शनिबार ५ हजार ७ जनाको आरटी पीसीआर परीक्षण गर्दा ३ सय ४२ जना अर्थात् ६.८३ प्रतिशतमा कोभिड संक्रमण देखिएको छ
हामी कोभिडको नयाँ लहरनजिक छौं, माघ दोस्रो साता महामारी तीव्र बन्ने प्रारम्भिक आकलन गरिएको छ । – डा. कृष्णप्रसाद पौडेल, निर्देशक, ईडीसीडी
काठमाडौँ — नेपालमा कोरोना भाइरसको औसत ‘आर–भ्यालु’ १.०४ पुगेको छ । आर–भ्यालु एकभन्दा बढी भए संक्रमण उकालो लागिरहेको बुझिन्छ । आर–भ्यालुले कोभिड संक्रमित एक जनाले कति जनालाई भाइरस सारिरहेको छ भन्ने देखाउँछ । आर–भ्यालु एकभन्दा मुनि रहँदा महामारी नियन्त्रणभित्र रहेको देखाउँछ ।
असार पहिलो साता कोभिडको दोस्रो लहर उच्चबिन्दुमा पुगेर ओरालो लागेका बेला आर–भ्यालु ०.६ सम्म झरेको थियो । दोस्रो लहर उच्च हुँदाताका आर–भ्यालु २ भन्दा बढी देखिएको थियो । त्यतिबेला ७५ जिल्लामा निषेधाज्ञा लगाइएको थियो ।
स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको ताजा तथ्यांकले कोरोना संक्रमण तीव्र बनेको संकेत गर्छ । मन्त्रालयका अनुसार शनिबार ५ हजार ७ जनाको आरटी पीसीआर परीक्षण गर्दा ३ सय ४२ जना अर्थात् ६.८३ प्रतिशतमा कोभिड संक्रमण देखिएको छ भने एन्टिजेन परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको छ । शनिबार देखिएका कुल संक्रमितमध्ये ५८.७७ प्रतिशत ३१ देखि ४० वर्ष उमेर समूहका छन् भने ७१.३४ प्रतिशत (२ सय ४४ जना) संक्रमित काठमाडौं जिल्लाका छन् । जबकि शुक्रबार ७ हजार ८ सय ८५ को पीसीआर परीक्षण गर्दा २ सय २४ जनामा संक्रमण देखिएको थियो ।
‘आर–भ्यालु सुदूरपश्चिममा अलि उच्च छ भने प्रदेश १ मा समेत उच्चस्तरमा छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले कान्तिपुरसँग भने, ‘आर–भ्यालु एकभन्दा बढी हुनु संक्रमण उकालो लाग्ने छाँट वा सन्निकट तेस्रो लहरको पूर्वसंकेत हो ।’
आर–भ्यालुसँगै संक्रमितको संख्या पनि उकालो लाग्नुलाई कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनसँग पनि जोडेर हेरिएको छ । ओमिक्रोनले अमेरिका, युरोपमा मात्र नभएर छिमेकी भारतमै समेत त्रास मच्चाउन थालिसकेको छ । भारतमा पछिल्लो दिन २२ हजार ७ सय ७५ नयाँ संक्रमित पहिचान भएका छन् । त्यसमध्ये १ हजार ४ सय ३१ जनामा ओमिक्रोन पुष्टि भएको छ ।
कोभिड–१९ को यो नयाँ भेरिएन्ट यसअघिको डेल्टा भेरिएन्टभन्दा बढी संक्रामक पाइएको छ । नेपालमा हालसम्म दुई जनामा मात्र ओमिक्रोन पुष्टि भएको छ । यद्यपि खुला सिमानाका कारण भारतमा ओमिक्रोनको बढ्दो संक्रमणलाई हेर्दा नेपालमा पनि जोखिम स्वतः बढेको छ । भारतमा बढ्दो संक्रमणले नेपालमा तेस्रो लहर सन्निकट रहेको देखाउँछ । विगतमा भारतमा संक्रमण उकालो लाग्दा त्यसको दुई सातापछि नेपालमा पनि महामारी तीव्र बनेको थियो । ‘हामी कोभिडको नयाँ लहरनजिक छौं,’ डा. पौडेलले भने, ‘माघको दोस्रो साता महामारी तीव्र बन्ने प्रारम्भिक आकलन गरिएको छ ।’ डा. पौडेलका अनुसार ‘आर–भ्यालु’ बढ्नुका साथै विभिन्न नाकामा गरिएको परीक्षणमा संक्रमण दर बढेको देखिएको छ । ‘नाकाहरूमा भएका विभिन्न हेल्थ डेस्कमा कोभिड संक्रमण दर २–३ प्रतिशतबाट उच्च हुँदै गएको छ,’ डा. पौडेलले भने ।
वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले नेपालमा कोभिडको तेस्रो लहर आउने निश्चितप्रायः भइसकेको बताए । ‘हालसम्मको सूचना, तथ्यांक आदिले नेपालमा ओमिक्रोनले कोभिडको तेस्रो लहर ल्याउने नै देखिएको छ तर यो लहरमा देखिने स्वास्थ्य जटिलता र मृत्युदर कस्तो हुन्छ तत्काल भन्न सकिँदैन,’ उनले भने । भारतलगायत मुलुकमा ओमिक्रोनले समेत मृत्यु भएकाले महामारी तीव्र बन्दा आत्तिएर अस्पताल भर्ना हुनेको संख्या बढ्न सक्ने उनको भनाइ छ ।
तेस्रो लहरमा मुलुकमा भएका स्वास्थ्य संस्था कोभिड बिरामीले भरिने हुँदा अन्य रोग वा अवस्थामा स्वास्थ्य सेवा पाउनुपर्नेहरू उचित स्वास्थ्य सेवा नपाएर मृत्युको मुखमा पुग्न सक्ने खतरा रहेको समेत डा. बीसीले औंल्याए । त्यस्तो अवस्था आउनुअघि नै सरकारले ओमिक्रोनले संक्रमित भएका र कोभिडबाहेकका बिरामीको उपचार सुनिश्चित गर्न व्यापक तयारी थाल्नुपर्ने उनको भनाइ छ ।
नेपालमा ओमिक्रोन भेरिएन्टले गर्दा आउने सम्भावित कोभिडको नयाँ लहरलाई पूर्ण रूपमा रोक्न नसकिने हुँदा त्यसका लागि आवश्यक तयारीको विकल्प नभएको डा. पौडेलले पनि स्विकारे । ‘दक्षिण अफ्रिकामा मृत्यु र हस्पिटलाइजेसन बढी देखिएको छैन तर हामीले अस्पतालमा शय्या वृद्घि, अक्सिजन आपूर्ति, परीक्षण, सिक्वेन्सिङ, क्वारेन्टिनको पूर्वतयारी गर्नु आवश्यक छ,’ उनले भने ।
हाल उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी ३ जिल्लामा ५ सयभन्दा बढी कोभिड संक्रमित उपचार गराइरहेका छन् । सुनसरी, कास्की, बाँके र कैलालीमा २ सयभन्दा बढी संक्रमित छन् भने सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरामा संक्रमित
छैनन् । ८९ जना आईसीयू र २७ जना भेन्टिलेटरमा गरी देशभरिमा जम्मा १ सय १६ जना सघन उपचारमा छन् । सघन उपचारमा रहेकामध्ये ७५.८६ प्रतिशत (८८ जना) वाग्मती प्रदेशका छन् ।
प्रकाशित : पुस १८, २०७८ ०७:२५