कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
प्रधानमन्त्री कप क्रिकेट

एपीएफको तेस्रो जित

काठमाडौँ — नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित पाए पनि सेमिफाइनल सुरक्षित हुन सकेको छैन । एपीएफले बिहीबार रोमाञ्चक खेलमा गण्डकी प्रदेशलाई २ रनले पराजित गर्‍यो । समूह ‘बी’ मा समान २ खेल खेल्दै १–१ जित निकालेका वाग्मती र लुम्बिनी प्रदेशले मात्र गणितीय हिसाबमा एपीएफलाई उछिन्न सक्छन् । एपीएफले शुक्रबार लुम्बिनीसँग खेल्दै छ । यसमा आफूअनुकूल नतिजा निकालेमा एपीएफ सेमिफाइनल प्रवेश गर्नेछ । 

एपीएफको तेस्रो जित

मूलपानीको माथिल्लो क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफ १८.४ ओभरमा ९२ रनमै अलआउट भयो । जवाफमा आएको गण्डकीलाई ९०–७ को स्कोरमा रोक्दै एपीएफले नाटकीय जित हात पार्‍यो । अन्तिम ओभरमा गण्डकीलाई ६ रन चाहिने अवस्थामा किशोर महतोले विधान श्रेष्ठलाई आउट गरे भने विशाल पौडेल रनआउट भए । गण्डकीले उक्त ओभरमा २ रनमात्र जोडेर हार स्वीकारेको थियो ।

विधानले ४९ बलमा १ चौकासहित २९ रन बनाए । कप्तान विपिन खत्रीले ३९ बलमा ३ चौका र १ छक्कासहित ३६ रन जोडे । यी दुईबाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । प्लेयर अफ द म्याच एपीएफका कमलसिंह ऐरीले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । किशोर महतोले ४ ओभरमा १७ रन खर्चेर २ र अविनाश बोहराले १ विकेट लिए ।

यसअघि एपीएफबाट ओपनर प्रदीप ऐरीले सर्वाधिक १७ रन बनाए । आसिफ शेख १६, दीपक बोहरा १५, सुमित महर्जन १२ र सन्दीप जोरा १० रनमा आउट भए । गण्डकीका कमल परियारले ३, विशालले २ तथा चन्द्र पौडेल, कृष्ण पौडेल र सुवास भण्डारीले १–१ विकेट लिए ।

अघिल्लो रातको वर्षाले मैदान भिजाएको कारण मूलपानीमा हुने भनिएको त्रिभुवन आर्मी र प्रदेश १ बीचको पहिलो खेल रद्द भएको थियो । यसले विशेष गरी आर्मीलाई ठूलो आघात पुगेको छ । आर्मी पछिल्लो खेलमा एपीएफसँग ४ विकेटले पराजित भएको थियो । आर्मी र सुदूरपश्चिमबीच शुक्रबार मूलपानीमा हुने खेलको विजेता सेमिफाइनल पुग्ने सम्भावना बलियो छ । समूह ‘ए’ मा नेपाल पुलिस क्लबले पहिलो दुवै खेल जितेको छ । आर्मीको ३ खेलमा ३, सुदूरपश्चिमको २ र कर्णालीको ३ खेलमा २–२ तथा प्रदेश १ को २ खेलमा १ अंक छ । सुदूरपश्चिमले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीलाई ४७ रनले हराएको थियो ।

टस हारेपछि ब्याटिङ गरेर सुदूरपश्चिमले १५३–८ को स्कोर बनायो । नेपाली यू–१९ का विकेटकिपिङ ब्याटर अर्जुन साउदले २३ बलमा ३२ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे । वसन्त कार्कीले १७ बलमा ३ छक्कासहित २८, दीपक बोहराले २७ बलमा २५ र खडक बोहराले २४ बलमा २२ रन बनाए । कर्णालीका प्रकाश जैसीले ४ ओभरमा ३६ रन खर्चेर ३, कप्तान रवीन्द्र शाही र दिवान पुनले २–२ तथा दिनेश अधिकारीले १ विकेट लिए ।

कर्णाली जवाफमा १९.१ ओभरमा १ सय ६ रनमा अलआउट भयो । रवीन्द्रले ४३ बलमा ४ चौकासहित ३५, अर्जुन घर्तीले २४ बलमा ३ चौका र १ छक्कासहित ३० र अनुप कुँवरले १३ रन बनाए । शेर मल्ल ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । उनी प्लेयर अफ द म्याच भए । हेमन्त धामीले २ तथा विकास अग्री, आदित्य महता र गजेन्द्र बोहराले १–१ विकेट लिए । अर्को खेलमा लुम्बिनीले प्रदेश २ लाई ४२ रनले हरायो । ओपनर देव खनालले ३८ बलमा ५४ रन बनाएपछि टस जितेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाई १ सय ६१ रन बनायो । देवले ३८ बल खेल्दै ४ चौका र २ छक्कासहित ५४ रन बनाए । सौरभ खनाल १०, सुशान्त थापा १४, बासिर अहमद ३७ बलमा ३०, सन्दीप रजाइली १८ बलमा ३० रन बनाई आउट भए । प्रदेश २ का विवेक यादव र रुपेश सिंहले २–२ तथा हरिशंकर साह, महबुब आलम र विशाल सुस्लिङले १–१ विकेट लिए ।

अनिल खरेलले ५ विकेट लिएपछि प्रदेश २ ले ११९–९ को स्कोरमात्र बनाउन सक्यो । प्लेयर अफ द म्याच अनिलले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चे । कप्तान कृष्ण कार्की, सिद्धान्त शाही र बसिर अहमदले १–१ विकेट लिए । चोटका कारण दसौं नम्बरमा ब्याटिङ गर्न आएका विवेकले २४ बलमा अविजित ३६ रन बनाए । उनले २ चौका र ३ छक्का प्रहार गरे । सन्तोष कार्की र हरिशंकर झा १४–१४, आदिल आलम र रूपेश १३–३ तथा महबुब ११ रनमा आउट भए ।

प्रकाशित : पुस ३०, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?