सफलताका सारथि- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सफलताका सारथि

महिला भलिबल प्रशिक्षक जगदीश भट्ट भन्छन्– भलिबलमा लागेर आर्थिक अवस्था सुधार गर्न नपाउँदा अनि परिवारसँग टाढा हुनुपर्दाको पीडा यस्तै सफलताले भुलाइदिन्छ र फेरि अगाडि बढ्न उत्साहित हुन्छु
कुशल तिमल्सिना

काठमाडौँ — सक्रिय खेलाडी जीवनकै क्रममा प्रशिक्षकको डिप्लोमा कोर्स गर्न भारतको पटियाला जाँदा जगदीश भट्टको सपना ठूलो थिएन, मात्र मानिसलाई स्वस्थ र अनुशासित बनाउन प्रोत्साहित गर्ने । जुनसुकै पेसामा रहे पनि मानिसका लागि मानसिक स्वास्थ्य र शारीरिक तन्दुरुस्ती अत्यावश्यक तत्व हो भनेर बुझाउनु थियो । त्यसका लागि उपयुक्त माध्यम खेलकुद नै रह्यो ।

प्रशिक्षकका रूपमा राष्ट्रिय खेलकुद परिषद्को जिम्मेवारी सम्हालेको साढे दुई दशकपछि उनै भट्ट निरन्तर आफ्नो मिहिनेतको फल लिँदै छन् । लामो प्रशिक्षण जीवनमा उनको सफलताको ग्राफ क्रमशः उकालो लाग्दै छ । नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबलको उपाधि रक्षा गरेपछि त उनी भलिबलका सर्वाधिक सफल प्रशिक्षक बनेका छन् । दुई वर्षको बीचमा नेपाली टोलीको निरन्तर सफलतामा पर्दा पछाडिका नायक रहे उनी ।

पुरुष भलिबलमा चार दशक लामो अन्तर्राष्ट्रिय सहभागिताको इतिहासमा नेपालको ठोस उपलब्धि थिएन । पाकिस्तानमा आयोजित नवौं दक्षिण एसियाली खेलकुद सकिएलगत्तै खेलाडी जीवनबाट संन्यास घोषणा गरेर उनी पूर्णकालीन प्रशिक्षणमा होमिए ।

तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

‘सीमित अन्तर्राष्ट्रिय सहभागिताको अवसर पाइन्थ्यो । राम्रो तयारी नभए सफलता पनि नमिल्ने रहेछ । खेलाडीका रूपमा पूरा गर्न नसकेका सपना पछ्याउँदै प्रशिक्षक बनेको थिएँ,’ २५ वर्षदेखि राखेपका सहायक प्रशिक्षक रहेका भट्टले सुनाए । उनी पाकिस्तान साग (२००४, कराँची) खेलेर त्यसको अर्को संस्करण (२००६, श्रीलंका) मा सहायक प्रशिक्षकको भूमिकामा सहभागी थिए ।

त्यसयता कुनै न कुनै रूपमा भट्टको नेपाली राष्ट्रिय टोलीसँग संलग्नता छ । नतिजाहरू पनि आइरहेका छन् । ‘म आफ्नै रोजाइले खेलकुदमा लागेको हुँ । धेरै कमाउँला भन्ने सोच थिएन । यति लामो समयसम्म लागिरहँदा मेरो कमाइ भनेकै यही सफलता हो । भलिबलमा लागेर आर्थिक अवस्था सुधार गर्न नपाउँदा, परिवारसँग टाढा हुनुपर्दाको पीडा यस्तै सफलताले भुलाइदिन्छ र फेरि अगाडि बढ्न उत्साहित हुन्छु,’ परिश्रमपछिको सफलता भनेको सन्तुष्टि हुने माध्यम भएको बताउँदै प्रशिक्षक भट्टले भने ।

सफलता पछाडिका पीडाहरू सधैं गौण रहन्छन् । महिला भलिबल टोलीले पाएको यो सफलताअघिका संघर्ष र अभाव पनि आफैंमा पीडादायी नै छ । राज्यले खेलकुदलाई प्राथमिकतामा राख्दैन तर सफलता भने खोजिरहन्छ । प्राथमिकतामा राखेर सफलताको आधार तय गर्दैन । यतिबेला नेपाली भलिबलमा एउटा ठोस योजना र संरचनाकै आवश्यकता सबैभन्दा धेरै छ । पूर्वाधार, संरचना, पर्याप्त वैज्ञानिक अभ्यासको अभावबीच खेलाडीले आफ्नो इच्छाशक्ति मर्न दिएका छैनन् । दुई वर्षको अन्तरमा तीन ठूला अन्तर्राष्ट्रिय सफलता पनि त्यसैको उपज हो ।

देशका सबै जिल्ला संरचना भएको नेपाल भलिबल संघले सन् १९९८ देखि मात्रै महिला राष्ट्रिय टोली बनाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको हो । त्यसअघि १९८७ मा थाइल्यान्डमा भएको एक मैत्रीपूर्ण खेलमा महिला भलिबलले सहभागिता जनाएको थियो । पछिल्ला केही वर्षमा नेपालले दक्षिण एसियालीस्तरमा आफ्नो प्रभाव देखाउन थालेको छ । नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनलमा भारतमाथि दबाबपूर्ण प्रदर्शन त्यसको प्रमाण हो ।

‘दक्षिण एसियालीस्तरमा हामी अहिले माथि छौं । श्रीलंका र भारतलाई हराउन सक्ने क्षमता हामीमा छ । भलिबल संघसँग कहाँसम्म पुग्ने भन्ने योजना त छैन तर मेरो विचारमा चाहिँ एसियालीस्तरमा शीर्ष १० भित्र पर्नुपर्छ । त्यहाँ पुग्नु भनेको नेपालका लागि ठूलो फड्को हो,’ भट्टले आत्मविश्वास पोखे, ‘अहिलेदेखि नै योजना बनाएर अगाडि बढ्ने हो भने १० वर्षमा हामी एसियाली र विश्वस्तरमै धेरै अगाडि बढ्न सक्छौं । त्यसका लागि खेलाडीको सुरक्षा (सुविधा), भौतिक पूर्वाधार, नियमित अभ्यास र म्याच एक्स्पोजर, प्रविधिमैत्री तयारीमा जोड दिनुपर्छ । यो काम राज्यको हो, भलिबल संघको हो ।’

पछिल्लो दशक भलिबल संघको सक्रियता पक्कै बढेको छ । वार्षिक क्यालेन्डर बनाएर प्रतियोगिता व्यवस्थापन गर्ने प्रयास भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना, सहभागिता र उपलब्धि पनि राम्रो छ । तर भलिबलको आफ्नै पूर्वाधार र संरचना छैन । जसले नयाँ खेलाडी उत्पादनमा केही निजी प्रशिक्षण केन्द्रको भर पर्नुपर्ने आवश्यकता छ । ‘भलिबलका स्तरीय र क्षमतावान खेलाडीहरू गाउँगाउँमा भेटिन्छन् । उनीहरूले अवसर पाइरहेका छैनन् । गाउँमा उकाली ओराली गरेर हुर्किएकाको स्टामिना बलियो हुन्छ । उनीहरूलाई पहिचान गरेर खेलाडी बनाउने कार्यक्रम लागू हुनुपर्छ,’ भट्टले सुझाए, ‘भलिबलले आफ्नो देशव्यापी संरचना निर्माण गरी हरेक प्रदेशमा ग्रासरुट कार्यक्रम सञ्चालन गर्ने, पुरुष र महिलातर्फ कम्तीमा ५०–५० खेलाडी पहिचान गरी उनीहरूको संरक्षणमा ध्यान दिनुपर्छ । उमेर समूहदेखि सिनियरसम्म ४–५ टोली तयारी अवस्थामा राख्न सकियो भने राष्ट्रिय टिम बलियो हुन्छ ।’

संघले योजना बनाउने र राज्यले लगानीको वातावरण बनाउनुपर्नेमा दुवै पक्षबीच समन्वय र सन्तुलनको अभाव उनले देखेका छन् । उनले भनेजस्तै संघले दीर्घकालीन योजना तय गर्न द्दसकेको छैन । आफ्नो संरचनाबारे स्पष्ट मार्गचित्र र दीर्घकालीन लक्ष्य पनि छैन । राज्यले भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुबाहेक अरू लगानीको वातावरण बनाइदिएको अवस्था नै छैन ।

‘भलिबल संघको एउटै आफ्नो संरचना छैन । अहिले केन्द्रमा एउटा अन्तर्राष्ट्रिय कभर्डहल र सातै प्रदेशमा एकेडेमी र होस्टेलको सुविधासहित कभर्डहल आवश्यक छ,’ उनले थपे, ‘यसको सुपरिवेक्षण संघले गर्नुपर्छ । देशका सबै जिल्लामा स्तरीय प्रशिक्षक नियुक्त गरी उनीहरूलाई जवाफदेही बनाउन सक्नुपर्छ ।’

बैतडीबाट कञ्चनपुर बसाइँ सरेका उनी कान्छा छोरा हुन् । उचाइले साथ दिएपछि उनले भलिबल खेल रोजे । ‘त्यतिबेला खेल भनेकै भलिबल थियो । यसको लोकप्रियताले पनि मलाई भलिबलप्रति नै आकर्षित गराएको हो,’ कान्तिपुरसँगको कुराकानीमा उनले भने । तत्कालीन वीरेन्द्र रनिङ सिल्ड खेलेपछि महाकाली अञ्चल र पछि सुदूरपश्चिम विकास क्षेत्रबाट क्षेत्रीय प्रतियोगिता खेलेका उनी २०४५ देखि ०६४ सालसम्म राष्ट्रिय टोलीको सदस्य रहे । त्यसबीचमा २०५३ सालमै उनी पटियालाबाट स्पोर्ट्स डिप्लोमा कोर्स पूरा गरी करारमा राखेप प्रशिक्षक बनिसकेका थिए । उनले चार संस्करण सन् १९९३, १९९५, १९९९ र २००४ को दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरे ।

प्रशिक्षण कोर्स गरेर फर्किएलगत्तै करार सेवामा सहायक प्रशिक्षकको नियुक्ति लिएका उनले गृहजिल्लामा प्रशिक्षण केन्द्र स्थापना गरे । उनले त्यहींबाटै खेलाडी उत्पादन थालेका थिए । उनका उत्पादनहरू अहिले पनि राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । कतिले संन्यास लिइसके । राष्ट्रिय टोलीका पूर्वखेलाडी कैलाश भट्ट, नरेन्द्र गिरी, भैरव बम, दीपक जोशी, महिलातर्फ उषा विष्ट, निरुता ठगुन्नाहरू महेन्द्रनगरबाटै आधारभूत प्रशिक्षण लिएर आएका खेलाडी हुन् ।

‘अनुशासित र स्वस्थ व्यक्ति उत्पादन गर्ने लक्ष्यमा अगाडि बढ्दा मैले प्रशिक्षण दिएका १२ सयभन्दा बढी खेलाडीलाई उनीहरूको योग्यताअनुसार कुनै न कुनै ठाउँमा रोजगारीको व्यवस्था गरेको छु,’ आफ्ना कामबारे भट्ट सुनाए, ‘अहिले पनि आर्थिक अवस्था कमजोर भएका ६० भन्दा बढी खेलाडीलाई उनीहरूको अध्ययन र प्रशिक्षणमा सहयोग गरिरहेको छु ।’ कोरोना महामारीको असर सुरु हुनुअघिका दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला टोलीको प्रदर्शन अविश्वसनीय थियो । तर उपाधि जितेर पनि आफू खुसी हुन नसकेको भट्टको तर्क छ ।

‘विश्वकप नै जिते पनि एउटा प्रशिक्षकले आफ्नो टिमको कमजोरी देखिरहेको हुन्छ । तर यसपल्ट टिमको प्रदर्शन चित्तबुझ्ने खालको चाहिँ थिएन । हाम्रा कुनै पनि खेलाडीले आफ्नो क्षमताको ३० प्रतिशत पनि खेलेनन्,’ उनले भने, ‘कोरोनाको असर, बलिया प्रतिद्वन्दीको उपस्थिति र अघिल्लो सफलताका कारण धेरै अपेक्षा हुनुले खेलाडीहरू दबाब परेजस्तो छ ।’ लगातारको यो सफलताले नेपाली टोलीको अपेक्षा अझै बढेको छ । बंगलादेशबाट फर्किएकै दिन बिहीबार खेलकुदमन्त्री महेश्वरजंग गहतराजले आसन्न एसियाली खेलकुदमा भलिबलको सहभागिता निश्चित भएकाले तयारी सुरु गर्न निर्देशन नै दिए ।

पोखरामा हुने टाइगर कप भलिबल र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको पूर्वनिर्धारित फ्रेन्चाइज भलिबल सकिएपछि राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्ने योजना प्रशिक्षक भट्टले सुनाए ।

‘अब हामीलाई आफ्नो साख जोगाउन धेरै ठूलो चुनौती छ । अपेक्षा धेरै बढेको छ । त्यहीअनुसार तयारी गर्नुपर्छ । एसियाली खेलकुदअघि नियमित प्रशिक्षण र आफूभन्दा माथिल्लोस्तरका टोलीसँग कम्तीमा १० अभ्यास खेल खेल्न पायौं भने राम्रो नतिजाको आस गर्न सकिन्छ ।’

प्रशिक्षक भट्टका प्रमुख अन्तर्राष्ट्रिय उपलब्धि

  • दक्षिण एसियाली महिला बीच भलिबल–२०१२– स्वर्ण
  • दक्षिण एसियाली आमन्त्रण महिला भलिबल २०१४– रजत
  • तेस्रो एसियन सेन्ट्रल जोन पुरुष भलिबल–२०१७– कांस्य
  • पहिलो एसियन सेन्ट्रल जोन महिला भलिबल २०१९– स्वर्ण
  • १३औं साग महिला भलिबल २०१९– रजत
  • दोस्रो एसियन सेन्ट्रल जोन महिला भलिबल २०२१– स्वर्ण

प्रकाशित : पुस १७, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्

‘कभर्डहल चाहियो’

दुई वर्षको अन्तरालमा तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक उपलब्धि हासिल गरेपछि कभर्डहलको माग नेपाली खेलाडीका लागि अधिकारको आवाज थियो
कुशल तिमल्सिना

काठमाडौँ — राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही राम्रो खेल्छिन्, कम बोल्छिन् । बोल्न लजाउँछिन् । एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबलको ट्रफी बोकेर बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि स्वागत गर्न पुगेका खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग आँखा जुधाएरै भनिन्– अब कभर्डहल चाहियो ।

दुई वर्षको अन्तरालमा तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक उपलब्धि हासिल गरेपछि कभर्डहलको माग नेपाली खेलाडीका लागि अधिकारको आवाज थियो । र, अलिकति असुहाउँदो पनि । खेलाडी आफैंले ‘कृपया रंगशाला बनाइदेऊ हामी सफलता दिलाइदिन्छौं’ भनेर याचना गर्नुपर्ने परिदृश्य अचम्मित नै हो ।

कप्तान शाहीले मन्त्रीसमक्ष तीनवटा महत्त्वपूर्ण माग गरिन् । एउटा पूर्वाधारकै कुरा भयो । भलिबलमा अहिलेसम्म सञ्चालन हुन नसकेको ग्रासरुट कार्यक्रम तथा उमेर समूहको प्रतियोगिता र खेलाडीलाई खेलेरै जीविकोपार्जन गर्न सक्ने गरी सुविधा र सुरक्षामा पनि उनले ध्यानाकर्षण गराइन् ।


‘हाम्रो यो सफलताको पछाडि धेरै पीडा लुकेको छ । हामीले प्रशिक्षणस्थलसमेत पाउन कठिनाइ भएको थियो । राष्ट्रिय खेल भएर पनि आफ्नै एउटा कभर्डहल छैन । आगामी दिनमा पूर्वाधारमा ध्यान दिइयोस् भन्ने अपेक्षा छ,’ अरुणा शाहीले भनिन्, ‘विपक्षी टोलीहरूले लगातार सुधार गरिरहेका छन् । तर हामीसँग ब्याकअप खेलाडी छैनन् । नयाँ खेलाडी उत्पादनका लागि ग्रासरुट कार्यक्रममा ध्यान दिनुपर्छ ।’


खेलकुदमन्त्री गहतराजले आफ्नो नियुक्तिदेखि नै बारम्बार खेलाडीको हितमा सोचेर निर्णय गरिने बताउँदै आएका छन् । उनले भलिबलको पूर्वाधारका लागि आफू गम्भीर रहेको दोहोर्‍याए । राखेप परिसर त्रिपुरेश्वरमा अवस्थित पुरानो पौडी पोखरी र टेनिस कोर्डको क्षेत्रमा भलिबल पूर्वाधार बनाउन पहल गर्ने कुरा दोहोर्‍याए । उनले आसन्न एसियाली खेलकुदमा भलिबलका महिला र पुरुष दुवै टोलीलाई सहभागी गराउने निर्णय भएको जानकारी दिए । ‘आगामी एसियन गेम्समा नेपालको दुवै टोलीलाई सहभागी गराउने निर्णय हिजो साँझमात्र गरेका छौं । अब तपाईंहरू भोलि र पर्सी आराम गर्नुहोस्, अर्को दिनदेखि एसियाली खेलकुदको तयारी सुरु गर्नुहोस्,’ गहतराजले भने ।


लामो समयदेखि राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालिरहेका जगदीश भट्टले पनि मन्त्रीको आश्वासनको प्रशंसा गरी आगामी दिनमा राष्ट्रिय खेल भलिबलको विकासमा कोसेढुंगा बन्ने बताए । ‘मैदानमा राम्रो प्रदर्शन गर्नु र सफलता दिलाउनु हाम्रो कर्तव्य हो । त्यसका लागि पूर्वाधारलगायतको व्यवस्थापन गर्नु राज्यको दायित्व हो । त्यसैले आगामी दिनमा भलिबलको ग्रासरुट कार्यक्रम, उमेर समूहका तीनवटा टोली निर्माण गरी दिगो विकास आवश्यक भइसकेको छ,’ प्रशिक्षक भट्टले भने । उनले अन्तर्राष्ट्रिय सफलता र सहभागितामा एउटा लक्ष्य निर्धारण गरी योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बेला भइसकेको बताए ।


नेपाली टोलीलाई विमानस्थलबाट नगर परिक्रमा गराएर त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सम्मान कार्यक्रम आयोजना गरिएको थियो । संघीय सांसद तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले टिमलाई शुभकामना तथा सम्मान गरे ।

पुरुष टिमलाई बेवास्ता

सेन्ट्रल जोन भलिबलमा नेपालको महिला र पुरुष दुवै टोलीको सहभागिता थियो । महिला टोलीले उज्वेकिस्तानलाई हराएर उपाधि जित्दा पुरुष टोली उज्वेकिस्तानसँगै हारेपछि पदकबाट वञ्चित भएको हो । लिग चरणमा तेस्रो भएको नेपाल तेस्रो स्थानका लागि भएको प्लेअफमा पराजित भएको हो ।

बंगलादेशबाट सँगै फर्किएका नेपालका दुवै टोली एकै समयमा प्रस्थान गरेका थिए । भलिबल संघको कमजोर व्यवस्थापनका कारण पुरुष टोलीले विमानस्थलमा निकै असहज र अपमानित महसुस गर्‍यो । स्वाभाविक रूपमा उपाधि विजेता टोलीले नै बढी प्राथमिकता पाउँछ । तर दुई वर्षअघि घरमै आयोजित पाँचौं सेन्ट्रल जोनको तुलनामा सुधारिएको प्रदर्शन गरेको पुरुष टोलीलाई संघले सान्त्वना दिन पनि सकेन ।

विमानस्थलमा भलिबल संघका सबै पदाधिकारी महिला टोली वरिपरि झुम्मिए । महिला खेलाडी खादा/मालाले भरिभराउ थिए । पदाधिकारी महिला टोलीसँग तस्बिर र सेल्फीमा व्यस्त हुँदा पुरुष खेलाडी भने खाली हात ट्याक्सी चढेर घर गए । संघले पुरुष टोलीका लागि पनि सवारीको व्यवस्था गरेको थिया । तर उचित व्यवस्थापन हुन नसक्दा त्यो गाडी खाली नै फर्कियो ।

‘स्वाभाविक रूपमा सफलता हासिल गर्ने टोलीकै वाहीवाही हुने हो । हामीले त्यसलाई धेरै अनर्थ रूपमा लिएका छैनौं,’ राष्ट्रिय टोलीका कप्तान इमबहादुर रानामगरले कान्तिपुरसँग भने, ‘तर संघले अलिकति खादाका लागि खर्च गरिदिएको भए हुन्थ्यो ।’

नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले विमानस्थलको स्वागत कार्यक्रमको व्यवस्थापन गरेकी थिइन् । टिमलाई विमानस्थलमा स्वागत गरी नगर परिक्रमा गराएर राखेप कभर्डहलमा सम्मान कार्यक्रम गरिएको थियो । ‘हामीले खेलाडीलाई काखा र पाखा गरेका होइनौं । पुरुष टिमलाई पनि पुग्ने खादा र माला ल्याएका थियौं । तर सबैले महिला खेलाडीलाई लगाइदिँदा उनीहरूका लागि पुगेन,’ उपाध्यक्ष मास्केले कान्तिपुरसँग भनिन् ।

पुरुष टिमले पाँच टोली सम्मिलित प्रतियोगितामा दुई जित हासिल गरेको थियो । माल्दिभ्स र उज्वेकिस्तानलाई पराजित गरेपछि नेपाल लिग चरणमा तेस्रो भएको हो । राष्ट्रिय टोलीका क्वीक स्पाइकर हरि अधिकारीले प्रदर्शन र उपलब्धिमा सन्तुष्ट रहेको बताए ।

‘अघिल्ला संस्करणको तुलनामा हाम्रो धेरै नै माथिल्लोस्तरमा प्रदर्शन भएको हो । प्रतिस्पर्धात्मक खेल थियो । हामीले बलियो टोलीलाई पराजित गर्‍यौं ।

उपाधि जितेको श्रीलंकाविरुद्ध पनि हामीले एक सेट जितेका हौं,’ त्रिभुवन आर्मी क्लबका सिनियर सदस्य हरिले भने, ‘दुर्भाग्य, हामी पदकको नजिक पुगेर पनि हार्नुपर्‍यो । मेरो विचारमा पूरै टिमले शतप्रतिशत प्रदर्शन गरेको हो । तयारीअनुसार हाम्रो प्रदर्शन सन्तोषजनक रह्यो भन्ने लाग्छ ।’

प्रकाशित : पुस १६, २०७८ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×