कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

भोकाएको बाघ फ्रेन्ड्स ‘भोकै’

थ्रीस्टारले संकटालाई हराएपछि लिगको उपाधि होड एक प्रकारले फेरि खुला भएको छ
हिमेश

काठमाडौँ — केही वर्षअघि सहिद स्मारक लिगमै फ्रेन्ड्सले आर्मीलाई हराउँदा प्रशिक्षक मृगेन्द्र मिश्रले खुबै स्वादिलो कथा सुनाएका थिए । केही खराब नतिजापछि फ्रेन्ड्सले यो जित निकालेको थियो ।

भोकाएको बाघ फ्रेन्ड्स ‘भोकै’

खुबै खुसी भएका मिश्र भन्थे, ‘हामी भोकाएका बाघ थियौं, कसलाई खाउँ, के खाउँ भइरहेको थियो, आर्मीलाई भेट्यौं ।’

अहिले त्यही फ्रेन्ड्स अनि प्रशिक्षक उही मिश्र । दोहोर्‍याएर प्रतिद्वन्द्वी पनि आर्मी । तर, कथा केही फेरिएको छ । लिगमा फ्रेन्ड्स अझै भोकाएको बाघ थियो । तर उसले शनिबार आर्मीलाई खान सकेन ।

अहिले फ्रेन्ड्स ‘ए’ डिभिजन लिग ०७८ को पुछारमा छ । टोलीसँग ३ अंकमात्र । यस्तोमा रेलिगेसनको डर फ्रेन्ड्समाथि खुबै छाएको छ । यो खेलअगाडि तिनै प्रशिक्षक मिश्र भनिरहेका थिए, ‘हामीलाई निश्चित जित चाहिएको छ ।’ तर, उल्टै फ्रेन्ड्स शनिबार आर्मीको हातबाट पराजित रह्यो । उनले अहिले पनि भनिहाले, ‘बाघ हुन खोजेका थियौं, सकेनौं ।’ उनले माने, फ्रेन्ड्स वास्तवमै कठिन मोडमा पुगेको छ । तर आस भने मारेका छैनन् ।

प्रशिक्षक मिश्रले थपे, ‘फुटबल हो, अन्तिम समयसम्म पनि सम्भावना हुन्छ । अब अरू नतिजामा भर पर्नुपर्नेछ ।’ फ्रेन्ड्स अहिले एउटै जित निकाल्न नसकेको एकैमात्र टिम हो । यसलाई उनले दुर्भाग्य माने । उनले भने, ‘तीन खेल बराबरीमा टुंगियो र यसमा हामीलाई भाग्यले साथ दिएन । अब अर्को खेल ब्रिगेड ब्वाइजविरुद्ध छ, त्यसमा पनि हार्‍यौं भने हामी बच्ने छैनौं ।’ लिगलाई उपाधिको होडमात्र होइन, रेलिगेसनको तनावले पनि रोमाञ्चक बनाउने गर्छ । यस्तोमा प्रश्न बनेको छ, के त्यो भोको बाघ अब बाँच्ने छ त ?

एक गोल र दुई सहयोगी भूमिका
आर्मीको जितका नायक रहे, जगजित श्रेष्ठ । यी प्रतिभाशाली खेलाडीले दुई विकल्पमात्र दिन सक्छन् । कि उनी नायक हुन्छन्, होइनन् भने खलनायक । उनी यी दुईबाहेक अरू हुन सक्दैनन् । फ्रेन्ड्सविरुद्ध उनले एक गोल गरे र अन्य दुई गोलमा सहयोगी भूमिका खेले । उनले १० औं मिनेटमा गोलको खाता खोले । उनी बल क्रस गर्ने क्रममा थिए, तर बलले पोस्टको दिशा लियो । जगजित कति इमान्दार रहे भने उनले यस गोलमा खुसी मनाएनन् । त्यसपछि उनैले सिर्जना गरेको अवसरमा दिनेश हेमजनले ४५ र सुमन अर्यालले ७१ औं मिनेटमा गोल गरे । जमोल एन्थोनीले ४७ औं मिनेटमा फ्रेन्ड्सका लागि एक गोल फर्काए ।

जितपछि आर्मी प्रशिक्षक नवीन न्यौपानेले तीन अंक नै ठूलो रहेको बताए । उनले भने, ‘समयमै गोल निस्कियो, त्यसैले जित प्राप्त भयो । तर हाम्रा खेलाडीले स्थितिलाई सहज लिएपछि टिम दबाबमा पनि आयो । हामीले त्यही आक्रामक शैलीले खेलेका थियौं भने जित अन्तर अझ बढी हुन्थ्यो ।’ यो जितपछि भने आर्मीको १७ अंक भएको छ । टोली तेस्रो स्थानमा उक्लेको छ । यो शीर्षस्थानमा रहेको मछिन्द्रसँग ३ अंकको दूरी हो । मनाङ मर्स्याङ्दी क्लब १९ अंकसहित दोस्रो स्थानमा छ ।

शनिबारै अर्को खेलमा थ्रीस्टारले संकटालाई हरायो । यो नतिजापछि उपाधि होड एक प्रकारले फेरि खुला भएको छ । कम्तीमा शीर्ष चारको स्थानका लागि । आइतबार डिफेन्डिङ च्याम्पियन मछिन्द्रले ब्रिगेड ब्वाइजको सामना गर्नेछ । सबैको नजर त्यही खेलप्रति हुनेछ ।

सुपर–सव विजय
संकटालाई हराएपछि थ्रीस्टारको १६ अंक भएको छ । टोली चौथो स्थानमा उक्लिन सफल भयो । संकटा भने १५ अंकमा सीमित रहेर पाँचौं स्थानमा झरेको छ । संकटाले यस नतिजासँगै आफ्नो अपराजित यात्रा गुमाएको छ । खेलको निर्णायक गोल दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा सम्भव भएको थियो । यो गोल गर्ने खेलाडी थिए, सुपर–सव विजय भुजेल । उनी ९० औं मिनेटमा मैदानमा छिरेका थिए । उनले आफ्नो उपयोगिता सिद्ध गरे ।

त्यो गोलपछि संकटासामु खेलमा फर्कने समय नै बाँकी रहेन । संकटाका प्रशिक्षक विष्णु गुरुङले आफ्नो टिम अन्तिम समयमा सम्हालिन असफल रहेको बताए । लिग नवौं चरण आइपुग्दा विष्णुले आत्मसात् गरेको यो पहिलो ‘ए’ डिभिजन हार रह्यो । यो उत्तिकै पीडादायी रह्यो । यसको ठीक उल्टो थ्रीस्टारका लागि भने यो उत्तिकै खुसीको जित रह्यो । थ्रीस्टार प्रशिक्षक उर्जेन श्रेष्ठले भने, ‘यो निकै खुसीको जित हो, यसले टिममा उत्साह थपिएको छ ।’

खराब सुरुआत लिएको थ्रीस्टार यो जितपछि लिगमा बलियो चुनौती पेस गर्न सक्षम भएको छ । थ्रीस्टारको लगातार तेस्रो जित हो । यससँगै टिमले लय समातेको संकेत देखाएको छ । थ्रीस्टार ७ खेलयता अपराजित छ । थ्रीस्टारले शीर्ष दुई स्थानका मछिन्द्र र मनाङविरुद्ध अझै खेल्न बाँकी रहेको हुनाले पनि लिग उपाधिको होड एक प्रकारले खुलाजस्तै भएको छ । त्यतिमात्र होइन, थ्रीस्टारले अब लिगमा ‘किङमेकर’ को भूमिका पनि खेल्न सक्नेछ ।

प्रकाशित : माघ २, २०७८ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?