२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

टाइगर कप भलिबल : आर्मी र हेल्प नेपाल फाइनलमा

पोखरा — त्रिभुवन आर्मीको महिला र पुरुषतर्फ दुवै टोली दोस्रो टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको फाइनल पुगेका छन् ।

पुरुषतर्फ शीर्षस्थानमा रहेको पुलिसलाई राउन्ड रोबिन लिगको अन्तिम खेलमा शुक्रबार विभागीय डर्बीमा आर्मीले ३–० को सोझो सेटमा पाखा लगायो । आर्मीले २५–१५, २५–१८, २५–१३ ले सेट जितेको थियो । पराजयसँगै पुलिस तेस्रो स्थानमा खुम्चियो । आर्मीले ९ अंकसहित लिगमा दोस्रो स्थान बनाएर फाइनल प्रवेश गर्दा पहिलो स्थानमा भने १० अंकसहित टिपटप हेल्प नेपाल स्पोटर््स क्लब छ ।

शुक्रबार हेल्प नेपालले साविक विजेता गण्डकी प्रदेशलाई २५–१८, २५–१५, २५–२३ को सेटमा पन्छाउँदै फाइनल सुनिश्चित गरेको हो । शनिबार आर्मी र हेल्प नेपालबीच फाइनल हुनेछ ।

महिलातर्फ दुई विभागीय डर्बीमै फाइनल प्रतिस्पर्धा हुने भएको छ । उपाधिका लागि आर्मी र एपीएफ भिड्ने छन् । शुक्रबार आर्मीले पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो । पहिलो सेट २१–२५ ले गुमाएको आर्मीले बाँकी ३ सेटमा पुलिसलाई कुनै मौका दिएन । लगातार तीन सेट २५–१८, २५–२०, २५–१८ ले आर्मीले आफ्नो पक्षमा पार्‍यो ।

आयोजक टाइगर ग्रुपलाई एपीएफले ३–१ कै सेटमा हराएर फाइनलमा आफ्नो स्थान सुरक्षित बनायो । पहिलो दुई सेट २५–१४, २५–२० ले जितेको एपीएफले तेस्रो सेट जोगाउन नसक्दा २३–२५ ले टाइगर ग्रुपलाई सुम्पिनुपर्‍यो । प्रतिस्पर्धात्मक चौंथो सेट २८–२६ ले रक्षा गर्दै एपीएफले फाइनलमा स्थान बनायो ।

प्रकाशित : पुस ३०, २०७८ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?