मछिन्द्रमाथि पुलिसलाई हराउनु पर्ने दबाब- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
'ए' डिभिजन लिग

मछिन्द्रमाथि पुलिसलाई हराउनु पर्ने दबाब

कान्तिपुर संवाददाता

काठमाडौँ — सहिद स्मारक 'ए' डिभिजन लिग ०७८ मा आइतबार डिफेन्डिङ च्याम्पियन मछिन्द्रले पुलिसको सामना गर्दैछ । सातौं चरणको यस खेलमा जित निकाल्न सके, मछिन्द्र फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लने छ ।

यस्तै जितसँग एएफसी कप छनोटका लागि मछिन्द्र योग्य पनि हुनेछ । जित बाहेक अन्य नतिजामा मछिन्द्र यी सबै सम्भावनाबाट वञ्चित हुनेछ, त्यसैले मछिन्द्रमाथि पुलिसलाई हराउनु पर्ने दबाब हुनेछ ।

मछिन्द्र ६ खेलबाट १४ अंकसहित दोस्रो स्थानमा छ । मनाङ मर्स्याङ्दी १६ अंकमा शीर्ष स्थानमा छ । मछिन्द्रले आफू अनुकूल नतिजा निकाल्न नसके मनाङले एएफसीकप छनोटमा नेपालको प्रतिनिधित्व गर्नेछ । पुलिस भने ६ खेलबाट ६ अंकमा सीमित रहेर दसौं स्थानमा छ ।

प्रकाशित : पुस १८, २०७८ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

कुखुरामा लाग्ने एच–९ भाइरसको खोपले स्वीकृति नपाउँदा अवैध प्रयोग बढ्यो

रमेशकुमार पौडेल

चितवन — कुखुरामा लाग्ने एच–९ नामक भाइरसले व्यवसायीलाई निकै सताएको छ । यो रोगको खोप (भ्याक्सिन) नभएको होइन । तर सरकारले खोप लगाउने स्वीकृति दिएको छैन । सरकारले स्वीकृति नदिए पनि व्यवसायीले कुखुरालाई एच–९ बाट जोगाउन धमाधम खोप लगाउने गरेका छन् । अवैध रूपमा भारतबाट किनेको खोपले नेपाली कुखुरा व्यवसायीले खाँचो टारेका छन् ।

नेपालमा पुस १७ गतेलाई पोल्ट्री दिवसका रूपमा मनाउने चलन छ । शनिबार परेको नवौं पोल्ट्री दिवसमा नारायणगढमा आयोजित कार्यक्रममा बोल्ने पोल्ट्री व्यवसायीहरूले सरकारी अधिकारीकै मिलिमतोमा अवैध रूपमा खोप ल्याउन छुट दिइएको आरोप लगाए ।

‘केहीले दक्षिणा पाएकै कारण आयात खुला नगरेर अवैध बेचबिखन भएको छ,’ नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले भने । भारतबाट एच–९ को खोप ल्याउने, बिक्री गर्ने र खरिद गर्ने मान्छे चिन्दाचिन्दै पनि सरकारले आँखा चिम्लेर बसेको उनले बताए ।

कुखुरा बचाउन एच–९को खोप प्रयोग गर्न व्यवसायीहरू बाध्य भएको उनको भनाइ छ । एच–९को मिक्स भेरियन्ट पनि निस्किएको र चीनले त्यसको पनि खोप बनाएको उनले जानकारी दिए । उक्त खोप चीनबाट नेपाल हुँदै भारत जाने र भारतबाट फेरि नेपाल आउने गरेको विष्टको भनाइ छ ।

‘मिक्स भेरिएन्टमा पनि चाइनिज भ्याक्सिनले राम्रो काम गरेको छ । तर बजार मूल्य दुई रुपैयाँ हो भने चोरी बजारमा किन्दा १२ रुपैयाँसम्म परेको छ । यस्तो मारमा छन् व्यवसायी । राज्यले नै यहाँ चोर बनाएको छ,’ विष्टले आक्रोश पोखे । खोप अवैध रूपमा आउँदा राम्रोसँग काम नगर्ने मात्रै होइन, कुखुरा नै भसक्कै मर्ने गरेको उनले बताए । हालै एच–९को खोप लगाए लगत्तै २५ हजार माउ कुखुरा मरेको उनको भनाइ छ ।

कुखुरामा निकै संक्रामक मानिने बर्डफ्लु रोग एभियनइन्फ्लुन्जा एच–५ भाइरसका कारण हुन्छ । एच–९ भाइरसले चिरपरिचित बर्डफ्लु रोगजस्तो उच्च मृत्युदर नदेखाए पनि कहिलेकाहीँ यो भाइरससँगै अन्य रोगको संक्रमण भए फार्मका पूरै कुखुरा मर्छन् । यसरी कुखुरा मरे बर्डफ्लुमा जस्तो राहत क्षतिपूर्ति पाइँदैन । एच–५ भाइरसको संक्रमणले कुखुरा मरे मात्रै राहत पाइने नीति छ ।

त्यसैले पोल्ट्री व्यवसायीले जोखिम कम गर्न अवैध रूपमा ल्याएर भए पनि एच–९ भाइरसको खोप लगाउने गरेका छन् । ‘रोग प्रशस्तै छ । प्रयोगशाला रिपोर्ट हेरे पनि त्यो देखिन्छ । कुखुरा पनि धेरै नै मर्छन् । चोरी बाटोबाट लुकीछिपी खोप आउने गरेको छ । औपचारिक रूपमा ल्याउन र वैधानिक तवरमा लगाउन पाइँदैन,’ नेपाल कुखुरा व्यवसायी मञ्चका पूर्वअध्यक्ष तिलचन्द्र भट्टराईले भने ।

यसैबीच सरकारले कर छुट र सहुलियत दिएर पोल्ट्री व्यवसायलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो काम गरेको पोल्ट्री उद्योगी व्यवसायीहरूले गुनासो गरेका छन् ।

‘दानाको मुख्य कच्चा पदार्थ भटमास पिना र मकै धेरैजसो आयात गर्नुपर्छ । तर मकैमा ५ प्रतिशत कृषि सुधार शुल्क लागेको छ । भटमास पिनामा ९ प्रतिशत भन्सार शुल्क लाग्छ । यसले गर्दा दानाको मूल्य महँगो भएको छ,’

नेपाल कुखुरा व्यवसायी मञ्च अध्यक्ष राजेन्द्र लामिछानेले भने । दाना महँगो भएपछि मासुको मूल्य पनि बढ्ने उनले बताए ।

प्रकाशित : पुस १८, २०७८ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×