रहेनन् पहिलो ओलम्पिक सेफ द मिसन

हिमेश

काठमाडौँ — नेपालले सन् १९६४ को टोकियो ओलम्पिकमा पहिलोपल्ट सहभागिता जनाएको थियो । त्यस अर्थमा त्यस संस्करणको ओलम्पिकको नेपाली खेलकुदमा ठूलो महत्त्व छ । कुल ६ खेलाडीसहित सानो नेपाली टोली थियो, त्यो । त्यसकै एक सदस्य द्वारिकाराम भगत माथेमाको गत साता निधन भएको छ । त्यस ओलम्पिकको उद्घाटन समारोहमा उनले नेपालको झन्डा बोक्ने अवसर पाएका थिए, किनभने उनी त्यस ओलम्पिकमा नेपालका सेफ द मिसन थिए ।

रहेनन् पहिलो ओलम्पिक सेफ द मिसन

त्यस अर्थमा नेपालको ओलम्पिक इतिहासमा उनी भाग्यमानी पहिलो सेफ द मिसन थिए । नेपालमा खेलकुदको आधिकारिक रूपमा जग बस्न खोज्दाको जमानाका तिनै माथेमाको गत साता ९० वर्षको उमेरमा निधन भएको हो । सुरुआती समयमा उनले नेपाली खेलकुदका महत्त्वपूर्ण पदमा लामो समय बिताए र अहिले उनको निधन भने त्यही नेपाली खेलकुदका लागि गुपचुप जस्तै रह्यो । कम्तीमा पनि पहिलो ओलम्पिक सेफ द मिसनका रूपमा उनलाई सम्झनुपर्ने नै थियो ।

नेपाली खेलकुदका लागि उनी ऐतिहासिक व्यक्तित्व हुन्, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य मान्छन् । ‘टोकियो ओलम्पिकमा सहभागी सबै खेलाडीदेखि पदाधिकारी नेपाली ओलम्पिकका लागि ऐतिहासिक नाम हुन्,’ उनले भने । नेपाली खेलकुदका लागि उनको सबैभन्दा ठूलो योगदान भनेको प्रतियोगिताका रूपमा पञ्चायतकालमा वीरेन्द्र सिल्डको जन्म हो । उनी त्यस प्रतियोगिताका एक प्रमुख योजनाकार थिए ।

आफ्नो युवा समूहमा माथेमाले लगभग सबै खेल खेले, तर उनी सायद उत्कृष्ट खेलाडी थिएनन् । तर उनी ‘इन्स्ट्रक्टर’ भने उम्दा थिए । सुरुआती शिक्षा भारतको दार्जिलिङमा हासिल गरेका उनले नेपाल फर्केयता शारीरिक शिक्षामा जोड दिएर काम गरेका थिए । लामो समय सरकारी सेवामा रहे र त्यसपछि नेपाली खेलकुदमै व्यस्त रहे । वरिष्ठ पत्रकार श्याम चित्रकार मान्छन्, माथेमाले पर्दा पछाडि रहेर लामो समय नेपाली खेलकुदको सेवा गरे ।

उनी भन्छन्, ‘उनी नेपाली खेलकुदले कहिल्यै बिर्सन नहुने नाम हो ।’ पञ्चायतको समयमा वीरेन्द्र सिल्ड नै त्यस्तो प्रतियोगिता थियो, जसले लगातार राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीलाई जन्म दिइरह्यो । माथेमाले नेपाल एमेच्योर एथलेटिक्स संघसँगै खेलकुद परिषद्, ओलम्पिक कमिटी र नेपाल फुटबल संघमा रहेर लामो समय काम गरे । सन् २०२५ देखि २०४५ सम्म उनी एथलेटिक्स संघका अध्यक्ष थिए । यस्तै २०२६ देखि २०४५ सम्म उनी परिषद्का सदस्य थिए ।

उनले २०१६ देखि २०२४ सम्म तात्कालीन नेपाल फुटबल संघका महासचिव भएर काम गरे । उनी ओलम्पिक कमिटीमा सदस्य रहे, जति बेला यो संघको नेतृत्वमा खड्गविक्रम शाह थिए । कमिटीले उनको निधनमा शोक पनि जनाएको छ र नेपाली खेलकुदमा उनको योगदानको मूल्यांकन गर्नुपर्ने पनि बताएको छ । पत्रकार चित्रकार भन्छन्, ‘सुरुआती दिनमा नेपाली एथलेटिक्स काठमाडौंमै मात्र केन्द्रित थियो, माथेमाले नै यसलाई पहिलोपल्ट राजधानी बाहिर लाने काम गरे ।’

माथेमाका भाइ श्रीराम भगत माथेमा के मान्छन् भने उनको सबैभन्दा ठूलो योगदान नेपाली एथलेटिक्स र फुटबलमा रह्यो । ती सुरुआती दिन थिए र उनले यी खेलको जग बसाउन ठोस भूमिका खेले । ‘हाम्रो परिवार नेपाली खेलकुदप्रति उहाँले पुर्‍याउनुभएको योगदानको गर्व गर्छ,’ उनी भन्छन् । माथेमाको शनिबार अन्तिम संस्कार गरिएको थियो । नेपाली खेलकुदलाई आफ्नो इतिहास बिर्सने बानी छ, नेपालको पहिलो ओलम्पिक सेफ द मिसनको निधन पनि यस्तै रह्यो ।

प्रकाशित : पुस २६, २०७८ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?