सुष्माले तास्कन्तमा खेल्ने- खेलकुद - कान्तिपुर समाचार

सुष्माले तास्कन्तमा खेल्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — उज्वेकिस्तानको तास्कन्त सहरमा हुने एएसबीसी यू-२२ पुरुष/महिला बक्सिङ च्याम्पियनसीपमा नेपालकी सुष्मा तामाङले प्रतिस्पर्धा गर्ने भएकी छन् ।

उनले ४८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । उनीसहित प्रमुख प्रशिक्षक प्रकाश थापामगर र राष्ट्रिय प्रशिक्षक नवीन तण्डुकार मंगलबार त्यसतर्फ जानेछन् ।

सुष्माले हालै काठमाडौंमा सम्पन्न प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताका स्वर्ण जितेकी थिइन् । उनी गत वैशाखमा पोल्यान्डमा सम्पन्न आइबा युथ बक्सिङ च्याम्पियनसिपमा लिथुवानियाकी खेलाडीलाई पराजित गरी विश्व युवा बक्सिङमा क्वाटरफाइनलसम्म पुगेकी थिइन् । विश्व युवा बक्सिङ र्‍याङकिङमा सुष्मा छैटौं स्थानमा छन् ।

जनवरी २० देखि ३० सम्म हुने प्रतियोगितामा एसियाका २५ भन्दा बढी देशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । उनीहरूलाई सोमबार युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले बिदाइ गरे ।

प्रकाशित : माघ ३, २०७८ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्

अन्तर्राष्ट्रिय स्पर्धाका लागि कराते खेलाडीको बिदाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — दुई फरक देशमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन जाने दुई खेलाडीसहित ४ सदस्यीय नेपाली कराते टोलीलाई सोमबार बिदाइ गरिएको छ ।

टोलीले पहिले फ्रान्सको पेरिसमा हुने पेरिस ओपन करातेमा सहभागिता जनाउने छ । सिनियर एकल कातामा सुमन तिमल्सिना र ७५ केजीमुनि सरोज कार्कीले प्रतिस्पर्धा गर्नेछन् ।

टिम व्यवस्थापकमा सागा टुर्स एन्ड ट्राभल्सका निर्देशक स्वच्छम गुरुङ र अफिसियलमा सजना कुँवर छन् । सुमन सागाका ब्रान्ड एम्बासडर हुन् । जनवरी २१ देखि २३ सम्म पेरिस ओपन हुनेछ ।

पेरिसपछि ४ सदस्यीय टोली जनवरी २४ मा लन्डन जानेछ । त्यहाँ खेलाडीहरूले डब्लुटीकेए युरोपियन ओपन कराते प्रतियोगितामा भाग लिनेछन् । जनवरी ३० मा हुने स्पर्धामा सुमनले सिनियर एकल काता र सरोजले ७५ केजीमुनि नै प्रतिस्पर्धा गर्नेछन् ।

टोलीलाई नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का पूर्व निर्देशक डा. प्रकाश प्रधान, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले बिदाइ गरे । टोलीलाई श्रेष्ठ ट्र्याकसुट प्रायोजन गरेका छन् ।

प्रकाशित : माघ ३, २०७८ १९:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×