१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४
प्रधानमन्त्री कप क्रिकेट

पुलिस र एपीएफ भिड्ने

काठमाडौँ — विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधिका लागि बुधबार प्रतिस्पर्धा गर्दैछन् ।

पुलिस र एपीएफ भिड्ने

मंगलबार सेमिफाइनलमा पुलिसले वाग्मती प्रदेशलाई ५० रन र एपीएफले अर्को विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गरे ।

ओपनरद्वय प्रदीप ऐरी र आसिफ शेखको १ सय ५० रनको साझेदारी तथा लोकेश बमको विष्फोटक अर्धशतक मद्दतमा एपीएफले आर्मीलाई ४७ रनले हरायो ।

दिनको दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको एपीएफले लोकेशको सानदार फिनिसिङपछि २ विकेट गुमाई २ सय ३० रनको ठूलो योगफल खडा गर्‍यो । १८ बलमा ६६ रनको अविजित इनिङ्स खेल्नेक्रममा उनले १४ बलमै अर्धशतक पार गरे । घरेलु क्रिकेटको ट्वान्टी–२० फर्म्याटमा बनेको यो सबैभन्दा तीव्र अर्धशतक हो । लोकेशले ९ छक्का र २ चौका प्रहार गरेका थिए ।

त्यसअघि ओपनरद्वय प्रदीप र आसिफले पहिलो विकेटका लागि १ सय ५० रनको साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए । आसिफ ४३ बलमा १० चौका र ५ छक्कासहित ८४ रन बनाएर आउट हुँदा प्रदीप ५७ रनमा अविजित रहे । प्रदीपले ५३ बल खेल्दा ७ चौका र १ छक्का प्रहार गरे ।

आसिफ र प्रदीप जारी प्रतियोगितामा उत्कृष्ट लयमा छन् । यी दुई प्रतियोगितामा सर्वाधिक रन बनाउने सूचीको शीर्ष दुई स्थानमा छन् । पाँच इनिङ्समा आसिफले २ अर्धशतकसहित २ सय १८ रन बनाएका छन् । प्रदीपले पनि २ अर्धशतकसहित २ सय ६ रन जोडेका छन् । २ सय रनको आँकडा पार गर्ने उनीहरूमात्र छन् ।

जवाफमा २ सय ३१ रनको लक्ष्य पाएको आर्मीले ९ विकेट गुमाई १ सय ८३ रनमात्र बनाउन सक्यो । ओपनर भीम सार्की (३५) र हरिबहादुर चौहान (२२) ले ५५ रनको सुरुआती साझेदारी गरे पनि मध्यक्रम सम्हालिन नसक्दा लक्ष्य आर्मी भेट्टाउन असफल रह्यो । ठूलो लक्ष्य पछ्याउने क्रममा दबाबमा देखिएको आर्मीका तुल थापा (२), कुशल मल्ल (७) र कप्तान विनोद भण्डारी (१) सस्तैमा आउट भए ।

त्यसपछि राजेश पुलामी र सुमित श्रेष्ठले छैटौं विकेटमा ५७ रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरे पनि लामो इनिङ्स खेल्न सकेनन् । राजेशले २१ बलमा ४ छक्कासहित ३८ र सुमितले १८ बलमा २४ रन बनाए । विक्रम सोबले १४ रन जोड्दा शाहब आलम २१ रनमा अविजित रहे ।

ब्याटिङतर्फ ९ रनमात्र बनाएर आउट भएका एपीएफ कप्तान शरद भेषावकरले ३ विकेट लिए । उनले ४ ओभरमा १६ रन खर्चिए । भुवन कार्की र अविनाश बोहोराले २–२, किशोर महतो र दीपक बोहराले १–१ विकेट लिए ।

अर्को खेलमा ब्याटमा पवन सर्राफ र बलमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दा पुलिस क्लब वाग्मती प्रदेशलाई हराउन सफल भयो । कीर्तिपुर मैदानमा टस जितेको पुलिसले ५ विकेट क्षतिमा १ सय ५५ रनको योगफल खडा गर्नेक्रममा ओपनर पवनले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५४ बलमा ३ छक्का र ३ चौका प्रहार गरे । अनिल साहले २५ र आरिफ शेखले १२ रन जोडे । दिलीप नाथले १६ बलमा २ छक्का र २ चौकासहित अविजित ३१ रन बनाए । पुलिसले अतिरिक्त १५ रन पायो । वाग्मतीका नन्दन यादव र रिजन ढकालले २–२, प्रतिस जिसीले १ विकेट लिए ।

पुलिसले नियमित खेलाडी कुशल भुर्तेल र करण केसीविना खेलेको थियो । यी दुई खेलाडी ‘स्वास्थ्यका कारण’ उपस्थित हुन सकेनन् । यद्यपि पुलिसले सन्तुलित प्रदर्शन गरेको थियो ।

जवाफमा वाग्मतीलाई १ सय ५ रनमै रोक्नका लागि पुलिसका दीपेन्द्रले सानदार बलिङ गरे । ब्याटबाट रन बनाउन नसकेका उनले ४ ओभरमा १० रन खर्चेर वाग्मतीका महत्त्वपूर्ण ५ विकेट लिए । प्लेयर अफ द म्याच दीपेन्द्रले वाग्मतीका शीर्षक्रमका ब्याटर कप्तान ज्ञानेन्द्र मल्ल, विपिन आचार्य र सुमन सुनवारलाई आउट गरे । शीर्षक्रममा आदिल खानले २७ र कप्तान ज्ञानेन्द्रले २३ रन बनाउनुबाहेक अन्य सबै ब्याटर सस्तैमा आउट भए ।

रिजन ढकाल र रामनरेश गिरीले ३६ रनको अविजित साझेदारी गरेपछि वाग्मतीले एक सय रनको आँकडा पार गरेको हो । रिजन १५ र रामनरेशले २२ रन जोडे । बलिङतर्फ दीपेन्द्रबाहेक सागर ढकालले २ र आरिफ शेखले १ विकेट लिए ।

यो पाँच विकेटसँगै दीपेन्द्र सर्वाधिक विकेट लिने बलरको शीर्षस्थानमा पुगेका छन् । उनले ५ इनिङ्समा १५ ओभर बलिङ गर्दै ११ विकेट लिइसकेका छन् । समान ५ इनिङ्समा २० ओभर बलिङ गरेका एपीएफका अविनाश बोहराको पनि ११ विकेट नै छ ।

प्रकाशित : माघ ५, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?