'ए' डिभिजन लिग

सातदोबाटोको मन छुने जित

कीर्तिमान आठपल्टको विजेता मनाङमाथि प्राप्त सातदोबाटोको यो सफलतालाई धेरै पछाडिसम्म प्रसिद्ध जितका रुपमा सम्झिइनेछ
एपीएफ १–० हिमालयन शेर्पा, सातदोबाटो २–१ मनाङ
हिमेश

काठमाडौँ — लिग सुरु हुनुअगाडि नै प्रशिक्षक मेघराज केसीले दाबी गरेका थिए, माथिल्लो डिभिजनमा नवप्रवेशी सातदोबाटो युवा क्लबको प्रदर्शन गर्विलो हुनेछ । नवौं चरणमा शुक्रबार सातदोबाटोले मनाङ मर्स्याङ्दीमाथि प्राप्त गरेको जित यस्तै रह्यो । मन छुने खालको जित । कीर्तिमान आठपल्टको विजेता मनाङमाथि प्राप्त सातदोबाटोको यो सफलतालाई धेरै पछाडिसम्म प्रसिद्ध जितका रूपमा सम्झिइनेछ । भाग्यले साथ दिएको भए सातदोबाटोले ५ गोल गर्नुपर्ने थियो ।

सातदोबाटोको मन छुने जित

मनाङको प्रदर्शन यति साह्रो किन खराब रह्यो त ? यसको उत्तर दुई प्रकारले दिन सकिन्छ । पहिलो, मनाङको टिम अहिले ठूलै समस्यामा छ । त्यसो भनेको टोलीका ५ देखि ६ खेलाडी कोभिड–१९ बाट संक्रमित भएका छन् । त्यसैले टिमले राम्रो खेल्न सकेन । यो तात्कालिक कारण भयो । दोस्रो कारण भने गम्भीर छ । सातदोबाटो प्रशिक्षक केसीकै अनुसार पनि अहिलेको मनाङ खासमा राम्रो टिम नै होइन, त्यसैले सातदोबाटोले अहिले प्राप्त जितलाई स्तब्धपूर्ण पनि भन्नुपर्दैन, किनभने यो स्वाभाविक नतिजा हो ।

यो यस्तो नतिजा हो, जुन लिग उपाधि होडमा निर्णायक हुनसक्छ । मनाङको यो अहिलेको लिगमा दोस्रो हार हो । यससँगै टिम १९ अंकमै सीमित रह्यो । डिफेन्डिङ च्याम्पियन मछिन्द्रसँग २० अंक छ । टोलीले नवौं चरणको खेलमा जित निकालेर मनाङमाथि ४ अंकको ठोस अग्रता लिन सक्छ । यस्तोमा मनाङको यो हारले मछिन्द्रलाई धेरै हदसम्म उत्साहित बनाउने छ । मनाङ आफैंका लागि भने यो निकै खराब नतिजा रहनेछ ।

मनाङका प्रशिक्षक टोपे फुजाले पनि माने, आफ्नो टिमले खेल्नै सकेन । उनले भने, ‘हाम्रो प्रदर्शन वास्तवमै खराब रह्यो, विशेषतः पहिलो हाफमा । दोस्रो हाफमा केही सुधारिएको खेल प्रदर्शन गरे पनि यो खेलमा फर्कन पर्याप्त रहेन । हाम्रा ५–६ खेलाडी कोभिडबाट संक्रमित छन्, त्यसैले क्लब आफैं संकटमा छ । अब लिग एक महिना रोकिने छ र यो हाम्रा लागि ठूलो राहतका रूपमा रहनेछ ।’

लिग उपाधिबाट आफ्नो टिम टाढिएको भने उनले मानेनन् । उनले भने, ‘लिगमा अझै केही चरणका खेल बाँकी छन्, त्यसैले अहिले नै यस्तै हो भनेर भन्न हतार हुन्छ । तर हाम्रा लागि अहिलेको हार ठूलो धक्का हो । हेरौं, अबका दिनमा के हुने हो ।’ यो जितपछि सातदोबाटोको भने १२ अंक भएको छ । टोली छैटौं स्थानमा उक्लेको छ । आकर्षक सुरुआत लिएको सातदोबाटोले लिगको चौथो चरणयता जित निकाल्न सकेको थिएन । तर मनाङलाई हराएयता अब सातदोबाटोले शीर्ष चारका लागि प्रयास गर्न सक्नेछ ।

तीन अफ्रिकी खेलाडीको गोल

दशरथ रंगशालामा भएको यो खेलको विशेषता रह्यो । सम्भव भएका तीनै गोल अफ्रिकी मूलका खेलाडीको नाममा रह्यो । सातदोबाटोले ११ औं मिनेटमा मार्टिन एडेल्फे सिलोको गोलमा अग्रता लिएको थियो । आकाश बुढामगरको कर्नरमा सुदीप गुरुङले हेडबाट उपलब्ध गराएको पासमा एडेल्फेले नजिकको दूरीबाट गोल गरे । अजयी मार्टिन्सले ३८ औं मिनेटमा दोस्रो गोल थपे । प्रशान्त अवस्थीको क्रममा अनमार्क रहेका अजयीले हेड गर्दै सजिलै गोल गरे ।

प्रशिक्षक केसीले यस खेलका लागि अजयीलाई मिडफिल्डबाट उतार्दै गोल गर्नका लागि उनलाई उत्प्रेरित राखेका थिए । अजयीको यो पाँचौं व्यक्तिगत गोल हो । यससँगै सर्वाधिक गोलकर्ताको सूचीमा उनी दोस्रो स्थानमा रहे । मनाङका लागि ५७ औं मिनेटमा ओलावाले आफिजले एक गोल फर्काए । पूजन उपरकोटीको कर्नरलाई सातदोबाटोका डिफेन्डरले राम्रोसँग क्लियर गर्न नसकेपछि ओलावालेले गोल गरेका हुन् । ओलावालेको यो छैटौं व्यक्तिगत गोल हो ।

एपीएफलाई ठूलो राहत

नवौं चरणको पहिलो खेलमा एपीएफ क्लबले हिमालयन शेर्पालाई हरायो । यो जितपछि एपीएफमाथि रहेको रेलिगेसनको डर लगभग समाप्त भएको छ । प्रशिक्षक कुमार थापाकै भाषामा भन्दा अब एपीएफले लिगमा मज्जाले श्वास फेर्न सक्नेछ । उनले भने, ‘यो खेलमा पराजित भएको भए हामीलाई निकै गाह्रो हुन्थ्यो । त्यसैले हाम्रा लागि यो खेल निकै महत्त्वपूर्ण थियो र यसमा जित आवश्यक थियो । त्यसैले पनि यो जितमा हामी खुसी छौं ।’ दशरथ रंगशालामै भएको खेलमा आवास लामिछानेले निर्णायक गोल गरेका थिए । उनले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा नवीन लामाको कर्नरलाई हेड गर्दै उत्कृष्ट गोल गरे । यो जितपछि एपीएफको १० अंक भएको छ । टोली नवौं स्थानमा उक्लेको छ । एपीएफ अब रेलिगेसन क्षेत्रबाट ५ अंकले अगाडि रह्यो । हिमालयन भने ११ अंकमा सातौं स्थानमा झरेको छ । एपीएफविरुद्ध पूरा खेल अवधिमा हिमालयनले निकै कमजोर प्रदर्शन गरेको थियो ।

खेलपछि प्रशिक्षक युगलकिशोर राईले आफ्ना खेलाडीको प्रदर्शन निकै खराब रहेको बताए । उनले भने, ‘यो खेलमा हाम्रो प्रदर्शन वास्तवमै निकै खराब रह्यो । नवौं चरण आइपुग्दा यो नै हाम्रो सबैभन्दा तल्लो स्तरको खेल हो । हाम्रा खेलाडीले धेरै गल्ती गरे । हाम्रो आजको खेल सामान्य स्कुलको टिमविरुद्ध पनि हार बेहार्ने खाले रह्यो । एपीएफले जुन प्रकारको रणनीतिले खेलेको थियो, त्यसविरुद्ध खेल्न हामी चुक्यौं । अबका खेल हाम्रा लागि गाह्रो हुने निश्चित छ ।’

प्रकाशित : माघ १, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?