१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
एएफसी कप छनोट

मछिन्द्रको प्रतिद्वन्द्वी श्रीलंकन क्लब

काठमाडौँ — मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोटअन्तर्गत दक्षिण एसियाली प्लेअफको आफ्नो पहिलो खेल श्रीलंकाको ब्लुस्टारसँग खेल्ने भएको छ ।

मछिन्द्रको प्रतिद्वन्द्वी श्रीलंकन क्लब

एएफसीले सोमबार सार्वजनिक गरेको खेलतालिकामा ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको मछिन्द्रले ब्लुस्टारसँग खेल्ने निश्चित भएको हो । चैत २२ गते मा हुने खेल जितेको अवस्थामा छनोट प्लेअफको दोस्रो चरणमा मछिन्द्रले भारतीय टोली मोहन बगानसँग खेल्नुपर्नेछ । यो खेल चैत २९ मा हुनेछ ।

मछिन्द्रले पहिलोपल्ट एएफसीको आधिकारिक क्लब प्रतियोगिता खेल्न लागेको हो । ‘ए’ डिभिजन लिगको अघिल्लो संस्करण मछिन्द्रले नै जिते पनि एएफसी क्लब लाइसेन्स नभएका कारण दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबले उक्त अवसर पाएको थियो ।

यसपल्ट भने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी ‘ए’ डिभिजन लिगको सातौं चरणसम्म शीर्षस्थानमा रहने टोलीलाई एएफसी कप छनोट खेल्न योग्य मान्ने निर्णय गरेसँगै मछिन्द्रको सहभागिता निश्चित भएको हो । लिगमा नवौं चरण सकिँदा मछिन्द्र २३ अंकसहित शीर्षस्थानमा छ ।

सुरुआती चरणको दुई खेल जितेमा मछिन्द्रले प्लेअफ चरणमा स्थान बनाउने छ । प्लेअफमा जित हासिल गरेमात्र छनोट प्रतियोगिताको समूह चरणमा प्रवेश पाउनेछ । समूह चरणमा दक्षिण एसियाली प्लेअफमार्फत छनोट हुने टोलीले समूह ‘डी’ बाट खेल्नेछ । यो समूहमा भारतको गोकुलम केरला, बंगलादेशको बसुन्धारा किंग्स र माल्दिभ्सको माजिया क्लबले स्थान बनाइसकेका छन् ।

सन् २०१९ मा मनाङ मर्स्याङ्दी क्लबले सिधै छनोट प्रतियोगिताको समूह चरण खेलेको थियो । अघिल्लो वर्ष आर्मीले भने यही लामो प्रक्रियामा खेल्नुपरेको थियो । एएफसीले क्लबहरूको वरीयता अंकका आधारमा प्लेअफ व्यवस्था गरेको हो ।

प्रकाशित : माघ ४, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?