मछिन्द्र आज चार अंकको अग्रताका लागि खेल्दै- खेलकुद - कान्तिपुर समाचार

मछिन्द्र आज चार अंकको अग्रताका लागि खेल्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — सहिद स्मारक 'ए' डिभिजन लिग ०७८ मा आइतबार डिफेन्डिङ च्याम्पियन मछिन्द्र लिग तालिकाको शीर्ष स्थानमा चार अंकको अग्रताका लागि खेल्दैछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइजको सामना गर्नेछ ।

मछिन्द्रको आठ खेलबाट २० अंक छ र यो दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दीसँग एक अंकको दूरी हो । ब्रिगेड ब्वाइज भने आठ खेलबाट छ अंकमै सीमित छ र १२ औं स्थानमा रहेको छ ।

दिनको दोस्रो खेलमा पुलिस र च्यासल भिड्ने छन् । पुलिसको आठ खेलबाट सात अंक छ र ११ औं स्थानमा छ । च्यासलल भने आठ खेलबाट पाँच अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।


प्रकाशित : माघ २, २०७८ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्

तीनमुखे झोलुंगे पुल ७ वर्षदेखि अलपत्र

तीन वर्षमा सक्ने गरी २०७१ असार १० मा पुलको ठेक्का भएको थियो
माधव अर्याल

पाल्पा — रुरुक्षेत्रमा निर्माणाधीन तीनमुखे झोलुंगे पुल साढे सात वर्ष बित्दासमेत अधुरै छ । तीन वर्षमा सक्ने गरी ठेक्का भएको हो । २०७१ असार १० मा पुलको शिलान्यास भएको थियो ।



निर्माण व्यवसायीले २०७४ असार ९ मा काम सक्नुपर्ने थियो । तर अहिलेसम्म काम पूरा भएको छैन । निर्माण सक्नुपर्ने म्याद गुज्रेको समेत चार वर्ष बितिसकेको छ । निर्माण व्यवसायीको लापरबाही र सरोकारवाला निकायको बेवास्ताले पुल बन्न नसकेको हो ।

तानसेन नगरपालिका–१४ अर्गली, गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ रिडीबजार र स्याङ्जाको कालिगण्डकी गाउँपालिका–१ कारिकोट चण्डीभञ्ज्याङलाई जोड्ने गरी पुल निर्माण सुरु भएको थियो । स्थानीय रेखदेख, अनुगमन लगायतको जिम्मेवारी कसैलाई नदिएकाले पनि काममा ढिलाइ भएको रुरुक्षेत्र–१ रिडीका वडाध्यक्ष रामलाल विकले बताए । ‘काममा निर्माण व्यवसायीले लापरबाही गरे पनि अनुगमनकारी निकाय नै कोही भएन,’ उनले भने, ‘स्थानीय सरकारलाई निर्माण व्यवसायीले टेर्ने अवस्था रहेन ।’ कालीगण्डकी नदी र रिडी खोलाको दोभानमा पुल बनिरहेको छ ।

निर्माण व्यवसायीकै कारण पुल निर्माणले तीव्रता पाउन नसकेको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ ।

ठेक्का पाएको नयाँबाटो रुविना मना जेभी कन्स्ट्रक्सनले तीन जिल्लाको कतै पनि के कति काम गर्ने र कहिले सक्ने भन्ने होर्डिङ बोर्ड राखेको छैन । सस्पेन्सन बिज्र डिभिजनका अनुसार पुल निर्माण गर्न १५ करोडको इस्टिमेट भए पनि ९ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो । तोकिएको मितिमा काम नसकिएपछि निर्माण व्यवसायीलाई डिभिजन कार्यालयले म्याद थपेको थप्यै छ ।

डिभिजनका अनुसार पुलको बीच भागको मुख्य फाउन्डेसन सकेर पाल्पा र गुल्मीतर्फको काम अन्तिम चरणमा पुगेको छ ।

स्याङ्जातर्फको काम पनि भइरहेको छ । सुरुमा फाउन्डेसनमा केही समस्या भएको थियो । अहिले समस्या नभएको जनाएको छ । व्यवसायीले इस्टिमेटभन्दा धेरै कम मूल्यमा बिड गरेको छ । त्यसैले कामदार पठाउने गरे पनि कामलाई तीव्रता दिएको छैन । पुल निर्माण हुँदा पाल्पा र गुल्मी हिँडडुलमा समेत दुई किलोमिटर दूरी छोटो पर्छ ।

प्रकाशित : माघ २, २०७८ ०७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×