झापा गोल्डकप फागुन २१ देखि

अर्जुन राजवंशी

बिर्तामोड — कोभिडका कारण दुई वर्षदेखि स्थगित झापा गोल्डकपको पाँचौं संस्करण आगामी फागुनमा हुने भएको छ ।
गोल्डकप आयोजक समितिले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी फागुन २१ देखि ३० गतेसम्म गोल्डकप आयोजना गर्न लागेको जानकारी दिएको हो ।

झापा गोल्डकप फागुन २१ देखि

गोल्डकपको मितिलगायत विषयमा एन्फासँग सहमति भइसकेको गोल्डकपका संरक्षक जलकुमार गुरुङले बताए । मोफसलकै प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको गोल्डकपमा झापा–११ सहित नेपालका ९ र एक विदेशी गरी १० टिमको सहभागीता रहने गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने टिमको टुंगो लगाउने कार्य भइरहेको उनले बताए ।

गोल्डकपमा पुरस्कारहरु अघिल्लो वर्षकै कायम गरिएको छ । यस वर्षपनि गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार तथा उपविजेता टिमले नगद ६ लाख ५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्ने बस्नेतले बताए । गोल्डकपमा 'मस्ट भ्यालुएबल प्लेयर'लाई एक थान मोटरसाइकल प्रदान गरिने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही २१ हजार नगद तथा सर्वाधिक गोलकर्तालाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने पौडेलले बताए । त्यस्तै प्रत्येक दिनको खेलका म्यान अफ द म्याचले नगद ९ हजार ९ सय ९९ रुपैयाँ प्राप्त गर्ने उनले बताए ।

गोल्डकपको उद्घाटन समारोहमा जिल्लाका दुई जना पुराना फुलबल खेलाडीलाई जनही १५ हजारसहित सम्मान गरिने अध्यक्ष बस्नेतले बताए । प्रतियोगिताका सबै खेलहरु बिर्तामोड नगरपालिका ३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछन् । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष केदार गिरीले बताए ।

प्रकाशित : पुस १८, २०७८ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?