१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

वाग्मतीले पुलिससँग सेमिफाइनल खेल्ने

काठमाडौँ — युवा खेलाडीहरू विपिन आचार्य, प्रतिश जीसी र नन्दन यादवको अलराउन्ड प्रदर्शनमा वाग्मती प्रदेश प्रधानमन्त्री कप पुरुष ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।

वाग्मतीले पुलिससँग सेमिफाइनल खेल्ने

वाग्मतीले शनिबार गण्डकी प्रदेशको चुनौतीलाई ४० रनले पन्छाएको थियो ।

चौथो खेलमा तेस्रो जित हात पार्दै वाग्मती समूह ‘बी’ को उपविजेता हुँदै अन्तिम चारमा पुगेको हो । एपीएफले सबै चार खेल जितेर यसअघि समूह विजेता भई सेमिफाइनल निश्चित गरेको थियो । वाग्मतीले समूह ‘ए’ को विजेता नेपाल पुलिस क्लबसँग फाइनल पुग्नका लागि खेल्नेछ ।

विपिनले १९ बलमा ३०, प्रतिशले ८ बलमा २७ र नन्दनले १० बलमा १४ रन बनाएपछि टस जितेर पहिलो ब्याटिङ गरेको वाग्मतीले ९ विकेट गुमाई १ सय ४३ रन बनायो । विपिनले ३ चौका, प्रतिशले २ चौका र ३ छक्का तथा नन्दनले १ चौका र १ छक्का प्रहार गरे । ओपनर इशान्त पाण्डे ९ र कप्तान ज्ञानेन्द्र मल्ल ४ रनमै आउट भएका थिए । अर्का ओपनर सुवास खकुरेलले ३० बलमा २ चौका र १ छक्कासहित २७ र लक्की कठायतले १७ रन बनाए । गण्डकीबाट कृष्ण पौडेल र कप्तान विशाल पौडेलले २–२ तथा अशोक श्रेष्ठ, सुवास भण्डारी र कमल परियारले १–१ विकेट लिए ।

यसअघि दुवै खेल हारिसकेको गण्डकीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ९ विकेट गुमाई १ सय ३ रनमात्र बनाउन सक्यो । नन्दनले ३ ओभरमा ११, सुवास खत्रीले २ ओभरमा १८ र प्लेयर अफ द म्याच विपिनले ४ ओभरमा १९ रन खर्चेर २–२ तथा रिजन ढकाल, प्रतिश र रामनरेश गिरीले १–१ विकेट लिए । गण्डकीका कमलले ११ तथा विधान श्रेष्ठ, दीपक डुम्रे, सन्दीप क्षेत्री, गोविन्द बिक र विशाल समान १० रनमा आउट भए ।

पुलिस र प्रदेश १ बीच हुने भनिएको दिनको पहिलो खेल स्थगित गरिएको थियो । प्रदेश १ का केही खेलाडीमा कोभिड–१९ को आशंका गरिएपछि खेल स्थगित हुन पुगेको थियो । प्रदेश १ का खेलाडीको कोभिड परीक्षण गरिएको र नतिजा आएपछि बाँकी निर्णय लिने जनाउँदै नेपाल क्रिकेट संघ (क्यान) का सदस्य एवं प्रतियोगिता निर्देशक दुर्गा पाठकले स्थगित खेल सोमबार वैकल्पिक दिनमा खेलाइने तयारी गरेको बताए ।

प्रकाशित : माघ २, २०७८ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?