कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रिन्स आफ्नै कलेजबाट सम्मानित

काठमाडौँ — ब्याडमिन्टन जुनियर विश्व वरीयताको शीर्षस्थानमा पुगेका नेपाली खेलाडी प्रिन्स दाहाललाई उनी अध्ययनरत पिनाकल कलेजले नगदसहित सम्मान गरेको छ । अघिल्लो साता जुनियर विश्व नम्बर एक बनेका १८ वर्षीय प्रिन्स पिनाकलमा ११ कक्षामा अध्ययनरत छन् ।

प्रिन्स आफ्नै कलेजबाट सम्मानित

पिनाकलले प्रिन्सलाई ४० हजार रुपैयाँसहित सम्मान गरेको हो । कलेजका प्रिन्सिपल ऋषि तिवारीले अन्तर्राष्ट्रिय रूपमा देशको गौरव प्रिन्सलाई शिक्षा क्षेत्रमा दीक्षित गर्ने जिम्मा कलेजको भएको बताए । उनले कलेजस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता गर्ने घोषणासमेत कार्यक्रममा गरेका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष रमेश सिलवाल, प्रिन्सपल ऋषि तिवारी, कलेजका प्लस टु संयोजक रविप्रसाद तिमिल्सिनालगायतले प्रिन्सलाई प्रोत्साहन पुरस्कारसहित सम्मानित गरेका हुन् ।

‘दार्चुलाजस्तो दुर्गम क्षेत्रमा जन्मिएर विश्वकै उत्कृष्ट हुनु चानेचुने होइन । हामीले खेलकुदको प्रशिक्षण दिन नसके पनि शिक्षाको प्रशिक्षण दिएर उत्कृष्ट खेलाडीलाई उच्च शिक्षा हासिल गर्ने माध्यम बन्ने प्रयास गरेका हौं,’ प्रिन्सिपल तिवारीले भने ।

पिनाकलले शिक्षा, होस्टेल सुविधा (आवश्यक परेमा), स्टेसनरी, कलेज पोसाकलगायत सबै सुविधा निःशुल्क उपलब्ध गराएको जानकारी दिएको छ ।

राखेप सदस्य–सचिव रहिसकेका हिसानका अध्यक्ष सिलवालले प्रिन्सलाई खेलकुदसँगै पढाइमा पनि केन्द्रित हुन सुझाए । ‘करिअरलाई अझै उचाइमा पुर्‍याउन शिक्षामा पनि उत्तिकै ध्यान दिनुपर्छ,’ सिलवालले भने ।

प्रकाशित : माघ ४, २०७८ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?