आर्मी र हेल्प नेपालको आशा

पोखरा — दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी र टिपटप हेल्प नेपालले फाइनल पुग्ने सम्भावना जीवित राखेका छन् ।

दुवै टिमले प्रतियोगिताको तेस्रो दिन बिहीबार विपक्षीलाई पराजित गर्दै फाइनल पुग्ने सम्भावना कायम राखे । पुलिस अपराजित रहँदै ८ अंकसहित शीर्षस्थानमा छ । हेल्प नेपालले एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै ७ अंक जोडेको छ । पहिलो सेट २३–२५ ले एपीएफलाई सुम्पिएको हेल्प नेपालले त्यसपछि २५–२०, २५–१५, २५–१९ ले लगातार सेट आफ्नो पक्षमा पार्‍यो । चौथो हार बेहोरेको एपीएफ खाता नखोल्दै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

साबिक विजेता गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले टाइगर कपको फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा बिहीबार आर्मीले पहिलो सेटमा २५–१५ ले गण्डकीलाई रोक्यो । दोस्रो सेट २०–२५ ले गुमाएको आर्मीले तेस्रो सेट २५–१५ ले नै आफ्नो पक्षमा पार्दै खेलमा फर्कियो । प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा आर्मीले २६–२४ को नतिजा निकाल्न सफल भयो । आर्मीले ३ खेलबाट ६ अंक जोडेको छ । हारसँगै साबिक विजेता गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ । एक खेल खेल्न बाँकी रहेको गण्डकीसँग ३ खेलबाट ३ अंकमात्रै छ ।

फाइनल प्रवेश गर्ने टिम शुक्रबारको खेलले निर्धारण गर्नेछ । लिगका अन्तिम चरणमा शुक्रबार हेल्प नेपाल स्पोर्ट्स क्लबले गण्डकी प्रदेश तथा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : पुस ३०, २०७८ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?