इंग्लिस प्रिमियर लिग

सिटीको फराकिलो अग्रता

एएफपी

लन्डन — रोड्रीले ९३ औं मिनेटमा निर्णायक गोल गरेपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार १० खेलाडीमा समेटिएको आर्सनलमाथि २–१ को जित हात पारेको छ । यो जितपछि पेप ग्वार्डिओलाको सिटीले तालिकामा ११ अंकको अग्रता लिएको छ ।

सिटीको फराकिलो अग्रता

सिटीले २१ खेलमा ५३ अंक जोडिसकेको छ । चेल्सीसँग २० खेलमा ४२ र लिभरपुलसँग १९ खेलमा ४१ अंक छ । चेल्सी र लिभरपुल आइतबार लन्डनमा भिड्दै छन् । तर सिटीको रफ्तारमा दोस्रो र तेस्रो स्थानमा रहेका यी दुई टोली धेरै पछाडि परिसकेका छन् । नयाँ वर्षमा यति ठूलो अग्रतापछि कुनै टोलीले प्रिमियर लिग गुमाएका छैनन् ।

आर्सनल पछिल्लो पटक अगस्टमा सिटीसँग भिड्दा ०–५ ले पराजित भएको थियो र लिगमा ६७ वर्षयता सबैभन्दा खराब सुरुआत गरेको थियो । त्यसयता आर्सनल आफ्नो खेलमा ठूलो सुधार गर्दै चौथो स्थानमा उक्लिसकेको छ । त्यसको प्रमाण बुकायो साकाको गोलमा इमिरेट्समा पहिलो हाफमा अग्रता लिनु पनि हो । ३१ औं मिनेटमा साकाले गरेको जारी सिजनको सातौं गोल थियो । सिटीको हकमा टोलीले यस सिजनमा पहिलो हाफमा खर्चेको यो केवल दोस्रो गोल थियो ।

यसअघि १२ औं मिनेटमै सिटीका ब्राजिलियन गोलरक्षक इडरसनले मार्टिन ओडेगार्डलाई लडाए पनि पेनाल्टी नदिएकामा आर्सनलका खेलाडीहरूले रेफ्रीसँग ठूलै विमति राखेका थिए । दोस्रो हाफपछिको सातौं मिनेटमा सिटीले रियाद महारेजको पेनाल्टी गोलबाट खेल बराबरीमा ल्याएको थियो । साकाले बर्नान्डो सिल्भालाई लडाएपछि सिटीलाई पेनाल्टी दिइएको थियो । अफ्रिकन नेसन्स कप खेल्न जानुअघि महारेजको यो अन्तिम खेल थियो ।

महारेजको गोलको ६० मिनेटपछि ग्याब्रियल मगालहेज दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाडेपछि आर्सनल १० खेलाडीमा झरेको थियो । आर्सनल योग्य १ अंकको नजिक पुगेको समयमा सिटीबाट रोड्रीले इन्ज्युरी समयमा निर्णायक गोल गरेका थिए ।

प्रकाशित : पुस १८, २०७८ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?