१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पुलिसलाई इतिहासले बिझाउँदै

लिगमा आठ चरणसम्मको प्रदर्शनलाई आधार मान्ने हो भने पुलिसको यो अहिलेसम्मकै खराब हो
हिमेश

काठमाडौँ — घरेलु फुटबलमा नेपाल पुलिस क्लबको टिम ‘फलन जायन्ट्स’ जस्तै भएको छ । ठ्याक्कैभन्दा पुलिसलाई इतिहासका आफ्नै उपलब्धिले बिझाउन थालेको छ । केही वर्षअघिसम्म पनि पुलिस आफूले खेलेका प्रत्येक प्रतियोगितामा उपाधिका लागि चुनौती पेस गर्ने गर्थ्यो । तर अब त्यस्तो रहेन । कम्तीमा लिग फुटबलमा त पुलिसको यस्तो प्रदर्शन रहँदै रहेन । सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ को आठौं चरण आइपुग्दा पुलिसले ७ अंकमात्र बटुलेको छ ।

पुलिसलाई इतिहासले बिझाउँदै

यो रेलिगेसन क्षेत्रबाट खालि २ अंकको अग्रता हो । लिगमा पुलिसले रेलिगेसनबाट बच्न संघर्ष गर्नुपर्नेछ भन्दा त्यो धेरैलाई पचाउन गाह्रै तथ्य हुन्छ । खासमा पुलिसको यो अहिलेसम्मकै सबैभन्दा खराब प्रदर्शन हो, आठ चरणसम्म आधार मान्ने हो भने । पुलिसले पाँचपल्ट लिग जितेको छ । त्यसमध्ये तीनपल्ट आधुनिक समयमा हो । त्यो भनेको वर्ष ०६३, ०६६/०६७ र ०६८ मा । लगातार तीनपल्ट लिग जितेर पुलिसले उपाधिमाथि ह्याट्रिक नै गरेको थियो ।

त्यही समयका प्रमुख खेलाडी अनन्त थापा अहिले पुलिस टिमका प्रशिक्षक छन् । सोमबार आठौं चरणको खेलमा पुलिस ब्रिगेड ब्वाइजको हातबाट १–१ को बराबरीमा रोकिएपछि उनले भने, ‘त्यतिबेला पुलिसले तीनपल्ट लगातार लिग जितेको थियो भनेर अहिले केही हुन्न ।’ उनी खेलपछिको पोस्टम्याच कन्फ्रेन्समा केही व्यंग्य गर्ने मनसायमा देखिए । त्यो व्यंग्य आफ्नै खेलाडीतिर थियो वा व्यवस्थापकतिर, या पत्रकारतर्फ नै । त्यो छुट्टिन गाह्रो थियो ।

उनले भनेका थिए, ‘अहिले जस्तो प्रकारको नतिजा आइरहेका छ, त्यसले नेपाली फुटबल विकास भएकै मान्नुपर्छ । अहिले हाम्रो रणनीति भनेको आफूमुनिका टिमलाई ३ अंक बटुल्नबाट रोक्ने हो । आफूमुनिका टिमविरुद्धको खेल गुमायौं भने त गाह्रै हुन्छ ।’ संयोग कस्तो भने पुलिसमुनि तीन टिममात्र छन् । त्यसमा एक त ब्रिगेड ब्वाइज नै भयो । अर्को दुई रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेका पुछारका दुई टिम च्यासल र फ्रेन्ड्स हुन् ।

सबैभन्दा कमजोर सुरुआत

पुलिसले ०१२ र ०१३ सालतिर पनि सहिद स्मारक लिग जितेको थियो । तर त्यतिबेला के कसरी जित्यो, त्यो कसैलाई थाहा छैन । अहिले न कसैले भन्न सक्नेछन् । ती सबै इतिहासमै बिलाए । तर, पुलिसले ०६० सालदेखि फेरि लिग खेल्न थाल्दाको इतिहास भने हामीसँग छर्लङ्गै छ । मिनेट मिनेटको हिसाब गर्न सकिन्छ । त्यो आधारमा भन्न कर लाग्छ, पुलिसले यसपालि लिगमा अहिलेसम्मकै कमजोर सुरुआत लिएको छ । टिम कमजोर हुन थालेको संकेत आएर पनि नदेखे जस्तै गरेको पनि लामै भइसकेको छ ।

पुलिसले वर्ष ०६० मा पहिलोपल्ट आधुनिक समयको लिग खेल्दा सुरुआती ८ खेलपछि १७ अंक बटुलेको थियो । यही स्थितिमा पुलिसले ०६१ मा २२ र ०६२ मा २० अंक हात पारेको थियो । यी तीनै अवसरमा पुलिसले उपाधि जित्न सकेन । त्यसपछि वर्ष ०६३ देखि लगातार तीन संस्करणका उपाधि जितेको थियो । त्यतिबेला पुलिसले सुरुआती आठ खेलमा क्रमशः २२, १८ र २० अंक प्राप्त गरेको थियो । वर्ष ०६९ देखि पुलिसको प्रदर्शन ओरालो लाग्न थालेको हो ।

त्यो वर्ष पुसिसको ८ खेलपछि मात्र ९ अंक लिएको थियो । अब यही खराब प्रदर्शनलाई पुलिसले अहिले उछिनेको छ । टोलीले वर्ष ०७० र ०७५ मा समान १४ अंक बनाएको थियो । वर्ष ०७६ मा भने ११ अंकमात्र भयो । यी घट्दो अंकले प्रस्ट देखाउने गर्छ, पुलिस अब त्यस्तो रहेन । जस्तो, पहिले हुने गर्थ्यो । प्रशिक्षक अनन्तले पनि मानेका छन्, पुलिसले फुटबलमा केही नगरे अब गाह्रो हुन्छ । अहिले आधुनिक फुटबल आइसकेको छ, पुलिसले पनि अब सोच्नैपर्छ ।

सुरुकै चार मिनेटमा दुई गोल

दशरथ रंगशालामा यसपल्ट पुलिसले ब्रिगेड ब्वाइजको सामना गर्दाको सबैभन्दा ठूलो विशेषता भन्नु नै सुरुकै चार मिनेटमा दुई गोल निस्कनु हो । ब्रिगेड ब्वाइजले दोस्रो मिनेटमा रोशन रानामगरको गोलले अग्रता लिएको थियो । तर, त्यो दुई मिनेट पनि टिकेन । पुलिसका लागि बुद्ध तामाङले गोल फर्काइहाले । त्यसपछि बाँकी समय दुवै टिमले आक्रमण त बुनेका थिए, तर त्यो निर्णायक हुन सकेन । यो नतिजाले ब्रिगेड ब्वाइज आफैं पनि समस्यामा परेको छ ।

बिग्रेडको पनि ६ अंकमात्र छ । टोली पुछारबाट तेस्रो स्थानमा छ । ब्रिगेड ब्वाइजका प्रशिक्षक सनोज श्रेष्ठले खेल दुवै टिमका लागि बराबरीको स्थितिमा रहेको बताए । उनले सुरुमै गोल निकाल्ने रणनीति सफल भए पनि त्यो लामो समय नटिकेको स्वीकारे । ब्रिगेड ब्वाइजका लागि नियमित कप्तान अनिल गुरुङ चोटमुक्त भएर पूरा ९० मिनेट मैदानमा ओर्लिनु सबैभन्दा ठूलो रह्यो । उनी खेलमा छाएका पनि देखिए, खुबै खटिएर खेले ।

सायद प्रशिक्षक श्रेष्ठलाई पनि कप्तान अनिलबाट धेरै अपेक्षा रहेको हुनसक्छ । उनले आफ्ना प्रमुख खेलाडीको खुलेर प्रशंसा गरे । ब्रिगेड ब्वाइजलाई रेलिगेसनबाट जोगाउने हो भने अनिलले अबका खेलमा निर्णायक प्रदर्शन गर्नुपर्नेछ । तर, अनिलले वर्ष ०७० यता लिगमा गोल गर्न बिर्सेका छन्, त्यसलाई सम्झनुपर्नेछ । अनिलले वर्ष ०७५ र ०७६ को लिगमा कुनै गोल गर्न सकेनन् । अब अनिललाई भन्दा पनि ब्रिगेड ब्वाइजलाई उनको गोल आवश्यक छ ।

प्रकाशित : पुस २७, २०७८ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?