भारतविरुद्ध दक्षिण अफ्रिकाको सहज जित

दक्षिण अफ्रिकाले दोस्रो टेस्टमा बिहीबार भारतमाथि ७ विकेटको नतिजा निकाल्दै शृंखला बराबरीमा ल्याएको छ, निर्णायक टेस्ट केपटाउनमा 
एजेन्सी

जोहानसबर्ग — कप्तान डिन एल्गरको नटआउट ९६ रन मद्दतमा दक्षिण अफ्रिकाले दोस्रो टेस्टमा बिहीबार भारतमाथि ७ विकेटको सजिलो जित निकालेको छ ।

भारतविरुद्ध दक्षिण अफ्रिकाको सहज जित

वन्डरर्स प्राप्त यस जितपछि तीन टेस्टको शृंखला रोमाञ्चक १–१ को बराबरीमा पुगेको छ । टेस्टको चौथो दिन दक्षिण अफ्रिकाले विजय लक्ष्य पछ्याउने क्रममा तनावपूर्ण खेल हुने अपेक्षा गरिएको थियो ।

तर, वर्षाले ६ घण्टा रोकिएर सुरु भएको खेलमा घरेलु टिम सजिलै जितसम्म पुग्यो । चिया सत्रपछि खेल सुरु हुँदा फ्लडलाइट बालिएको थियो । वर्षाको सम्भावना पनि कायम थियो । दक्षिण अफ्रिकाले २ विकेट गुमाएर १ सय १८ रनको स्थितिबाट खेल्न सुरु गरेको थियो । एल्गरले रसी भान डेर डुसेनसँग पहिलो घण्टाको खेलमा ५७ रन जोडेका थिए ।

भान डेर डुसेन ४० रन बनाएर मोहम्मद सामीको बलमा कट बिहायन्ड भए । तेस्रो विकेटका लागि त्यसअगाडि उनीहरूले ८२ रनको ठोस साझेदारी गरेका थिए । लगत्तै टेम्बा बाभुमाले शार्दुल ठाकुरलाई कट एन्ड बलको अवसर दिएका थिए, तर त्यसमा बचेपछि बाभुमाले २३ रन बनाएर नटआउट रहे ।

उनले एल्गरसँग मिलेर टिमलाई जितसम्म पुर्‍याए । कप्तान एल्गरले आफ्नो अपेक्षित शतक त पूरा गर्न पाएनन् । तर उनले नै रविचन्द्रन अश्विनको बलमा चौका प्रहार गर्दै विजयी रन बटुले ।

दक्षिण अफ्रिकाले जितका लागि २ सय ४० रनको लक्ष्य पाएकोमा ३ विकेट गुमाएर त्यसलाई आत्मसात गरेको थियो । एल्गरले ४० रनको व्यक्तिगत स्कोरबाट खेल्न सुरु गरेका थिए । उनको विजयी चौकासँगै तीन विकेटसँगै २ सय ४३ रनको स्थितिमा पुगेको थियो ।

टेस्ट वरीयताको शीर्षस्थानमा रहेको भारतले नियमित कप्तान विराट कोहली घाइते भएपछि केएल राहुलको नेतृत्वमा खेलेको थियो । राहुलका लागि यो सुखद सुरुआत रहेन ।

खेलपछि एल्गरले दोस्रो टेस्टमा प्राप्त जितलाई कठिन रहेको माने । सन् २०२१ को मार्चमा मात्र दक्षिण अफ्रिकी टिमको कप्तान नियुक्त भएका एल्गरले भने, ‘यो जित पक्कै सजिलो रहेन । हामीले ब्याटिङ गर्ने क्रममा निकै कडा स्थितिको सामना गर्नुपर्‍यो । मैले चोट बोकेर पनि बहादुरीपूर्वक ब्याटिङ गरें ।’

दोस्रो टेस्टको पहिलो दिन भारत आफ्नो पहिलो इनिङ्समा २ सय २ रन बनाएर अलआउट भएपछि दक्षिण अफ्रिकाको जितको आधार तयार भएको थियो । यद्यपि सुरुआती इनिङ्सको समाप्तिमा दक्षिण अफ्रिकाले २७ रनको मात्र अग्रता लिएको थियो । भारतले दोस्रो इनिङ्समा सुधारिएको प्रदर्शन गर्दै २ सय ६६ रन बनाए पनि त्यो पर्याप्त रहेन र दक्षिण अफ्रिका विजयी लक्ष्य पछ्याउन सफल रह्यो ।

भारतीय कप्तान राहुलले आफ्नो टिमले पर्याप्त रन बनाउन नसकेको स्वीकारे । हारपछि उनले भने, ‘हामीले पहिलो इनिङ्समा २ सय २ रनमात्र बनायौं र यो पर्याप्त थिएन । सायद हामी ५० देखि ६० रनले पछाडि परेका थियौं । हामीले चाहिँदो रन बनाएको भएमात्र दक्षिण अफ्रिकालाई दबाबमा राख्न सक्थ्यौं ।’

भारतको उक्त इनिङ्समा उनले नै सर्वाधिक ५० रन बनाएका थिए । अन्य कोही पनि ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् । अनले हारको कारण खोजेर अब त्यसको विश्लेषण गर्न खोजेको बताए ।

उनले थपे, ‘दक्षिण अफ्रिका आउने बेला नै थाहा थियो, यहाँ सजिलो हुने छैन । हामीले जस्तो हार बेहोरेका छौं, त्यो पक्कै पनि निराशाजनक छ । तर भारत त्यस्तो टिम हो, जसले हारपछि अझ राम्रो खेल्ने गर्छ ।’

अब तेस्रो, अन्तिम तथा निर्णायक टेस्ट मंगलबार केपटाउनको न्युल्यान्डमा सुरु हुनेछ । त्यसमा कोहली भारतीय टिममा फर्कने विश्वास गरिएको छ । राहुलले पनि कोहली अहिले ठीक स्थितिमा रहेको बताए ।

प्रकाशित : पुस २३, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?