पुलिसको त्यो अविजित ४९ खेल

१५ वर्षअघि पुलिसले सुरु गरेको यात्राबारे चर्चा गर्दा अहिलेको टिमलाई केही उत्साह मिल्ने हो कि ?
हिमेश

काठमाडौँ — यो त्यतिबेलाको कथा हो, जतिबेला पुलिस नेपाली फुटबलमा साँच्चै ‘अजय’ थियो । फुटबलमा कथा हुन्छन् र ? हुन्छ । अहिलेका पुलिस फुटबल समर्थकलाई यसबारे सुनाउने हो भने त्यो उनीहरूले यसलाई कथा नै मान्ने छन् । र, यो नेपाली लिग फुटबलको त्यस्तो कीर्तिमान हो, जुन तोडिन गाह्रो छ । सायद तोडिने छैन पनि । वर्ष ०६३ देखि ०६८ बीच लिगका तीन संस्करणमा पुलिस लगातार ४९ खेल अपराजित थियो ।

पुलिसको त्यो अविजित ४९ खेल

यो यात्रा सुरु भएको थियो, ठ्याक्कै १५ वर्ष अगाडि । पुस २९ को दिन अर्थात आजैको दिन । सबैभन्दा पहिले अहिले चलिरहेको लिगकै कुरा । सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ को आठौं चरण समाप्तिमा पुलिस ११ औं स्थानमा छ । ८ खेलबाट जम्माजम्मी ७ अंक । पुलिस रेलिगेसन क्षेत्रबाट दुई अंकमात्र माथि छ । यस्तोमा पुलिसलाई रेलिगेसनको डर उत्पन्न हुन थालेको छ । पुलिसले अब बाँकी खेलमा केही गतिलो गर्न सकेन भने आपत्ति आइपर्न सक्नेछ ।

सायद १५ वर्षअगाडि पुलिसले सुरु गरेको यात्राबारे चर्चा गर्दा अहिलेको टिमलाई केही भए पनि उत्साह मिल्ने हो कि ? त्यस यात्राका एक महत्त्वपूर्ण साक्षी त अहिलेका प्रशिक्षक अनन्त थापा हुन् । पुलिसले वर्ष ०६० सालदेखि ‘ए’ डिभिजन खेल्न थालेको हो । सुरुआती तीन प्रयासमा पुलिसले केही गर्न सकेन । वर्ष ०६० र ०६१ मा पुलिस दोस्रो स्थानमा रह्यो । वर्ष ०६३ मा आइपुग्दा त पुलिस चौथो स्थानमा पुग्यो । भन्न थालिएको थियो, लिग फुटबल संरचना पुलिसका लागि बनेकै थिएन ।

त्यस्तोमा एक ठूलो निर्णय आयो, प्रशिक्षक फेर्ने । त्यतिबेलासम्म प्रशिक्षक थिए, योगम्बर सुवाल । उनले नै पुलिस फुटबललाई उम्दा त बनाए, तर लिग जिताउन सकेनन् । पुलिसले भित्र्याएका नयाँ प्रशिक्षक थिए, विराटकृष्ण श्रेष्ठ । उनी के आए, पुलिसले लिग फुटबलकै नयाँ इतिहास रच्यो । पुलिसले ०६३, ०६६/०६७ र ०६८ मा लगातार तीनपल्ट लिग जित्यो । यो उपाधिमाथि पुलिसको अद्वितीय र गजबको ह्याट्रिक उपलब्धि थियो ।

वर्ष ०६३ को संस्करण दोहोरो लिग थियो, सहभागी १४ टिमले एक आपसमा दुईपल्ट खेलेका थिए । पुलिस त्यस वर्ष सुरुआती १४ खेलमा अपराजित रह्यो । टोलीले ३८ अंक बटुलेको थियो । लागिरहेको थियो, कम्तीमा यसपल्ट पुलिसलाई कसैले रोक्ने छैन । तर पुस २४ को १५ औं चरणको खेलमा पुलिस ब्वाइज युनियनको हातबाट ३–० ले पराजित रह्यो । यो वास्तवमै स्तब्धपूर्ण नतिजा थियो । पुलिसको लिग उपाधि यात्रामा फेरि शंका उत्पन्न भएको थियो ।

तर, यसपल्ट केही खराब भएन । पुलिसले लगत्तै पुस २९ को १६ औं चरणको खेलमा संकटालाई १–० ले हरायो । यसमा निर्णायक गोल गर्ने खेलाडी थिए, जुमनु राई । यही दिनबाट सुरु भएको हो, पुलिसको दुर्लभ ऐतिहासिक यात्रा । त्यो दिनबाट पुलिस लगातार ४९ खेलमा अपराजित रह्यो । यो अपराजित यात्रा वर्ष ०६८ को असार २९ सम्म चल्यो । त्यो भनेको ४ वर्ष ६ महिना । वर्ष ०६६/०६७ को लिगमा पुलिस एकै खेलमा पनि पराजित रहेन । सबै २२ खेलमा अपराजित रह्यो ।

यो पनि दोहोरो लिग थियो । सहभागी १२ टिमले एकअर्काविरुद्ध दुईपल्ट खेले । वर्ष ०६८ को लिगमा १८ टिम थिए । प्रतियोगिता भने एकै राउन्डको । पुलिसले त्यस लिगको १६ औं चरणको खेलमा थ्रीस्टारलाई १–० ले हराएपछि लगातार तेस्रोपल्ट उपाधि जित्ने निश्चित भइसकेको थियो । मात्र औपचारिकता बाँकी थियो । त्यो जितमा सुमन सुवेदीले निर्णायक गोल गरेका थिए । यो जितपछि पुलिसको ४४ अंक भएको थियो, दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी ४१ अंकमै थियो ।

लिगको अन्तिम खेलमा यिनै पुलिस र मनाङ भिडे । त्यसमा मनाङ १–० ले विजयी रह्यो । गोल गर्ने खेलाडी थिए, अनिल गुरुङ । यसरी पुलिसको ४९ खेलको अविजित यात्रा टुंगियो । पुलिसले आफ्नो अपराजित यात्रा ५० खेलसम्म पुर्‍याउन सकेन । तर पुलिसलाई मनाङले लिग जित्नबाट भने रोक्न सकेन । दुवै टिम समान ४४ अंकमा रहे, तर पुलिस गोलअन्तरले उपाधि जित्न सफल रह्यो । खेलपछि पुलिस प्रशिक्षक श्रेष्ठले भनेका थिए, लिग जितिरहेको बेला यो कीर्तिमानको के नै अर्थ रह्यो र ?

तर, त्यो खासमा पुलिस फुटबलको अन्त्यको सुरुआत थियो । वर्ष ०६९ को लिगमा पुलिस आठौं स्थानमा आयो । डिफेन्डिङ च्याम्पियन पुलिसको प्रदर्शन निकै खराब रह्यो । वर्ष ०७० मा पुसिस तेस्रो स्थानमा त रह्यो, तर वर्ष ०७५ मा फेरि छैटौं स्थानमा झर्‍यो । वर्ष ०७६ को पछिल्लो लिगमा पुलिस पाँचौं स्थानमा थियो । अहिले यही पुलिस टिम ११ औं स्थानमा छ । वर्ष ०६८ सम्म पुलिस जहाँ लिगका ६ खेलमा पराजित थियो । वर्ष ०६९ यता १८ खेलमा पराजित छ ।

फुटबलमा मात्र होइन, सबै क्षेत्रमा एकपल्ट शिखरमा पुगेपछि त्यहाँ कायम रहन गाह्रो हुन्छ । अझ लामो समय शीर्षमा रहेको टिमले पछि आफूलाई ढंगले सम्हाल्न सकेन भने टिमको पतन सुरु हुन्छ ।

विश्व फुटबलमा यस्ता धेरै उदाहरण छन्, ‘फलन जायन्ट्स’ को । अहिले पुलिसलाई यस्तै भएको त होइन ? तर ढिला भएको केही पनि छैन । अहिले कम्तीमा पुस २९ कै दिन पुलिसले १५ वर्षअगाडि सुरु गरेको यात्रा अहिले सम्झँदा रोमाञ्चक हुने बहाना त बन्छ नै ।

प्रकाशित : पुस २९, २०७८ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?