कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३
'ए' डिभिजन लिग

जावलाखेलमाथि एनआरटी हाबी

एनआरटी २–० जावलाखेल
हिमेश

काठमाडौँ — जावलाखेलका प्रशिक्षक किशोर केसीले ठीकै भनेका हुन्, ललितपुरको यो क्लबका लागि एनआरटी अधिकांश समय कठिन प्रतिद्वन्द्वी हुने गर्छ । लिगका जावलाखेलले एनआरटीलाई नहराएको पनि १० वर्षभन्दा बढी भइसकेको छ । सोमबार पनि त्यस्तै नियति रह्यो ।

जावलाखेलमाथि एनआरटी हाबी

सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ मा एनआरटीले फेरि एकपल्ट जावलाखेललाई पराजित गर्‍यो । यससँगै लिगमा जावलाखेलमाथि एनआरटीको ०६७ यता अपराजित यात्रा कायम रह्यो ।

नवौं चरणसँगै लिगले अब करिब तीन साताको विश्राम लिनेछ । त्यसअगाडि एनआरटीका लागि सुखद नतिजा रह्यो । जितपछि एनआरटीको ९ खेलबाट १३ अंक भएको छ । टोली छैटौं स्थानमा उक्लिन सफल भयो । एनआरटीको यो तेस्रो जितमात्र हो । जावलाखेल भने समान ९ खेलबाट ८ अंकमै सीमित रहेर दसौं स्थानमा रह्यो । सातदोबाटोलाई हराएयता जावलाखेलले फेरि लय गुमाएको छ । टोलीले पछिल्ला ३ खेलबाट १ अंकमात्र बटुल्न सकेको छ ।

सहिद स्मारक लिगमा जावलाखेलविरुद्ध गोल गरेपछि एनआरटीका कप्तान दर्शन गुरुङ (दायाँ) को शैली । साथमा अशोक थापा । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

हारपछि जावलाखेलका प्रशिक्षक केही केही निराश रहे । उनले आफ्नो टिम ३ अंक बटुल्न नै लागि मैदानमा ओर्लेको तर एनआरटी फेरि कठिन साबित भएको सुनाए । उनले भने, ‘पहिलो हाफसम्म त हाम्रो प्रदर्शन ठीकै रह्यो । तर हामीले दोस्रो हाफमा त्यस्तै खेल प्रदर्शन गर्न सकेनौं । खेलाडीले खेल्नै बिर्सेजस्तो भयो । हाम्रा एक प्रमुख खेलाडीलाई कोरोना भाइरस संक्रमण भएको छ । उनको अनुपस्थितिमा हाम्रा लागि यो खेल अझ गाह्रो साबित भयो ।’

कप्तान दर्शन बने नायक

एनआरटीका दुवै गोल दोस्रो हाफमा गरेको थियो । दुवै गोल कप्तान दर्शन गुरुङको नाममा रह्यो । उनले ६९ औं मिनेटमा पहिलो गोल गरे । मेसुके ओलोमोउको पासमा उनले जावलाखेलका गोलरक्षक टेकेन्द्र थापालाई बिट गर्दै गोल गरेका हुन् । उनले ७३ औं मिनेटमा गरेको दोस्रो गोल पनि सजिलै रह्यो । स्टेफेन समीरले निकालेको पासमा दर्शनले बललाई पोस्टको दिशा दिए । दशरथ रंगशालामा भएको खेलमा एनआरटीले पहिलो हाफमा प्राप्त अवसर सदुपयोग गरेको भए जित अन्तर अझै बढी हुन्थ्यो । खेलमा पहिलो बलियो अवसर भने जावलाखेलले सिर्जना गरेको थियो । नवौं मिनेटमा ओनगुना जुनियरको पासमा रूपबहादुर लामाले पेनाल्टी एरियाबाहिरबाट गरेको प्रहार बाहिरिएको थियो । त्यसको तीन मिनेटपछि नै दर्शनले राम्रो अवसर त बनाए । तर, उनी त्यसमा सफल हुन सकेनन् । दर्शनले कृतिश छुन्जुको चलाखीपूर्ण पासमा निश्चित गोलकै स्थितिमा आफूलाई प्रमाणित गर्न सकेनन् । पहिलो हाफको इन्ज्युरी समयमा जावलाखेलले एक अर्को अवसर बनाएको थियो ।

तर रूपबहादुरको प्रहारले पोस्टको दिशा लिन सकेन । यस्तै ५३ औं मिनेटमा स्टेफेन समीरले गरेको प्रहार पोस्ट नजिकको दूरीबाट बाहिरियो । खेलपछि सञ्चो नभएका कारण मुख्य प्रशिक्षक राजुकाजी शाक्य पोस्ट म्याच कन्फ्रेन्समा अनुपस्थित रहे । उनी हुन्थे त आफ्नै खेलाडीको आलोचना गर्ने थिए, किनभने टिमको प्रदर्शन उम्दा थिएन । उनको स्थानमा सहायक प्रशिक्षक जीवन सिन्केमान आए । उनले भने आफ्नो टिमले निकै राम्रो खेलेको दाबी गरे । सिन्कमानको भनाइ थियो, ‘हामी यो खेलबाट निकै खुसी छौं, किनभने हाम्रा खेलाडीले राम्रो खेले र ३ अंक बटुल्न सफल रह्यौं ।’

लिग सुरु हुन एनआरटीको लक्ष्य थियो ‘शीर्ष चार’ । अब भने सायद एनआरटी अंकतालिकाको मध्यभागमा रहनुमै खुसी हुनेछ । सिन्केमानले पनि यस्तै माने । जावलाखेलले वर्ष ०६६/०६७ को दोस्रो खेलमा एनआरटीलाई अन्तिमपल्ट हराएको थियो । त्यसयताका ४ खेलमा एनआरटी जावलाखेलविरुद्ध अपराजित छ ।

प्रकाशित : माघ ४, २०७८ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?