२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२
'ए' डिभिजन लिग

मनाङको दाउ

पोखरा — एएफसी कप खेल्ने अवसर चुकाएपछि मनाङ मर्स्याङ्दी क्लब यतिखेर सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जित्ने दाउमा छ । साबिक विजेता मछिन्द्रसँग अघिपछि हुँदै लिगको दोस्रो स्थानमा रहेको मनाङले शनिबार पोखरामा च्यासल युथ क्लबसँग खेल्दै छ ।

मनाङको दाउ

‘होम ग्राउन्ड’ मा मनाङको यो तेस्रो तथा अन्तिम खेल हो । यसअघि पुलिस र ब्रिगेड ब्वाइज क्लबलाई मनाङले पोखरा रंगशालाको फुटबल मैदानमा हराएको थियो । लिगको सातौं चरणसम्म मछिन्द्रको १७ अंक हुँदा मनाङको १ अंकमात्रै कम छ । आठौं चरणमा शनिबार च्यासललाई हराएर मनाङ उपाधि यात्रातर्फ लम्किने तयारीमा छ । मनाङका प्रशिक्षक तोपे फुजाले शनिबार खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरे।

एएफसी खेल्न छनोट नहुँदा सुरुआतमा खेलाडीमा नैराश्यता देखिए पनि अहिले त्यसबाट बाहिर निस्किएको उनले बताए । ‘अहिले हाम्रा खेलाडीमा आत्मविश्वास घटेको छैन,’ शुक्रबार प्रि–म्याच कन्फ्रेन्समा उनले भने, ‘अब लिग जित्नेतर्फ हाम्रो नजर छ । हामी जित्ने छौं । यो हाम्रो गृहमैदान हो। हामी हार्न चाहँदैनौं ।’

मनाङको गतिला मिडफिल्डर पुजन उपरकोटी च्यासलसँग खेल्ने छैनन्। टिममा पुजन नहुँदा शनिबार रणनीति परिवर्तन हुने उनी बताउँछन्। ‘शनिबार भिन्न तरिकाले खेल्छौं,’ उनले भने, ‘खेलाडीलाई पोखरामा खेल्दा सहज हुन्छ । यो राम्रो पनि हो। फुटबल त्यतिखेर मात्रै राम्रो खेलिन्छ जतिखेर खेलाडीले खेल्न सहज मान्छन् ।’ उता च्यासललाई भने रेलिगेसनबाट बच्ने भन्ने चिन्ता छ । लिग खेलिरहेका १४ टिममध्ये अंकतालिकाको अन्तिममा हुने दुई टिम ‘बी’ डिभिजनमा झर्छन् । च्यासल ५ अंकसहित १३ औं नम्बरमा छ । रेलिगेसनबाट माथि आउन च्यासललाई जित आवश्यक छ । च्यासलका प्रशिक्षक बालगोपाल साहुखल शनिबारको खेल जित्नकै लागि खेल्ने बताउँछन् । ‘तयारी राम्रो भएको छ । गएको खेल बराबरी खेलेकाले पनि खेलाडी आत्मविश्वासी छन्,’ उनले भने, ‘रेलिगेसन जोनको पोजिसनबाट बाहिर निस्किएर नवौं, दसौं नम्बरसम्म उक्लिनेमा हाम्रो ध्यान छ ।’

आफ्ना सबै खेलाडी युवा हुँदा त्यसैको फाइदा विपक्षी टिमले उठाउने गरेको उनले बताए । अनुभवी खेलाडी नहुँदा आफ्ना खेलाडी सम्हालिन गाह्रो हुने गरेको उनको अनुभव छ । मनाङसँग भने डिफेन्सलाई बलियो बनाएर आक्रामक खेल्ने च्यासलको रणनीति छ ।

प्रकाशित : पुस २४, २०७८ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?