेश र नेपाली सेनाको विभागीय टिम गरी ८ टिम सहभागी छन् ।
बिहीबारसम्म लिगचरणका खेल र शुक्रबारदेखि नकआउट चरणका खेल सुरु हुने सहआयोजक संस्था सानो पाइलाका कार्यक्रम प्रमुख रौनकराज सर्राफले जानकारी दिए ।
प्रकाशित : माघ ५, २०७८ १७:१९