अस्ट्रेलियन ओपनमा राडुकानुको डेब्यु

एएफपी

मेलबर्न — पूर्वविश्व नम्बर एक एन्डी मरेले मंगलबार अस्ट्रेलियन ओपन टेनिसमा निकै संघर्ष गर्दै जित निकालेका छन् । उपाधिका बलियो प्रत्याशी डानियल मेदभेदेभले भने दोस्रो चरणमा निक किर्गियोसको कडा चुनौती सामना गर्नुपर्ने भएको छ ।

अस्ट्रेलियन ओपनमा राडुकानुको डेब्यु

महिलातर्फ शीर्ष दसौं वरीयतामा रहेका स्पेनका गाब्रिन मुगुरुजा, पोल्यान्डका इगा स्वाटिक र इस्टोनियाका एनेट कोन्टाभेटले सहज निकालेका छन् । रोमानियाका सिमोन हालेप र बेलारुसकी आर्यन सवालेन्काले संघर्ष गर्दै जित आत्मसात् गरे ।

यूएस ओपन विजेता बेलायती किशोरी इमा राडुकानुले पनि अस्ट्रेलियन ओपनमा डेब्यु गरिन् । र, जित हात पारिन् । तर क्यानडेली १९ वर्षीया लेयलाह फर्नान्डेज भने पराजित पहिलो चरणमै पराजित रहिन् । उनलाई नै हराएर राडुकानुले यूएस ओपन जितेकी थिइन् । प्रतियोगितामा २३ औं वरीयताप्राप्त फर्नान्डेज अस्ट्रेलियाली वाइल्डकार्ड प्राप्त खेलाडी म्याडिसन इनगिल्ससँग ६–४, ६–२ ले पराजित रहिन् । प्रतियोगिताले दोस्रो दिन छुँदा आफ्नो स्वाभाविक बाटो लिएको छ ।

आइतबारमात्रै पुरुषतर्फका डिफेन्डिङ च्याम्पियन तथा नम्बर एक नोभाक जोकोभिचको प्रवेशाज्ञा रद्द भएयता चर्चा कोर्टमै केन्द्रित रह्यो । मरेले पनि त्यसको फाइदा उठाए । वाइल्ड कार्डप्राप्त गरेर खेलिरहेका ३४ वर्षीय मरेले आफू किन तीनपल्टको ग्रान्ड स्लाम विजेता रहेका थिए भनेर प्रमाणित गरे । उनले पाँच सेटको म्याराथन खेलमा २१ औं वरीयताप्राप्त निकोलोज बासिलाभिलीलाई ६–१, ३–६, ६–४, ६–७, ६–४ पराजित गरे ।

खेलपछि मरेले भने, ‘पाँच सेटको खेल जित्नुको रोमाञ्च अलग्गै छ । यो जित मेरो लागि निकै सुखद छ ।’ रुसी खेलाडी मेदभेदेभले भने आफ्नो जितका लागि संघर्ष गर्नुपरेन । दोस्रो वरीयताका मेदभेदेभले ९१ औं वरीयतामा रहेका हेनरी लाकसोननलाई ६–१, ६–४, ७–६ ले हराए । जोकोभिच र रोजर फेडेररको अनुपस्थितिमा २५ वर्षीय रुसी खेलाडी र स्पेनी अनुभवी खेलाडी राफेल नडाल उपाधिका लागि बलियो प्रत्याशी रहेका छन् ।

गत वर्षको अस्ट्रेलियन ओपन फाइनलमा मेदभेदेभ भने जोकोभिचकै हातबाट पराजित रहेका थिए । तर, उनले यूएस ओपनको फाइनलमा भने सर्बियाली खेलाडीलाई पन्छाएका थिए । यसपल्ट उनले उपाधिको यात्रा तय गर्न सबैभन्दा पहिले प्रतिभाशाली घरेलु खेलाडी किर्गियोसलाई दोस्रो चरणमा परास्त गर्नुपर्नेछ ।

महिलातर्फ विश्व नम्बर तीन स्पेनी खेलाडी मुगुरुजाले फ्रान्सेली क्लारा बुरेलाई ६–३, ६–४ ले पन्छाए । दुई वर्षअगाडि मुगुरुजाले मेलबर्नमा फाइनल खेलेकी थिइन् ।

पूर्व विश्व नम्बर एक हालेपले पोल्यान्डका माग्दालेना फ्रेचलाई ६–४, ६–१ लाई हराइन् । दोस्रो वरीयताकी सवलेन्काले आफ्नो उत्कृष्ट लय देखाउन असफल रहिन् । तर, उनको त्यो खेल पनि स्ट्रोम सान्डर्सलाई ५–७, ६–३, ६–२ ले हराउन पर्याप्त रह्यो ।

दिनको अन्तिम खेलमा राडुकानुले अमेरिकी प्रतिद्वन्द्वी स्लोनी स्टेफेन्समाथि ६–०, २–६, ६–१ को जित रचिन् । यो जितपछि बेलायती खेलाडीले पनि आफू उपाधि होडमा रहेको प्रमाणित गरिन् ।

प्रकाशित : माघ ४, २०७८ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?