आर्मी र एपीएफ च्याम्पियन

दीपक परियार

पोखरा — दोस्रो टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी र महिलातर्फ एपीएफले उपाधि जितेका छन् ।

आर्मी र एपीएफ च्याम्पियन

पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको फाइनलमा विभागीय टोलीद्वय उपाधि जित्न सफल भए ।

फाइनलमा आर्मी क्लबले टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो । आर्मीले लिग चरणको पराजय बदला लिएको छ । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको आर्मीका लागि मानबहादुर श्रेष्ठ र धनबहादुर भट्टको स्पाइक र ब्लक महत्त्वपूर्ण बन्यो । हेल्प नेपालले सर्भिसमा समेत अंक गुमाएपछि पहिलो सेट जित्न आर्मीलाई सहज भयो । दोस्रो सेटमा भने आर्मीले केही कठिन चुनौती सामना गर्‍यो ।

तीन भारतीय खेलाडी रहेको हेल्प नेपालले प्रतिस्पर्धात्मक दोस्रो सेट २६–२४ ले आफ्नो बनायो । तेस्रो सेटमा आर्मीले २५–१८ ले जित्दै पुनरागमन जनयो । चौथो सेटमा आर्मी हाबी हुँदै २५–१९ को सेट जितका साथ खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

महिलातर्फ विभागीय डर्बीमा साबिक विजेता एपीएफले आर्मीलाई पराजित गर्दै उपाधि रक्षा गर्‍यो । दोस्रोपल्ट उपाधि उचाल्दा एपीएफले सोझो सेटमै नतिजा निकाल्यो । पहिलो सेट २५–२३ ले पन्छाउँदा केही प्रतिस्पर्धात्मक भए पनि दोस्रो र तेस्रो सेटमा भने एपीएफलाई सहज भयो । दोस्रो २५–१५ र तेस्रो सेट २५–२० ले जितेर एपीएफले उपाधि आफ्नो नाममा बनायो । प्रतियोगितामा पुरुषतर्फ पुलिस क्लब र महिलातर्फ न्यु डायमन्ड क्लब तेस्रो भए ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगितामा विजेता पुरुष/महिला टोलीले ३–३ लाख रुपैयाँ पुरस्कार पाए । उपविजेताले समान १ लाख ५० हजार र तेस्रो हुने टोलीले समान ७५ हजार रुपैयाँ पाए । पुरुषतर्फ सान्त्वना स्थान प्राप्त गण्डकी प्रदेश र महिलातर्फ पुलिसले समान ३५ हजार रुपैयाँ प्राप्त गरे ।

महिलामा एपीएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी भइन् । उनले २५ हजार रुपैयाँ पुरस्कार पाइन् । पुरुषतर्फ आर्मीका धनबहादुर भट्ट उत्कृष्ट खेलाडी घोषित भए । उनले २५ हजार रुपैयाँ पाए । महिलातर्फ उत्कृष्ट सर्भरमा एपीएफकी निरुता ठगुन्ना, सेटरमा आर्मीकी कृपा अधिकारी, ब्लकरमा एपीएफकी हीरा केसी, लिबरोमा न्यु डायमन्डकी सलिना श्रेष्ठ र स्पाइकरमा आर्मीकी शान्तिकुमारी थारु चुनिए । उत्कृष्ट प्रशिक्षक एपीएफका महेशप्रसाद चौधरी घोषित भए ।

पुरुषतर्फ उत्कृष्ट सर्भरमा पुलिसका इमबहादुर राना, सेटरमा आर्मीका हरिहजुर थापा, ब्लकरमा हेल्प नेपालका पुनित, लिबरोमा आर्मीका ईश्वर थापा, स्पाइकरमा हेल्प नेपालका विनोद कुमार र उत्कृष्ट प्रशिक्षकमा आर्मीका जगतबहादुर सिंह चुनिए । उत्कृष्ट सबै खेलाडीले जनही १० हजार रुपैयाँ पाए ।

विजेता खेलाडीलाई गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, साउथ एसियन सेन्ट्रल जोन भलिबलका अध्यक्ष मोहमद लतिफ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायतले पुरस्कृत गरे ।

प्रकाशित : माघ २, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?