२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

विमलको लयमा लम्कँदै मछिन्द्र

मछिन्द्रले यसपल्ट लिगमा तय गरेको नवौं चरणसम्मको यात्रामा एक गोलमात्र खाएको छ मछिन्द्र ४–० ब्रिगेड ब्वाइज
हिमेश

काठमाडौँ — ‘म मान्छे त उही हुँ, तर बानीबेहोरा सुध्रिएको छ ।’ फुटबलर विमल घर्तीमगरको मीठो भनाइ हो यो । फेरि यो यस्तो भनाइ हो, जसले नेपाली फुटबललाई खुसी दिनेछ । मछिन्द्र क्लबका लागि त त्यसै खुसी हुने कारण नै हो । नेपाली फुटबलले धेरै आस गरेका खेलाडीमा पर्छन् उनी ।

विमलको लयमा लम्कँदै मछिन्द्र

पछिल्लो केही समय व्यक्तिगत रूपमा विमलका लागि सुखद रहेन । त्यसमाथि उनलाई चोटले उत्तिकै दुःख दियो । तर आस पलाएको छ, उनी आफ्नो पुरानै लयमा फर्कनेछन् । सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ अन्तर्गत आइतबारको खेलमा मछिन्द्रका लागि उनले जस्तो प्रदर्शन गरे, त्यसले कम्तीमा यस्तै संकेत गर्छ ।

कतारमा भएको घुँडाको शल्यक्रियापछि उनी पूर्णतः फिट हुने क्रममा छन् । ‘लिग सुरु हुँदा म केही मिनेटमात्र खेल्न सक्थें, अब पूरा ९० मिनेट खेल्न सक्ने भएको छु,’ ब्रिगेड ब्वाइजमाथि प्राप्त जितपछि विमलले सुनाए । लिग नवौं चरण आइपुग्दा उनको यो आठौं खेल थियो । पहिलो खेलमा १० मिनेटका लागि सब्स्टिच्युट खेलाडीका रूपमा मैदानका छिरेका विमलले पछिल्ला ४ खेलमा सुरुमै खेल्ने अवसर पाएका छन् । त्यसमध्ये दुई खेलमा भने उनले पूरा ९० मिनेट नै खेले ।

ब्रिगेड ब्वाइजविरुद्धको खेल किन विशेष रह्यो भने विमलले त्यसमा दुई गोल गरे । उनले ५६ औं मिनेटमा पहिलो गोल गरे । यो खासै उल्लेखनीय रहेन । तर, उनले ६२ औं मिनेटमा गरेको गोल भने विशेष रह्यो । उनले ब्रिगेड ब्वाइजका भारतीय गोलरक्षक गुरप्रित सिंहलाई सजिलै बिट गरेर गोल गरे, त्यसले विमल कति ‘क्लास’ का खेलाडी हुन् त्यो देखाउँछ । मोरिससविरुद्ध हुने खेलका लागि बोलाइएको सुरुआती टिममा उनी पनि छन् । सायद विमलले ‘कमब्याक’ गर्नेछन् राष्ट्रिय टोलीका लागि पनि ।

१५ खेलको अपराजित यात्रा

मछिन्द्र अहिले क्लब इतिहासमै सबैभन्दा उत्कृष्ट लयमा छ । टोली लिगको पछिल्ला १५ खेलमा अपराजित छ । यसपल्टको लिगमा नवौं चरण आइपुग्दा मछिन्द्रको यो सातौं जित हो । अहिलेसम्म अपराजित मछिन्द्रले दुई बराबरी खेलेको छ । टोलीको २३ अंक भएको छ । दोस्रो स्थानको मनाङ मर्स्याङ्दीमाथि यो ४ अंकको अग्रता हो । यस्तोमा डिफेन्डिङ च्याम्पियन मछिन्द्रले एक हातले लिग उपाधि छुन सकेको छ । भलै, चार चरणको खेल बाँकी छ ।

तर, मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल भन्छन्, ‘यस्तो पनि नभनौं । अझै चार कठिन खेल बाँकी छ । त्यसमध्ये एउटा खेल थ्रीस्टारविरुद्ध रहेको छ । हामी पछिल्लो लिगमा जस्तो अन्तिम खेलमा आएर मात्र लिग उपाधि जित्न चाहन्नौं । सम्भव छ भने एक खेलअगाडि नै उपाधिको रक्षा गर्ने प्रयास गर्नेछौं ।’

मछिन्द्रले थ्रीस्टारबाहेक सातदोबाटो, च्यासल र एपीएफविरुद्ध खेल्न बाँकी छ । ती प्रतिद्वन्द्वीविरुद्ध मछिन्द्रले आफूअनुकूल नतिजा निकाल्ने हो भने उपाधिसम्म सजिलै पुग्न सक्नेछ ।

मछिन्द्रले यसपल्ट तय गरेको नवौं चरणसम्मको यात्रामा एकै गोल मात्र खाएको छ । टोलीले पछिल्ला ८ खेलमा क्लिन सिट राखेको छ । घरेलु लिग फुटबलमा गोलरक्षकका रूपमा विशाल श्रेष्ठले कायम गरेको यो नयाँ कीर्तिमान पनि हो । उनले लिगको ७ सय ५६ मिनेटमा कुनै गोल खाएका छैनन् । लिगमा आफ्नो सय खेलतर्फ अग्रसर विशाल अब व्यक्तिगत ५० औं क्लिन सिटको पनि नजिक पुगेका छन् । उनीसामु उपाधिसँगै यो दुर्लभ उपलब्धि छुने अवसर पनि हुनेछ ।

यसको ठीक विपरीत ब्रिगेड ब्वाइजमाथि रेलिगेसन दबाब अझ बढेको छ । ब्रिगेडको ९ खेलबाट ६ अंकमात्र भएको छ । यी ९ खेलमध्ये पनि ६ खेलमा टोलीले कुनै गोल गर्न सकेको छैन । त्यसैले रेलिगेसनबाट बच्ने हो भने ब्रिगेड ब्वाइजसामु आक्रमण बढाउनुबाहेक अर्को विकल्प हुन्न । हारपछि ब्रिगेड ब्वाइज १२ औं स्थानमै रह्यो । मछिन्द्रसँगको हारपछि प्रशिक्षक सनोज श्रेष्ठ भन्छन्, ‘पहिलो गोलपछि टिमले आफूलाई सम्हाल्न सकेन ।’

रेजिन र अभिषेकको पहिलो गोल

मछिन्द्रको यो जितमा रेजिन सुब्बाले ८४ र अभिषेक बरालले दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरे । दुवैका लागि यो भावनात्मक उपलब्धि पनि रह्यो । खुट्टाको चोटमा उपचार गराएर कतारबाट फर्केको केही समयमै मैदान छिर्ने मौका पाएका रेजिनले गोलपछि आफूलाई रोक्न सकेनन् । मैदानमै भावुक देखिए । ‘गोलपछि मैले आफूलाई रोक्न सकिनँ । कस्तो भयो, त्यो म भन्नै सक्दिनँ,’ रेजिनले पछि सुनाए ।

नोर्लान नोभरुजोभ घाइते भएपछि पहिलो हाफको अन्त्यतिर मैदान छिरेका रेजिनलाई बाँकी समय निकै गाह्रो देखिएको थियो । अहिले उनी ग्राउन्ड रिह्याबबाट गुज्रिरहेका छन् । आफू चाँडै फिट हुने विश्वास राख्छन् । यसपल्टको लिगमा रेजिनको यो डेब्यु खेल पनि हो । वर्ष ०७६ मा मछिन्द्रले लिग जित्दा रेजिन महत्त्वपूर्ण खेलाडी थिए । त्यही लिगको पछिल्लो ५ खेल गुमाएका अभिषेकले भने यसपल्ट नवौं चरण आइपुग्दा पहिलो गोल गरेका हुन् ।

उनी आफैं व्यक्तिगत गोल खडेरीबाट गुज्रिइरहेका थिए । वर्ष ०७६ मा मछिन्द्रले लिग जित्दा सुरुआती ८ खेल खेलेका अभिषेकले लिगमा क्लबका लागि १७ खेलमा आइपुग्दा पहिलो गोल गरेका छन् ।

यस्तोमा मछिन्द्रका लागि लिगमा उनको यो डेब्यु गोल पनि रह्यो । यसका लागि उनले निकै लामो समय पर्खनुपर्‍यो । वर्ष ०७५ को लिगमा भने उनी पुलिस क्लबमा थिए । त्यसको ११ औं चरणमा थ्रीस्टारविरुद्ध गोल गरेका अभिषेकले तीन वर्षको अन्तरमा लिगमा गोल गरेका हुन् ।

प्रकाशित : माघ ३, २०७८ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?