कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोरोना खोप प्रकरण : अन्ततः जोकोभिचले छाडे अस्ट्रेलिया

एजेन्सी

मेलबर्न — विश्व पुरुष टेनिस वरीयताका नम्बर एक खेलाडी नोभाक जोकोभिचले आइतबार अस्ट्रेलिया छाडेका छन् । संघीय अदालतले कोभिड–१९ विरुद्धको खोप नलगाएको आरोपमा सरकारले जोकोभिचको प्रवेशाज्ञा रद्द गर्ने निर्णय कायम राखेपछि उनी अस्ट्रेलिया छाड्न बाध्य रहे । 

कोरोना खोप प्रकरण : अन्ततः जोकोभिचले छाडे अस्ट्रेलिया

सरकारले कोभिड–१९ विरुद्धको खोप नलगाएका जोकोभिच आफ्नो देशका लागि जोखिम रहेको जनाएको थियो । जोकोभिचले आफूले खोप लगाएको वा नलगाएको हो, त्यसबारे प्रस्ट भनेका छैनन् ।

एकपछि अर्को नाटकीय घटनाक्रमपछि तीन सदस्यीय संघीय अदालतको बेञ्चले जोकोभिचविरुद्ध निर्णय गरेको थियो । यो निर्णयबाट उनको कीर्तिमान २१ औं ग्रान्ड स्लाम उपाधि जित्ने सपना तत्कालका लागि रोकिएको छ ।

अदालतको निर्णय आएको केही घण्टापछि नै सर्बियाली खेलाडी मेलबर्न विमानस्थल पुगे । उनी दुबई जाने इमिरेट्सको उडानमा बसे । विमान स्थानीय समयअनुसार राति ११ बजे उडेको थियो । जनवरी ६ मा उनी मेलबर्न आइपुगेका थिए । उनलाई विमानस्थलका सुरक्षाकर्मीले नै रोकेका थिए ।

तर, जनवरी १० मा अदालतले सुरुआती निर्णयमा जोकोभिचलाई छाड्ने आदेश दिएको थियो । तर, शनिबार उनलाई फेरि समातिएको थियो । आफूविरुद्धको पछिल्लो अदालती निर्णयपछि ३४ वर्षीय खेलाडीले भनेका छन्, ‘अब म केही समयका लागि आराम गर्नेछु र भविष्यमा के गर्ने त्यसपछि मात्र निर्णय गर्नेछु । अदालतको निर्णयलाई लिएर म निकै दुःखी छु । त्यस निर्णयअनुसार म अस्ट्रेलियामा रहन सक्दिनँ र अस्ट्रेलियन ओपन पनि खेल्न पाउँदिनँ ।’

तर, जोकोभिचले अदालतको निर्णयलाई स्वागत गर्ने बताए । अस्ट्रेलियाली आप्रवासन मन्त्री एलेक्स हवाकले आफ्नो विशेषाधिकार प्रयोग गर्दै जोकोभिचको प्रवेशाज्ञा रद्द गरेका थिए । मन्त्रीले जोकोभिच आफ्नो देशमा रहनु जोखिमपूर्ण रहेको बताएका थिए । मन्त्रीले जोकोभिचको उपस्थितिले खोपविरुद्धको धारणा बलियो हुने दाबी गरेका थिए ।

अस्ट्रेलिया कोरोभा भाइरस संक्रमणबाट सबैभन्दा प्रभावित देशमध्ये एक हो । जोकोभिचको खोपविरोधी धारणाले उनको विश्वव्यापी आलोचना सुरु भएको छ ।

प्रकाशित : माघ ३, २०७८ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?