सहिद स्मारक लिग

फ्रेन्ड्स अझै आत्मविश्वासी

काठमाडौँ — यो ‘टप’ भर्सेस ‘बटम’ को टिम भिडन्त थियो । जित अंक तालिकाको शीर्षस्थानमै रहेको मछिन्द्रकै पक्षमा रह्यो । तर, खेल सकिँदा उल्टै फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्र आत्मविश्वासी देखिए । बरू मछिन्द्रकै प्रशिक्षक प्रवेश कटुवालले खेलमा गाह्रो भएको माने । खेलाडी छँदा प्रवेश कुनै समय थ्रीस्टारबाट खेल्थे । त्यतिबेला कुनै अवसरमा उनका प्रशिक्षक थिए, मिश्र । आठौं चरण आइपुग्दा पनि जितविहीन एक्लो टिम रहेको छ फ्रेन्ड्स ।

फ्रेन्ड्स अझै आत्मविश्वासी

सहिद स्मारक लिग ‘ए’ डिभिजनको शनिबार दशरथ रंगशालामा भएको खेलमा आत्मघाती गोलका कारण फ्रेन्ड्स १–० ले पराजित रह्यो । त्यही खेलपछि प्रशिक्षक मिश्रले फ्रेन्ड्सलाई जसरी भए पनि आफूले रेलिगेसनबाट जोगाउने दाबी गरे । उनको ‘जसरी भए पनि’ भनाइ आफैंमा अर्थपूर्ण छ । उनी भन्थे, ‘अझै ५ खेल बाँकी छ । यी खेलमध्ये तीन खेल जित्नैपर्छ । अरूको पनि धेरै अंक छैन । अबको खेलमा यस्तै खेल्ने हो भने जोगिन्छौं ।’

खेलको एकमात्र गोल ६८ औं मिनेटमा भएको थियो । यो वास्तवमै दुर्भाग्यपूर्ण रह्यो । बल क्लियर गर्ने प्रयासमा रोनेल एन्थोनी पाउलको हेडिङले पोस्टको दिशा लिएको थियो । फ्रेन्ड्स तीन अंकमै सीमित रहेर तालिकाको पुछारमा छ । मछिन्द्रले भने तालिकामा २० अंक लेखाएको छ । लिग उपाधि रक्षा गर्नेक्रममा थप एक पाइला चालेको छ । मछिन्द्र अहिलेसम्म अपराजित छ । टोलीको लिगमा अपराजित यात्रा १४ खेलसम्म पुगेको छ । मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ पनि आफ्नो खेलजीवनकै उत्कृष्ट लयमा बगिरहेका छन् । उनले यसपल्ट लगातार क्लिन सिट राखेको खेल ७ पुगेको छ ।

रंगशालामा शनिबारै दोस्रो खेलमा भने आर्मीले एनआरटीलाई १–० ले पराजित गर्‍यो । हारपछि एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य निराश देखिए । उनले टिमको प्रदर्शन यो खेलमा राम्रो नरहेको माने । एनआरटी स्वयं एक प्रकारको लयबाट गुज्रिने प्रयासमा थियो । टोलीको ५ खेलको अपराजित यात्रा टुंगिएको छ ।

आर्मीका लागि भने यो जित ठूलो राहतको रूपमा आएको छ । लगातार तीन बराबरी खेलेपछि आर्मीले जित निकालेको हो । खेलपछि आर्मी प्रशिक्षक नवीन न्यौपानेले फेरि एकपल्ट शीर्ष चार स्थानका लागि टोलीले आफ्नो चुनौती पेस गरेको माने ।

जितपछि आर्मीको १४ अंक भएको छ । टोली चौथो स्थानमा छ । तेस्रोमा रहेको संकटा र आर्मी दुवैको समान अंक छ । संकटा गोल अन्तरले अगाडि रहेको हो । उनीहरूको ठीक अगाडि मनाङ मर्स्याङ्दी १९ अंकसहित दोस्रोमा छ । मनाङले शनिबारै पोखरामा च्यासललाई ५–० ले हराएको थियो ।

रंगशालामा खेलको १७ औं मिनेटमा आर्मीले निकालेको गोल धेरै हदसम्म विवादस्पद रह्यो । जगजित श्रेष्ठले निकालेको सटिक क्रसमा दिनेश हेम्जनले हेड गर्दै गोल गरेका हुन् । जतिबेला जगजितले बल नियन्त्रणमा लिएका थिए, त्यतिबेलासम्म मैदानमा अर्को दोस्रो बल पनि थियो । मैदानमा दुई बलमा हुँदा खेल रोकिनुपर्छ, यदि त्यो दोस्रो बलले खेलमा अवरोध पुर्‍याएको छ भने । मूल प्रश्न, के त्यो दोस्रो बललाई त्यस्तै अवरोधको काम गरेको थियो त ?

रेफ्री नवीन्द्र महर्जनले त्यस्तो मानेनन् र गोल कायम रह्यो । तर एनआरटीका खेलाडीको आर्मीले बुनेको आक्रमणमा भन्दा त्यही बलमा केन्द्रित थियो । बलले पोस्टको दिशा लिने बित्तिकै यसबारे एनआरटी गोलरक्षक अजित प्रजापतिले विरोध गर्न खोजे, तर त्यो त्यत्तिकै रह्यो । यस्तो गोलमा पराजित हुने टिमको गुनासो प्रायः हुने गर्छ । अजित खेलमा सबैभन्दा सक्रिय खेलाडी जस्तै रहे । उनले आर्मीले बुनेको एकपछि अर्को आक्रमण निस्तेज बनाइरहे ।

प्रकाशित : पुस २५, २०७८ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?